राजनीति

माओवादीको आठौं महाधिवेशनको आठौं दिन : सहमतिमै नेतृत्व टुंग्याइने !

By खबरहब

January 02, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको आठौं दिन आज (आइतबार) सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।

यसअघि शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि राती ८ बजे स्थगित गरिएको थियो । पदाधिकारीमा शीर्ष नेताहरुले सहमति खोजेपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो ।

आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीका नेताहरुले जनाएका छन् । तर त्यतिबेलासम्म सहमति नभए आज निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने बताइएको छ ।

माओवादी केन्द्रको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ ।

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको माओवादीमा सहमति हुन नसकेपछि महाविधेशन पुनः एक दिन लम्बिएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।