भारतीय टोलीका मेहनती स्टार | Khabarhub Khabarhub

भारतीय टोलीका मेहनती स्टार


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि दाबेदार भारतले मिश्रित प्रदर्शन गरेको छ। सुरुवाती दुई खेलमा जित हात पारेको भारतले तेस्रो खेलमा दक्षिण अफ्रिकासँग हारको सामना गरेको छ। यी तीन खेलका भारतीय खेलाडीको प्रदर्शन हेर्दा सूर्यकुमार यादव निर्विवाद उत्कृष्ट ब्याट्सम्यानको रूपमा देखिएका छन्।

यसअघि आईपीएलमा पनि सूर्यकुमारले केही उत्कृष्ट पारी नखेलेका होइनन्। तर, अष्ट्रेलियाको बाउन्स हुने पिचमा उनको ब्याटिङका बारे धेरैलाई शंका थियो। तीनै सूर्यकुमारले सिड्नीमा भएको खेलमा पछिल्लो १० ओभरमा आफूलाई प्रभावकारी रूपले प्रस्तुत गरेका थिए।

पर्थमा दक्षिण अफ्रिकासँग भएको खेलमा भने उनी सुरुदेखि नै हाबी थिए। सबै भन्दा धेरै बल बाउन्स हुने भएको कारण दक्षिण अफ्रिकी स्लिपमा फिल्डरसमेत करिब ३० यार्ड पर रहेका थिए। दक्षिण अफ्रिकाका चार पेस बलरको आक्रमण भइरहेको समयमा उनी पिचमा पुगेका थिए।

अर्कोतर्फ भारतीय ब्याट्सम्यान दक्षिण अफ्रिकी बलरका सामु निरीह साबित भइरहेको समयमा सूर्य कुमार भने निर्धक्कले ब्याटिङ गरिरहेका थिए। भारतले ४९ रनमा पाँचौँ विकेट गुमाउँदा पनि सूर्य कुमार डटी रहेकै थिए। कासिगो रबाडाको बलमा शानदार चौका प्रहार गरेका सूर्यकुमारले एन्चरुच र्नोत्जेको बलमा पनि छक्का प्रहार गरेका थिए।

केशव महाराजलाई आफ्नो निसाना बनाउँदै उनले १२ बलमा २५ रन प्रहार गरेका थिए। उनले ४० बलमा ६८ रन प्रहार गर्दा भारतले दक्षिण अफ्रिकालाई केही चुनौती दिन सकेको थियो। उनीबाहेक रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन जोडे।

जारी विश्वकपमा यो उनको लगातार दोस्रो अर्धशतक थियो। यस अगाडि नेदरल्यान्ड्ससँगको खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए। न्युजिल्यान्डका पूर्व कप्तान स्टेफन फ्लेमिङले त यादवको कमजोरी पत्ता लगाउन नै धेरै कठिन हुने प्रतिक्रिया दिएका छन्।

दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले सूर्य कुमारको सकारात्मक ‘माइन्ड सेट’ , जोखिम मोल्ने शैली र प्रविधि सबैमा उत्कृष्ट भएको प्रतिक्रिया दिए।

भारतीय क्रिकेट टोलीमा ब्याट्सम्यानको रूपमा अटाउनु चानचुने कुरा होइन। त्यसै टोलीमा पछिल्लो समय स्टार क्रिकेटर विराट कोहलीदेखि उमेर समूहको प्रतियोगितदेखि नै शानदार प्रदर्शन गरेका ऋषभ पन्त र इसन किसन नै भारतीय टोलीमा नियमित स्थान पाउन सङ्घर्ष गरिरहेको समयमा सूर्य कुमारको यो स्थानमा देखिएको हो।

अहिले ३२ वर्ष पुगी सकेका सूर्य कुमारले सन् २०१७ र १८ को सिजनमा श्रीमती देविसासँग सल्लाह गरेर आफ्नो डाइटिङ र प्रशिक्षण शैली परिवर्तन गर्ने निर्णय गरेका थिए। त्यो समयदेखि आफ्नो कमजोरी पहिल्याउँदै प्रशिक्षण गरेका सूर्यकुमार सन् २०२० मा पुग्दा फरक अवस्थामा थिए।

पहिलो श्रेणीको क्रिकेट सुरु गरेको ११ वर्षपछि सन् २०२१ को मार्चमा सूर्यकुमारले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा अवसर पाएका थिए। २०२१ को मार्चमा इङ्गल्यान्डसँग भएको टी–२० खेलमा उनी टोलीमा अटाएका थिए।

एक पटक निराश भइसकेका उनी आफ्नो शरीर क्रिकेटका लागि उपयुक्त भएको महसुस गर्न १८ महिना समय लागेको थियो। सूर्यकुमार सन् २०१८ मा नेटमा गरेको अभ्यासमै आफूमा परिवर्तनको महसुस गरेको बताउँछन्। परिवर्तनको आभास भएपछि नै उनले राम्रो भविष्यको सम्भावना देख्न थालेका थिए।

सन् २०२० मा अष्ट्रेलिया भ्रमण गर्ने टोलीबाट बाहिर भएको दुई दिनपछि नै उनले मुम्बई इन्डियन्सका लागि खेल्दै ४३ बलमा ७९ रन प्रहार गरेका थिए। ‘त्यो समयमा आईपीएल खेलिरहेका सबै देशका क्रिकेटर साथीहरूले मलाई ढाडस दिँदै राम्रो दिन नजिक आइरहेको बताउँथे’, त्यस समयलाई सम्झँदै उनी भन्छन्। त्यो समयमा पनि अवसर नआएको उनी निराश त थिए। तर, हरेस भने खाएनन्। राष्ट्रिय टोलीमा नपरेको समयमा पनि उनको मेहनतको परिणाम आईपीएलमा देखिएको थियो।

त्यसपछि जब टोलीमा अटाए उनको नयाँ स्टाइल सुरु भएको छ। सुरुवाती बलमा नै चौका या छक्का प्रहार गर्ने। नसके दुई या तीन रन बटुल्ने। पहिलो ६ या सात बलको सामना गर्दा दुई या तीन पटकका त बललाई सीमा रेखा पार गराउने नै। उनको नयाँ खेल शैलीले भारतीय टोलीले प्रशस्त लाभ लिएको छ। स्कुले जीवनमा सिमेन्टको जमिनमा रबर बलमा खेल्ने उनको आदतका कारण फास्ट र बाउन्स हुने पिचमा अहिले सहज भइरहेको छ।

भारतीय टोलीको इतिहास हेर्ने हो भने एउटै ब्याट्सम्यानको धेरै चर्चा भएको कमै छ। सचिन तेन्दुलकर जस्ता स्टार खेलाडी पिक फर्ममा रहँदा पनि भारतीय टोलीमा सामूहिक ब्याटिङ युनिटको चर्चा हुन गरेको थियो। पछिल्लो केही दिन यता संसारका पण्डित र क्रिकेट पारखी कोहली र शर्मालाई छाडेर सूर्य कुमारमै केन्द्रित हुन थालेका छन्।

पाकिस्तानी क्रिकेटमा इतिहास नै बनी सकेका बसिम अक्रमले त सूर्य कुमारको खुलेर प्रशंसा गरेका छन्। त्यसैगरी पाकिस्तानी साहेब मलीकले सूर्यकुमार प्राविधिक रूपले मात्र उत्कृष्ट नभई बलरको ‘माइन्ड सेट’ बुझ्न सक्ने ब्याट्सम्यान भएको प्रतिक्रिया दिएका छन्।

पाकिस्तानी टोलीका पूर्व स्टार मिसबाह उलहकले उनी सबै तिरको बललाई प्रहार गर्न सक्ने विशेष खुबीका ब्याट्सम्यान भएको प्रतिक्रिया दिएका छन्। अहिले सूर्यकुमारले थुप्रै कीर्तिमान राखेका छन्। एक क्यालेन्डर वर्षमा सबै भन्दा धेरै अन्तर्राष्ट्रिय टी–२० रन प्रहार गर्ने भारतीय ब्याट्सम्यानको रूपमा कीर्तिमान कायम गरेका हुन्। सन् २०२२ मा यादवले ७३२ रन प्रहार गरिसकेका छन्। यस भन्दा अघि सन् २०१८ मा शिखर धवनले ६८९ रन प्रहार गरेका थिए।

चालु विश्वकप क्रिकेटमा भारतका लागि केही चुनौती पनि छन्। मुख्य चुनौती टोलीका सबैभन्दा महत्त्वपूर्ण बलर जसप्रित बुमराहको चोट पनि हो। विश्वकप अगाडि दक्षिण अफ्रिका विरुद्धको शृङ्खलाको लागि टोलीमा बोलाइएका बुमराहले चोट बोकेपछि मोहम्मद सिराजलाई टोलीमा अटाइएको थियो।

बुमराहको अनुपस्थितिमा मोहम्मद सामी टोलीमा अटाएका छन्। सामीसँगै अन्य बलर पनि दौडमा नभएका होइनन्। सिराज, अभेष खान, दीपक चाहर र उमरान मलिकको चर्चा भए पनि अन्त्यमा सामीले सबैलाई पछि पारेका हुन्। टोलीमा अहिले भुवनेश्वर कुमार र आर्सदिप सिंह पनि छन्।

भारतीय क्रिकेटमा पछिल्ला वर्षमा जसरी ब्याट्सम्यानको रूपमा सूर्य कुमारको उदय भएको छ त्यसैगरी, बलरको रूपमा सिंहको सनसनी पूर्ण उदय भएको छ। दक्षिण अफ्रिकासँग भएको विश्वकपको खेलमा पनि आर्सदिप छाएका थिए। १ सय ३४ रनको लक्ष्यलाई रोक्न सजिलो पक्कै होइन। तर, सिंहले आफ्नो पहिलो तथा पारीको दोस्रो ओभरमा क्वीन्टन डी कक र रेली रोसोलाई एक बलको अन्तरमा आउट गर्दै भारतलाई खेलमा फर्काउने सम्भावना देखाएका थिए।

दक्षिण अफ्रिकाले ५.४ ओभरमा २४ रन जोडेर तेस्रो विकेट गुमाइसकेको थियो। पहिलो दुई विकेट तीन रनमै गुमाइसकेको थियो।

यस अगाडीका खेलमा पनि आर्सदिपको प्रदर्शन त्यत्तिकै स्तरीय थियो। विश्वकपका धेरै खेल बाँकी छन्। विश्वकप सकिने समयसम्म कुन खेलाडीको फर्म कता जाने निश्चित छैन। परन्तु, ब्याट्सम्यानको रूपमा सूर्यकुमार यादव र बलरको रूपमा आर्सदीप सिंह धेरैका प्रिय खेलाडी भने पक्कै हुन्। स्रोत : क्रिकइन्फो, इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ४५ बजे

एन्फा महिला लिग : एपीएफसँग बागमती क्लब फराकिलो अन्तरले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर