दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

नेपाल भारत सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीलाई देउवाको आग्रह 
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारत सीमाका विषयमा द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताएका छन् । आज हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग सीमा विषयका बारेमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेको बताए । पत्रकार सम्मेलनका क्रममा देउवाले भारतको आर्थिक रूपान्तरणबाट लाभ लिन नेपाल इच्छुक रहेको धारणा राखे । त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समक्षकी शेरबहादुर देउवाको भारत भ्रमणले दुई देश बिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

जनकपुर– जयनगर रेलमार्गसहित विभिन्न ४ परियोजनाको दुई प्रधानमन्त्रीद्वारा उद्घाटन
दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेसँगै नेपाल–भारत रेल सेवा आइतबारबाट सुचारु हुने भएको छ । रेल ल्याएर पनि लामो समयदेखि थन्काएर राखिएकोमा आइतबारदेखि अप र डाउन गरी दिनको चार सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । जसमा दैनिक ५ हजार जनाले यात्रा गर्नेछन् । ८ वर्ष २ महिनापछि विधिवत रेल संचालन भएको आफ्नै आँखाले हेर्न हजारौं सर्वसाधारण आज बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा भेला भएका थिए ।

राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्सपोको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौंमा हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेको भन्दै जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिन् । 

एमाले फुट्यो भनिए पनि झन् ठूलो भएको छ: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले एमाले फुटेको भनिए पनि पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन् । ओलीले एमाले पहिले जस्तै रहेको भन्दै कार्यकर्ताहरूलाई नआत्तिन आग्रह गर्दै आगामी स्थानीय निर्वाचनमा पनि एमालेकै जित हुने दाबी गरे । एमाले खोटाङले दिक्तेलमा आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर ’षड्यन्त्र गरेर परमादेशबाट हराइएको जिकिर गरे ।

मुलुकको परिवर्तन गुम्ने खतरा कायमै छः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताए । अहिले माओवादीले जितेको पालीकाहरूमा मात्र राम्रो काम हुन सकेको उनले दाबी गरे । भरतपुर महानगरपालिकामा अन्य पालीकामा भन्दा राम्रो काम भएको भन्दै उनले माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताए । 

पेट्रोलियम व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम फिर्ता
पेट्रोलियम व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
शनिबार नेपाल आयल निमगसँग सहमति जुटेपछि चैत २० गतेबाट गर्ने भनिएको आन्दोलन व्यवसायीहरूले फिर्ता लिएका हुन् ।
निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो ।
नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले वार्ताबाट सकारात्मक निष्कर्ष आएको बताए ।
निगमले पेट्रोलियम विक्रेता कमिशनसम्बन्धीएल.पी. ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र निष्कर्ष निकाल्ने आश्वासन दिएको छ ।
त्यस्तै, अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित विषयहरू जेठ १५ सम्म सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।
पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको लागी मतदान सम्पन्न 
नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको लागी मतदान सम्पन्न भएको छ । मतदानका लागी बिहान ८ बजेबाट ४ बजेसम्मको समय तोकिएको थियो । निर्वाचन समितिका अनुसार केही स्थानमा भने मतदान सकिएको छ । बारको नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा छ । 

पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि 
पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ९० जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अछामको बलात्कार मुद्दाको फैसलाविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
अछामको बलात्कार घटनाको फैसला विरुद्ध आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो। माइतीघरमा अपराह्न ४ बजेपछि सुरु भएको विरोध प्रदर्शनमा अधिकारकर्मी तथा लेखक संगीत स्रोता, वन्धुविक्रम क्षेत्री, अन्जनबाबु लगायतका अभियन्ता सहभागी रहेका थिए । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै न्याय माग्न अदालतमा जाँदा स्यवं किशोरीलाई नै दोषी ठहर गरी अछाम जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

बिरामीको मृत्युपछि कैलालीको पद्मा अस्पतालमा तोडफोड
कैलालीको अत्तरियामास्थित पद्मा अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का  ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा शनिबार मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् । स्थानीयले चिकित्सकले लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनका सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जानकारी दिए ।

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान भोलि सुरु हुने
इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान भोलिदेखि सुरु हुने भएको छ । गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई निराहार बस्ने गरिन्छ । उर्दू क्यालेण्डर अनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

असन जात्रा धुमधामका साथ मनाइयो
नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ । यसक्रममा तीन दिदी बहिनीको रथ ठोक्काउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा रथ जुधाउने भन्ने प्रचलन रहिआएको हो । रथ असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ ।यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ ।

चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात बढ्यो
नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात अकासिएको छ । आर्थिक वर्ष २०७७/७८ को (फागुन) मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्य बराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेसियाबाट आयात भएको हो ।सबैभन्दा धेरै आलु भारतबाट रु छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार र बङ्गलादेशबाट रु २४ करोड ८१ लख ५९ हजार गरी कूल रु छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबर–भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको छ ।
 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ५७ बजे

दशैँमा नेपालीले कति खाए मासु ?

काठमाडौं – यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ

पाहुनालाई स्थानीय घुँगीको परिकारले सत्कार

बाँके– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दशैँ मनाउन आएका

चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन 

महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन काठमाडौंका रैथाने

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज

निःशुल्क आँखा परीक्षण शिविर

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३