दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

भारतीय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँमा
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौँ आएका छन् । गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।  

निर्वाचन आयोगले गरायो शशांक कोइरालालाई सचेत
निर्वाचन आयोगले निर्वाचन खर्चका विषयमा जथाभावी नबोल्न कांग्रेस नेता शशांक कोइरालालाई सचेत गराएको छ ।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण दिएको भए पनि ६ करोड खर्च भएको भनेर दिएको अभिव्यक्ति विरुद्ध सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले सम्बद्ध दल र व्यक्तिलाई सचेत गराउने निर्णय गरेको हो ।  आज  काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयन गर्न सचेत गराएको जनाएको छ ।

ईदमा मंगलबार सार्वजनिक बिदा
सरकारले ईदको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका  अवसरमा भोलि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले  आज विज्ञप्ति मार्फत जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका भोलि सार्वजनिक बिदा दिइएको बताए ।

शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घलाई स्वीकृति
सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ  । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न  आज  सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती सङ्घसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए । बैठकले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।

सर्वोच्च अदालतमा एआईजी पोखरेलको रिट दर्ता, बुधबारलाई पेशी
धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र बुधवारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

एमालेद्वारा लुम्बिनी प्रदेश कमिटीका ६ जना निष्काशन
पार्टी निर्णयविपरीत लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध  लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो ।यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर  गुरुङ, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।

राजश्व चुहावट गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर
मूल्य अभिवृद्धि कर बीजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर बीजक खरिद गरी  ९ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै विभागले सोहीअनुसारको माग दाबी गरेको छ ।

नेपालमा ९ जनामा कोरोना संक्रमण
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ३३ पीसीआर परीक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप १८ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा २ सय ११ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह
सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।  पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर भन्दै सर्तक रहन आग्रह गरेका छन् ।

भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
मौसमको कारण भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ। भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार भिजिबिलिटी कम हुँदा अन्तराष्ट्रिय विमानहरू आकाशमै होल्ड हुनुका साथै ३ वटा आन्तरिक उडान डाइभर्ट गरिएको थियो।

हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएको हो ।टेलिफोन र इन्टरनेटले काम नगर्दा बाहिर रहेका आफ्ना आफन्तहरूसँग कुराकानी गर्न नपाएको स्थानीयहरूले बताएका छन् ।

मोरङस्थित सीमावर्ती क्षेत्रमा एसएसबीले गोली चलायो
मोरङको विराटनगरस्थित सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ ।  आज दिउँसो सीमा क्षेत्र नजिक विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको प्रहरी स्रोतले जनाएको छ । दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी  गरेको छ ।  गोली पड्काएपछि स्थानीयबीच भागदौड मच्चिएको  बताइएको छ । 

‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग
राष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले आज आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजु सूचीमाथिको छलफल’ कार्यक्रममा महासङ्घका महासचिव सन्तोष केसीले साङ्केतिक भाषाका शब्द चार हजार ७०० मात्रै रहेकाले यो भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरेका हुन् ।

बढ्दो आयात कम गर्न भन्सार महशुल बढाइने
नेपालमा उत्पादन हुने कृषि उत्पादनको आयातमा ४२ प्रतिशतसम्म भन्सार महसुल लगाउन निजी क्षेत्रले सरकार समक्ष प्रस्ताव गरेको छ ।निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आज अर्थमन्त्री जनार्दन शर्मालाई बजेटसम्बन्धी यस्तो सुझाव प्रस्ताव गरिएको हो । महासंघले गरेको अध्ययन अनुसार नेपालमा १ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको आयात भइरहेका सामानको संख्या २ सय भन्दा बढी छ ।

अब क्रेडिट कार्डबाट
अब क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसर गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै  आज  यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइँदैन ।तर, अत्यावश्यक भएको समयमा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिदैन । क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम भने वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । सो रकम बैंक खातामा ट्रान्सफर गर्न  वा नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने भएको छ ।

शेयर बजार भारी अंकले गिरावट
शेयर बजार परिसूचक नेप्से कारोबारको पहिलो दिन आज भारी अकंले गिरावट आएको छ । आज ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३ सय ७ दशमलव ४४ विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि घटेको छ । आज ३९ लाख ७८ हजार ७९ कित्ता शेयर कुल  १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा कारोबार भएको छ । आज जल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अगाडि रहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : १२ बजे

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा