राजनीति

‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता

By खबरहब

November 01, 2022

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता एवम् काठमाडौँ – ५ का उम्मेदवार प्रदीप पौडेलले  ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनाव प्रचारप्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ‘ब्रेन ड्रेन’ रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

‘मैले यसअघि नै बिसिडी मोडल तयार ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ उनले भने, ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’

त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने बताए ।

‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेको छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु ।’ नेता पौडेलले भने ।

नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका – २ अन्तर्गत गैरीधारा लगायतका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका थिए ।