काठमाडौँ– सन् २०२१ को १५ अगस्ट । यो मिति सायद अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले कहिल्यै पनि बिर्सन सक्दैनन् ।
अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएसँगै तालिबानले निकै छिटो अफगानिस्तानलाई आफ्नो कब्जामा लियो । तालिबानले कैयन् क्षेत्र कब्जा गरिसकेपछि राजधानी काबुल कब्जा गर्ने तयारी थियो ।
सोही समयमा राष्ट्रपति रहेका अशरफ गनीले देश छाडेर भागे । गनी आफूले अफगानिस्तान क्षत विक्षत हुन नदिन आफूले देश छोडेको बताउने गरेका छन् ।
१५ अगस्टको दिन बिहान उठ्ने समयसम्ममा पनि उनलाई आफ्नो कार्यकालको अन्तिम दिन हुन सक्छ भन्ने लागेको थिएन । ‘म चढेको विमान आकाशमा उडेपछि मात्र साँच्चै म यो सबै छाडिरहेको छु भन्ने भान भयो ।’ एक रेडियो अन्तरवार्ताको क्रममा घानीले भनेका छन् ।
घानी अहिले संयुक्त अरब इमिरेट्समा छन् ।
घानीले तालिबानी नेतासँग सम्पर्क भइरहेको जनाएका थिए । केही समयअघिसम्म तालिबानी नेताहरूले काबुलमा प्रवेश नगर्ने जनाएका थिए । परन्तु, यो अनुमान दुई घण्टाको अन्तरालमा उल्टिएको थियो ।
‘दुवैतर्फ ठुलो सङ्ख्यामा तालिबानी लडाकु प्रवेश गरिरहेका थिए । शायद यिनीहरूको भिडन्तका कारण केही समयमा नै ५० लाख मानिसको जीवन अप्ठेरोमा पर्न सक्थ्यो,’ घानीले भनेका छन् ।
उनकी पत्नीसहित नजिकका सबैले काबुल छाड्ने कुरामा सहमत जनाए । उनको सुरक्षा सल्लाहकारले समेत छाडिसकेपछि घानीले केही समय उनी रक्षा मन्त्रालय जानका लागि कार कुरेर बसेका थिए । कार त आएन, तर राष्ट्रिय सुरक्षा सल्लाहकार त्यहाँ आइपुगे । उनका साथमा राष्ट्रपतिका सुरक्षा प्रमुख पनि थिए ।
‘उनले मलाई तयार हुनका लागि दुई मिनेट समय दिए,’ घानी बताउँछन्, ‘मैले खोस्ट (अफगानिस्तानको ठूलो शहरमध्ये एक शहर) तर्फ प्रस्थान गर्नका लागि तयार हुन भने पनि उनले त्यहाँको शक्ति ढलिसकेको बताए । जलालावादमा पनि त्यस्तै अवस्था आइसकेको थियो ।’
‘हामीलाई कहाँ जाने भन्ने पनि थाहा थिएन । विमान उडिसके पछि मात्र पक्का भयो की हामी अफगानिस्तान छाडिरहेका छौँ,’ उनी बताउँछन् ।
अशरफ गनीले अफगानिस्तान छाडे लगत्तै धेरैले उनले आलोचना पनि गरे । यसरी आलोचना गर्नेमा तत्कालीन उपराष्ट्रपति अमरुल्लाह सालेह पनि थिए । गनीले देश छाडेपछि सालेहले गनीलाई राष्ट्रप्रति अपमान गरेको आरोप लगाएका थिए ।
तालीवानले अफगानिस्तान एकै दिन कब्जामा लिएको भने होइन । तर, गनीका लागि १५ अगस्टकै दिन देश छाड्ने भने अप्रत्याशित थियो । यो एउटा अप्रत्याशित घटना थियो, जुन अस्वाभाविक थियो । तर, योजनाबद्ध र नियोजित झैँ झझल्को दिने खालको थियो । अफगानिस्तानमा तालिबानी दबदबा त निश्चित नै थियो । तर, एक जना व्यक्तिले मृत्युसँग सङ्घर्ष गर्न नचाहेकै कारण यो सहज भएको थियो । धेरैले १५ अगस्टमा उनले गरेकोजस्तो धेरै वर्ष अगाडि किन नगरेको भनेर प्रश्न पनि गर्न थालेका छन् ।
के साँचो हो भने, उनको कमजोर हात अमेरिकाले सम्हालेको थियो । उनले यसलाई सही उपयोग गर्न सकेनन् ।
उनी अहिले नेता कम प्राध्यापक बढी झैँ देखिएका छन् । जसले अमेरिकी नीति र जमिनको यथार्थलाई सही ढङ्गले बुझ्न सकेनन् । यो कुरा बुझ्न तालिबान मात्र सफल भएको देखियो । उनको पछिल्लो कदम धेरैका लागि सम्मानको कुरा बन्न सक्ने छैन । धेरैको उनीप्रतिको आदर भत्किएको छ र लामो समय बहसको विषय बन्नेछ ।
अहिले गनीले धेरै रकम भ्रस्टाचार गरेको आरोप पनि लागिरहेको छ । यो आरोप माथिको वास्तविकता टुङ्ग्याउन छानबिन हुनुपर्ने आवाज पनि उठिरहेको छ ।
‘मैले सधैँ स्वच्छ राज्यको चाहना राखेँ । मैले एक रुपैयाँ पनि लिएको छैन,’ घानीले भने, ‘ मेरो जीवनयापनको शैली सबैलाई थाहा छ । यो पैसा लगेर म के गरूँ ?’
उनले विगतमा केही गल्ती भएको भने स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय समुदाय धेरै नै धैर्यवान् भएको उनको मत छ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तालिबानबीच भएको सम्झौताले नै अगस्ट १५ को बाटो खोलेको आरोप लगाएका छन् । विगतमा भएको काम शान्ति प्रक्रियाको साटो हात झिक्ने प्रक्रिया भएको तथा यसैका कारण अहिलेको दुर्घटना निम्तिएको उनको मत छ ।
त्यो सम्झौताअनुसार अमेरिकी सेना हट्दै जाने थियो । यसपछि नै त्यस सैन्य शक्तिले अफगानिस्तान कब्जा गर्ने योजना बनाइसकेको गनी बताउँछन् ।
सन् २०२१ को गृष्ममा अमेरिकी राष्ट्रपति जो वाइडेनले सेना फिर्ता गर्ने बताएसँगै तालिबानको तयारी अझ तीव्र भएको थियो । यसपछि तालीवानले एकपछि अर्को शहर बिस्तारै कब्जा गर्दै गएको थियो । यसलाई गनीले जनताको सहमतिविना भएको सम्झौताका रूपमा समेत व्याख्या गरेका थिए ।
गनीले अफगानिस्तान छाडेकै दिन तालिबानले सत्ता लिएको थियो । त्यसै दिनदेखि मानवताको खिल्ली उठाइएको छ भने अफगानिस्तानमा चरम आर्थिक सङ्कट देखिएको छ । तालीवनले सत्ता लिएसँगै अन्तर्राष्ट्रिय निकायले सहयोग गर्न छाडेका छन् । जसका कारण अवस्था दयनीय समेत बनेको छ । पछिल्लो रेडियो अन्तर्वार्तामा भने आफूलाई बलीको बोका बनाएको आरोप लगाए ।
त्यसो त सन् २०२१ को वर्ष अफगानिस्तानमा मात्र होइन, संसारका धेरै देशमा अस्वाभाविक घटना भए । म्यानमारमा यसै वर्ष सेनाले सत्ता हातमा लिएको थियो । सुडानमा पनि यसै वर्ष सेनाले सत्ता लिएको थियो ।
सन् २०२१ मा सबैभन्दा पछिल्लो सेनाबाट सत्ता कब्जाका घटना सुडानमा भएको थियो । लामो समयका तानाशाह ओमार अल बसीरले प्रजातान्त्रिक दललाई सत्ता हस्तान्तरण गरेको दुई वर्ष नबित्दै सेनाले सत्ता लिएको हो ।
संसारका राजनीतिक समीक्षकले वर्ष २०२१ लाई अफ्रिकामा सैन्य युगको पुनरागमनको युगको रूपमा व्याख्या गरेका छन् ।
सेप्टेम्बर महिनामा गुयनामा सेनाले सत्ता लिएको थियो । सत्ता हातमा लिए पछि त्यहाँका प्रमुख मामाडी डुमयोवाले भने ,‘गुयना सुन्दर छ । हामी यसलाई बारम्बार बलात्कार भएको हेर्न चाहँदैनौ । हामीले हाम्रो भूमिलाई माया गर्छौ । यसैकारण त्यसै छाडेका पनि छैनौ । ’गुयनाका पहिलो प्रजातान्त्रिक राष्ट्रपति अल्फा कोन्डेलाई नजर बन्द समेत गरियो । लामो समयको एकतन्त्रीय शासनको समाप्तिसँगै २०१० मा कोन्डे राष्ट्र प्रमुख भएका थिए ।
८३ वर्षीय कोन्डेको शासन नाटकीय ढङ्गले सकिएको थियो । सेनाबाट घेरिएका उनी मैलो सोफामा बसेको दृश्यसमेत सार्वजनिक भएको थियो । यसै वर्ष अफ्रिकाको सब सहारा क्षेत्रमा सैन्य हस्तक्षेपको लामो शृङ्खला नै बनेको थियो । यो शृङ्खलाको एउटा हिस्सा सुडान र गुयना थिए ।
सेनाले यसरी किन बारम्बार साथ पाउँछ या जनविद्रोह हुँदैन ? भन्ने प्रश्न अहिले संसारमा उठेको छ । राज्यमा भइरहेको आर्थिक बेथिति र जनताको आकाङ्क्षा र प्राप्तिको बीचमा मेल नखाएपछि हरेक नागरिकले एकपछि अर्को परिवर्तनलाई स्वीकार गर्दै आएका छन् ।
भ्रष्टाचार र सुशासनको अभाव कारण संसारमा धेरै देशमा प्रजातान्त्रिक भनिएका सरकार ढलेका छन् । यसै किसिमको घटना मालीमा पनि भएको थियो ।
अफ्रिकाका भन्दा एसियाका घटना फरक थिए । म्यानमारको सरकार अफ्रिकाको जस्तो अलोकप्रिय ठानिएको थिएन । म्यानमारको भन्दा अफगानिस्तानको अवस्था त झन् बिल्कुल फरक नै हो । राज्यको सेना र सरकारलाई विपक्षी सेनाले बर्खास्त गरेको घटना संसारमा विरलै छन् ।
इतिहासका कालखण्डमा विभिन्न समयमा विपक्षी सेनाले सत्ता कब्जा गरेको घटना नभएका होइनन् । तर, ती सबैजसो सत्ता कब्जा राजनीतिक विचारका आधारमा स्थापित विपक्षी सेनाबाट भएका थिए । अफगानिस्तानमा धार्मिक अतिवादमा आधारित सेनाले राज्यको सेनालाई विस्थापित गर्दै सत्ता हत्याएको छ । यसकारण आफूलाई सही साबित गर्न खोजे पनि राष्ट्रिय सेनाको कमजोर संयन्त्रका लागि अशरफ गनीलाई इतिहासले सम्झनेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया