देश/प्रदेश

बेपत्ता परिवारका सदस्यलाई परिचय पत्र बाँड्दै आयोग

By खबरहब

January 02, 2022

ओखलढुंगा– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लामा द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र वितरण गरेको छ । आयोगका पदाधिकारीहरूको उपस्थितिमा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका नजिकका हकदार तथा परिवारका सदस्यहरूलाई द्वन्द्व पीडित परिचय पत्र वितरण गरिएको हो ।

ओखलढुंगामा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्ति २२ जना पहिचान भएका छन् । केही वर्ष पहिले उजुरी आह्वान गरेर आयोगले छानबिन गर्न अभिलेख तयार गरेको थियो । त्यसरी पहिचान भएका व्यक्तिका परिवारका सदस्य तथा नजिकका हकदारलाई परिचय पत्र वितरण गरिएको हो । देशभर २ हजार ५५५ जना बेपत्ता व्यक्ति रहेको आयोगका अध्यक्ष युवराज सुवेदीले बताए ।

उनले सञ्चारकमर्मीहरूसँग कुरा गर्दै द्वन्द्व पीडितलाई सबैले सकेको सहयोग सेवा सुविधा तथा राज्यबाट परिपूरण हुनुपर्ने र उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्न आग्रह गरे । देशभर हालसम्म २ हजार ९३ लाई परिचय पत्र वितरण गरिएको पनि उनले जानकारी गराए । ओखलढुंगामा भने ८ घटनाका १० जना पीडितलाई जिल्लाबाट परिचय पत्र वितरण गरिएको छ भने अन्यलाई उनीहरूको अनुकूलतामा काठमाडौंबाट गर्ने तयारी भएको बताइएको छ ।

यसरी परिचय पत्र पाउने पीडितहरूलाई राज्यका निकायले स्वास्थ्य तथा शिक्षा रोजगारको सुनिश्चितता गर्न, आयकर, यातायातमा आधा छुट, सहुलियतपूर्ण व्याजमा ऋण तथा प्रदेश स्तरमा कम्तीमा १० र पालिका तहमा कम्तीमा २ जनालाई रोजगारीको सुनिश्चितता गर्न सरकारलाई सिफारिस समेत गरिसकेको छ । स्थानीय सरकार र प्रदेश सरकारले रोजगारी तथा आवासको व्यवस्था स्वास्थ्य शिक्षाको निस्शुल्क व्यवस्था गर्न अध्यक्ष सुवेदीले आग्रह गरे ।