बिर्सने रोग अल्जाइमरले बुढाबुढीलाई समस्या | Khabarhub Khabarhub

बिर्सने रोग अल्जाइमरले बुढाबुढीलाई समस्या



काठमाडौँ : नेपालमा ६० वर्ष भन्दा माथि उमेर समूहका एक सय जनामध्ये कम्तिमा पनि १० जनालाई डिमेन्सिया हुने गरेको छ । वरिष्ठ मनोरोग विशेषज्ञ डा.दिनेश सापकोटाको अगुवाइमा अज्लाइमर्स विस्मृति समाज नेपाल (एआरडिएस नेपाल) र ब्रिटेनको न्युक्यासल युनिभर्सिटीले संयुक्त रुपमा २०२१-२०२२ मा धरानमा ६० वर्ष उमेर समूहका १ हजार भन्दा बढी व्यक्तिमा गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो ।

काठमाडौँ-१० बस्ने ६३ वर्षीय राजन ठाकुर पनि यही रोगबाट पीडित बने । अहिलेको कुरा मात्रै सम्झिने उनी पहिलेको केही कुरा नि सम्झिन नसक्ने भएका छन् ।

‘घरमा कोही भेटेर गएपछि को आएको थियो ? भनेर सोध्यो भने को आयो र कोही देखेको छैन भन्नु हुन्छ’ उनका छोराले भने, ‘आफन्त आएर म को हो भने भने नि खै को हो त ? भन्नु हुन्छ । कहिलेकाँही त खाना खाएर एकै छिनमा मलाई किन नदिएको ? भन्नु हुन्छ । सम्झाउँदा सम्झाउँदै हैरान भयौ ।’

पहिले यो सबै अनौठो देखिएको थियो । तर अहिले डाक्टरले भनेपछि थाहा भयो यो त बुढेसकालमा लाग्ने रोग रैछ । धेरै माया र केयर गर्याे भने केही हदसम्म ठिक हुन्छ रे । त्यही भएर सकेसम्म केयर गर्न थालेको उनले बताए ।

विश्व स्वास्थ्य संगठन र अल्जाइमर डिजिज इन्टरनेशनलको अध्ययन अनुसार हप्तामा कम्तिमा ५ वा ६ दिन हरेक दिन आघा घण्टा व्यायाम गरेमा अल्जाइमर न्युनिकरणमा मद्धत पुग्ने उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलगायत धेरै अमेरिकी सेलिब्रेटीहरूलाई अल्जाइमर रोग थियो । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई पनि यो रोग लागेको बताइएको छ । यो रोगको गम्भीरतालाई बलिउड फिल्म ब्ल्याक मार्फत देखाइएको थियो ।

फिल्ममा अमिताभ बच्चनले यो रोग लागेको अभिनय गरेका थिए । जसमा सुरुमा स्मरणशक्तिमा कमी हुन्छ । पछि उसले सबै कुरा बिर्सन थाल्छन् । आफैलाई पनि बिर्सन्छन् । अन्ततः उसले आफ्नो स्मरणशक्ति पूर्ण रूपमा गुमाउँछन् ।

अल्जाइमरको सुरुवात
२५ नोभेम्बर १९०१ मा एक जर्मन महिला अगस्टी डाइटरलाई जर्मनीको फ्रान्कफर्टको एक अस्पतालमा मनोचिकित्सक डा. एलोइस अल्जाइमरले भेटेका थिए । ती दिनहरूमा अगस्ट द्रुत बिर्सने समस्याको चपेटामा थिइन् ।

उनीसँग हरेक प्रश्नको एउटै जवाफ थियो, अगस्टी । यी महिलालाई मानसिक समस्या भएर अस्पतालमा भर्ती गरिएको थियो। एलोइस अल्जाइमरले उनको मानसिक स्थितिको परीक्षण गर्ने क्रममा मानसिक रोगका लक्षण भन्दा स्मरण शक्तिमा पृथक देखे ।

अगस्टी भनेको वास्तवमा यो बिर्सने रोग (डिमेन्सिया) थियो । र, कालान्तरमा यसलाई अल्जाइमर भनेर चिनिएको थियो । अगस्टीको लक्षण संसारमा आफ्नो प्रकारको पहिलो प्रकाशित र १९०६ मा यस सम्बन्धी विस्तृत जानकारी प्रकाशित गरे ।

डा. अल्जाइमरले यो नयाँ रोगलाई बिर्सने रोगको नाम दिए । पछि डाक्टर अल्जाइमरको नामबाट यस रोगको नाम अल्जाइमर राखियो ।
डा. अल्जाइमरपछि पहिलो पटक यो रोगलाई डा. एमिल क्रेप्लिनले ध्यान दिएका थिए । पुरातन ग्रीस वा वर्तमान ग्रीसमा रोमन दार्शनिक र वैज्ञानिकहरूबीच डिमेन्सियाको गुनासो पहिलो पटक रिपोर्ट गरिएको थियो ।

डा. अल्जाइमर्सले पनि अगस्टीको व्यवहारको जाँच गरे र उनले समय र स्थानको बारेमा निर्णय गर्न असमर्थ भएको पत्ता लगाए । उनी अलिकति डर, अविश्वास र आक्रोशका साथ प्रश्नहरूको जवाफ दिँदै थिइन् ।

वास्तवमा अल्जाइमर एक स्नायु प्रणालीमा आउने विकार हो । जसमा मस्तिष्क संकुचित हुन्छ र जसले गर्दा मस्तिष्कमा हुने कोशिकाहरु विस्तारै सुक्दै र ध्वस्त हुँदै जान्छन् । यही न्युरोन्समार्फत हामी शारीरिक आवश्यकता, इशारा र सोच व्यक्त गर्न सक्षम हुन्छौं । डिमेन्सिया भनेको बिर्सने रोग हो ।

४०-४५ वर्षदेखि नै हाम्रो मस्तिष्कमा भएका स्नायु कोशिका (ब्रेन सेल न्युरोन्स) क्रमिक रुपमा सुक्दै जान्छन् । शुरुमा त्यति असर पार्दैन । त्यसैले बिर्सने रोगको लक्षण देखिन कम्तिमा पनि १० देखि २० वर्षसम्म लाग्नसक्छ । कसैको अलि चाँडो गतिमा सुकेमा ५५-६० वर्षमा देखिनसक्छ । कसै-कसैलाई ६०-६५ वर्षको उमेरमा देखिनसक्छ ।

औषतमा लक्षणहरु १० देखि १२ वर्ष पछाडि देखिनसक्ने बताइन्छ । तर अवस्था अनुसार कसैलाई चाँडो र कसैलाई ढिलो देखिनसक्छ । विश्वका विभिन्न तथ्यांकले ८५ वर्ष उमेर भन्दा माथिका २ जनामध्ये १ जना, ८० वर्ष भन्दा माथिको ४ जना व्यक्तिमध्ये १ जना, ७५ वर्ष माथि उमेरका २५-३० प्रतिशत र ६० वर्षभन्दा माथिका १०-१५ प्रतिशतमा बिर्सने समस्या हुने गरेको देखाएको छ । पहिलो तथ्याङ्क हाम्रै देशमा गरेको अध्ययनले पनि पुष्टि गर्छ ।

रोगको कारण अझै रहस्यमय
यदि तपाईंले आफ्नो प्रियजनको नाम र ठेगाना बिर्सनुभयो र फोन कसरी डायल गर्ने वा तपाईंको घर जाने बाटो याद छैन भने यो रोग तपाईंको बिर्सने वा लापरवाही मात्र होइन, अल्जाइमरको शंका गर्नुपर्छ । बिर्सने रोग धेरै कारणले हुन्छ ।

१०० जना बिर्सने रोग भएका व्यक्तिहरुमध्ये झण्डै ५०-७० जनालाई मस्तिष्कको नसा सुकेर नसामा एक प्रकारको खराब प्रोटिन जम्मा भएर हुने बताइन्छ । दोस्रो कारण मस्तिष्कमा भएको रगतको नलीहरु सुक्दै गर्दा रगतका नलीहरु बन्द हुने, उच्च रक्तचापका कारण कहिलेकाँही फुट्ने आदि कारण मस्तिष्कमा सहज तरिकाले रगत सञ्चालन हुन सक्दैन ।

रगत सञ्चालन हुन नसकेपछि मस्तिष्कलाई आवश्यक पर्ने अक्सिजन, ग्लुकोज आदिको मात्रामा कमी आउँछ र मस्तिष्कका नसा सुक्दै जान्छन् । यसलाई भास्कुलर डिमेंसिया भनिन्छ । अर्थ र अल्प विकसित मुलकहरुमा बिर्सने रोगको यो दोस्रो प्रमुख कारण हो । यसबाहेक भिटामिन बी १२ को कमी, थायराइडको गडबडी, लामो समयदेखिको मधुमेह, उच्च रक्तचाप आदिका कारण बिर्सने समस्या हुनसक्छ ।

नेपालीहरुको औषत आयु महिला र पुरुषको ७१ वर्ष भन्दा माथि रहेको तथ्याङ्क छ । जति धेरै औषत आयु बढ्दै गयो त्यति नै धेरै डिमेंसिया (बिर्सने रोग) लाग्ने सम्भावना हुन्छ ।

अल्जाइमर्स डिमेंसिया पहिचान भएका व्यक्तिलाई नेपाल सरकारले १ लाख रुपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।
यो विपन्न नागरिकअन्तर्गत त्रि.वि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल, पाटन हस्पिटल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरि अस्पताललगायत राज्यले तोकेका मुलुकका ९ वटा अस्पतालबाट अनुसन्धान, औषधि, उपचारको सुविधा प्राप्त गर्न सकिन्छ । तर प्रा.डा. सापकोटाका अनुसार, यो सुविधा प्राप्त गर्न त्यति सजिलो छैन ।

जन्मेदेखि मृत्युको समयसम्म हाम्रो मस्तिष्कको नसा वृद्धि भइरहेको हुन्छ । तर बाल्यकाल र युवावस्थाको तुलनामा वृद्धावस्थामा कम वृद्धि हुने गर्छ । यो रोगको सहि उपचार संसारभरि फेला परेको छैन ।

यो रोग पूर्ण रूपमा निको हुन सक्दैन, तर औषधि, राम्रो आहार र हेरचाहले यसको गति रोक्न मद्धत गर्छ । औषधि सेवनले मनोस्मृतिमा समस्या भएका बयोवृद्धाको गुणस्तरीय जीवनशैलीको बृद्धि हुनुका साथै उनीहरुको औषत आयुमा पनि बृद्धि हुनजान्छ । यसले स्मरणशक्ति र स्वभावमा आउने परिवर्तनलाई फाइदा गर्ने भएकाले गुणस्तरीय जीवनयापनमा अझ मद्धत पुग्छ ।

रोकथाम तथा जीवनशैली
उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकेमा भास्कुलर डिमेंसियाबाट जोगिन मद्धत गर्छ । मस्तिष्कको सक्रियता बढाउन नियमित शारीरिक अभ्यास गर्नुपर्छ ।

हरियो सागपात, गुडागुडी, स्याउ, ओखर, बेसार, ओमेगा ३ फ्याटी एसिड पाउने खाना जस्तोः माछाको प्रयोग गर्न सकिन्छ ।
सामाजिक क्रियाकपालमा विशेष सहभागी हुनुपर्छ । अध्ययन गर्ने, संगीत र वाद्यवादन बजाउने आदि कारण मस्तिष्क निष्कृय हुन पाउँदैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ०३ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार