'चाँगुलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्छौँ' | Khabarhub Khabarhub

‘चाँगुलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्छौँ’

‘नागरिकको आशा र भरोसा टुट्न दिन्न’



स्थानीय तहको निर्वाचन २०७९ हालै सम्पन्न भएको छ । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदा सबै पालिकाले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि पाइसकेका छन् । यससँगै जनप्रतिनिधि सेवामा लागिसकेका छन् । भक्तपुरको ऐतिहासिक क्षेत्र तथा पर्यटन हबमा चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट जीवन खत्री निर्वाचित भएका छन् । मेयर खत्रीसँग कार्यकालको योजना लगायतका विषयमा खबरहबका लागि लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंशः

तपाईँले कार्यकाल सम्हालेपछि कुन कामलाई पहिलो प्राथमिकता दिनुभएको छ ?

दोस्रो कार्यकालमा ‘समृद्ध, विकास हाम्रो नगरपालिका राम्रो नगरपालिका’ बनाउने जिम्मेवारी आम मतदाताले हाम्रो काँधमा सुम्पिनुभएको छ । व्यवस्थित र सुखी नगरपालिका बनाउन योजनाबद्ध ढङ्गले आवश्यकतालाई पहिचान गरेर योजना लागू गर्ने छौँ ।

हामीले हाम्रो घोषणापत्रमार्फत धेरै योजना सार्वजनिक गरेका छौँ । ती योजनाहरूलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गर्दै जाने छौँ । यहाँको समस्या भनेको यो नयाँ नगरपालिका हो । सामान्य क्रियाकलाप व्यवस्थित गर्न र प्रशासनिक/सांगठनिक संरचना चुस्त दुरुस्त बनाउन नसकेकोले आम नागरिकले पाउने सेवा सुविधा लिनको लागि घन्टौँ महिनौँ पर्खनुपर्ने बाध्यता जुन छ त्यसलाई म हटाउँदै छु । नगर र वडा तहबाटै तुरुन्तै सेवा दिने गरी व्यवस्था मिलाउँदै छौँ। यो नागरिकको लागि सुखद पक्ष हो । यो नगरपालिकामा खानेपानीको ठुलो अभाव छ । पहिलो प्राथमिकतामा नगरवासीलाई स्वच्छ सफा पिउन योग्य खानेपानी हरेकको घर-घरमा पुर्‍याउने लक्ष्य छ ।

नगरपालिका क्षेत्रमा सडकको अवस्था अत्यन्तै दयनीय छ । हामी नगरवासी हौँ भन्न शिर निहुराउनुपर्ने अवस्था छ । यसलाई विशेष रुपमा योजना बनाउँदै काम गर्नेछौ । संघीय, प्रदेश र नगरपालिकाबाट विनियोजित रकमको काम तुरुन्त कार्यान्वयन गराएर हिलाम्मे सडकलाई वर्षामा नागरिकले जुत्ता फुकाल्न नपर्ने वातावरण सिर्जना गर्ने तयारीमा लागेका छौँ । हाम्रो नगरपालिकालाई सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रकारुपमा विकास गर्दै जनजीविकालाई सहज, सरल र सुखी नगरपालिका बनाउँदै आयआर्जन र रोजगारीका अवसर सिर्जना गर्दै शिक्षा स्वास्थ्यका कार्यक्रम ल्याउने छौँ । नगर परिषद् आयोजना गर्ने तयारीमा लागेका छौँ । यस्ता समग्र कार्यक्रमलाई समावेश गर्दै चाँगुबासीका पक्षमा राम्रो नीति नियम बनाएर यहाँ देखिएका समस्यालाई चाँडो समाधान गर्ने हाम्रो उद्देश्य छ । त्यो नै हाम्रो कार्य योजना हो ।

चाँगुनारायण नगरपालिकाले शिक्षाको विकास गर्न कस्ता नीति लिने छ ?
शिक्षा तेस्रो आँखा हो । चाँगु नगरवासी सबै शिक्षित हुन भन्नेमा हाम्रो जोड छ । चागुँनगरमा एक घर एक स्नातक अनिवार्य पुर्‍याउने छौँ । यसमा योजनाबद्ध रुपमा लाग्ने छौँ । सामुदायिक विद्यालय र निजी विद्यालयबीच समन्वयात्मक भूमिकामा शिक्षाको ज्योति फैलाउने अत्यन्त तदारुकताको साथ क्रियाशील भएर जिम्मेवारीपूर्वक नागरिकहरूलाई दोस्रो प्राथमिकतामा राखेर काम गर्नेछौँ।

स्वास्थ्य क्षेत्रमा नगरपालिकाको स्रोतहरूलाई कसरी परिचालन गर्नुहुन्छ ?
चाँगुनगरपालिकाको हरेक वडामा स्वास्थ्य चौकी छन् । नगरपालिकाको वडा १ मा वीर अस्पतालको निर्माण गरेर सेवा सुविधा नगरवासीलाई मात्रै होइन, देशभरका नागरिकलाई स्वास्थ्य सेवा दिने नेपाल सरकारले निर्णय गरिसकेको छ । त्यसको कार्यान्वयन तहमा ढिलासुस्ती भइरहेको छ । हामी आउनेबितिकै यसको निर्माण प्रक्रियालाई तीव्रता दिने अभियानमा लागि सकेका छौँ । मानवअंग प्रत्यारोपणको स्थानान्तरण यही नगरपालिकामा हुँदै छ । यस्तै चाँगुनारायण नगर अस्पतालबाट दिइने सेवा सुविधा वृद्धि गरेर केही ठूला बाहेकका अन्य रोगको निःशुल्क सेवा उपलब्ध गराउने योजना बनाउँदै छौँ । नगरपालिकाभित्र स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेछ । सरकारले सःशुल्क गरेकोमा नगरपालिकाले निःशुल्क गर्नेछ । स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घर घरमा पुगेर गर्नेछौँ । स्वास्थ्य जनचेतनाका कार्यक्रमहरू स्वास्थ्यकर्मीमार्फत घरघरमा सञ्चालन गर्नेछौँ । स्वस्थ नागरिक निर्माण गर्नेछौँ ।

चागुँनारायण नगरपालिकामा खेतीयोग्य जमिनहरुमा खण्डीकरण गरी अव्यवस्थित प्लटिङ तथा आवास निर्माण भइरहेको देखिन्छ यस विषयमा नगरपालिकाको ध्यान नपुगेको हो ?
मलाई अत्यन्त दुःख लाग्छ । हामी नगरवासी भएका छौँ । नगरपालिका स्मार्ट सिटी बनाउन अर्थात् व्यवस्थित सहर बनाउन लागेको छ तर यहाँको दुर्दशा हिजोको नेतृत्वले गरेको निर्णयका कारण समस्या देखिएको छ । नगरपालिकासँग एउटा जेसीभि तथा एउटा ट्रक रहेछ तर एक नम्बरदेखि ९ नम्बरसम्म हेर्दा २०० वटा जेसीबीले विना स्वीकृति विना सहमति ‘व्यवस्थित बस्ती विकास र सहरीकरणको नाममा अव्यवस्थित तवरले काम गरेको देखिएको छ । यस्ता कामलाई रोक्दै छौँ । घडेरी खण्डीकरण गरेका सहरी विकास नाम गरेकोलाई रोकेका छौँ । प्राकृतिक विपत्ति आउने गरी जो संस्था/कम्पनी र व्यक्तिले काम गरेका छन् । त्यसको क्षतिपूर्ति गराउने मनस्थितिमा हामी छौँ । नगरपालिकालाई छाडा अव्यवस्थित रुपले लाने हो भने हामीले सोचेको जस्तो नगरपालिका बन्न सक्दैन । जनप्रतिनिधी तथा कर्मचारीबीच छलफल गरिसकेका छौँ । अव्यवस्थित तरिकाले काम गर्नेलाई कानुनी दायरामा ल्याएर  व्यवस्थित सहरीकरणको काम अगाडि बढाउँछौँ ।

चाँगुनारायण नगरपालिकाभित्र इँटा भट्टाको संख्या धेरै छन् । यसले वातावरणलाई असर गरेको छ । यसतर्फ नगरपालिकाले के कार्य योजना बनाएको छ ?
स्वास्थ्य नागरिकको सबैभन्दा ठूलो सम्पत्ति हो । स्वास्थ्य राम्रो बनाउन हामी कुनै चिज सँग पनि सम्झौता गर्ने छैनौ । आफ्नो मुनाफाको लागि नागरिकको स्वास्थ्यसँग खेलवाड गर्छन् भने इटा व्यवसायीहरुलाई नगरपालिकाबाट वैकल्पिक ठाउँमा सार्न जरुरी छ । नगरपालिकाले छलफल गर्दा उहाँहरुले स्वास्थ्यको दृष्टिकोणले जे प्रतिबद्धता जनाउनुभएको छ र नेपाल सरकारको ऐन नियम कानुन रहेको छ त्यो पुरा नगरेको पाएका छौँ । सहरभित्र भट्टा प्रदूषण हुनु हुँदैन भन्ने नागरिकको भावनालाई बुझेर व्यवसायीहरुले विकल्प खोज्नुहुन्छ भन्ने विश्वास लिएको छु । कम्तीमा इट्टा भट्टा र भट्टी व्यवस्थित गरे मात्रै पनि चाँगुनारायणको सुन्दरता टल्किन्छ ।

चागुँनारायण नगरपालिका धार्मिक सांस्कृतिक रुपले प्रख्यात छ । यो क्षेत्र पर्यटकको सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रको समग्र पर्यटक प्रवर्द्धन गर्न तपाईँहरूको पहल के होला ?
नागरिकका प्राथमिकताको काम पछि हाम्रो जोड धार्मिक, सामाजिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा हुनेछ । यसबाट नागरिकको जीवनस्तर माथि लान सकिन्छ। हाम्रो नगरपालिका विश्व मानचित्रमा चिनाउन योजनाबद्ध रुपमा लागेका छौँ । त्यसका लागि विशेष कार्यक्रम ल्याउने छौँ । नगरकोट निर्माणमा केन्द्र सरकाले ढिलासुस्ती गरेको छ । यसलाई सम्पन्न गर्न नगरपालिकाले विशेष पहल गर्ने छ । आवश्यक परेमा नगरपालिकाले उक्त सडक निर्माण सम्पन्न गर्ने छ । पर्यटक आउने बाटो निर्माण गर्ने छौँ । ९ वडामा पर्यटकीय बाटो बनाउने छौँ । सरस्वती खेलको निलबाराहीदेखि बाल्मिकेश्वर कल्पेश्वर हुँदै सुर्यविनायक नगरपालिकाको डोलेश्वर महादेवसम्म धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचेका छौँ ।

कृषि आधुनिकीकरण गर्न नगरपालिकाको योजना के छ ?
हाम्रो देश कृषि प्रदान देश हो । तर विडम्बना हाम्रो कृषियोग्य जमिनहरू सहरको रुपमा परिणत भइरहेका छन् । चाँगुनारायण नगरपालिकामा धेरै कृषि योग्य जमिन बाँकी छ । स्थानीय उत्पादनबाट ८० प्रतिशत नागरिकको जनजीवन चलेको छ । कृषिको आधुनिकीकरण गर्ने बजारीकरण गर्ने र कृषकले आफुले उत्पादन गरेको समानको उचित मूल्य नपाउने तर बिचौलियाहरूले बढी फाइदा लिने परिस्थिति छ । यसलाई मध्यनजर गर्दै नगरपालिकाले कृषकलाई केन्द्र विन्दुमा राखेर नाफा कृषकको हातमा आउने गरी बजारीकरणको व्यवस्था मिलाउँदै छौ । उत्पादनको लागि चाहिने वीउविजन, कृषि सामान र मललगायतका सामग्री नगरपालिकाले उपलब्ध गराउनेछ । आधुनिक कृषि प्रणालीलाई प्रोत्साहित गरेर अनुदानसहितका कार्यक्रम लागू गर्छौ । कृषिमा आत्मनिर्भर बनाउँछौँ । किसानले उत्पादन गरेको समानहरुको राम्रो मूल्य गरेर बजारीकरण गर्छौ ।

रोजगारी तथा खेलकुदमा नगरपालिकाको जोड कस्तो रहन्छ ?
नगरपालिकाले रोजगारीको अवसर सिर्जना गर्नेछ। हरेकलाई अब्बल हुने वातावरण र शिक्षा दिनेछौँ । रोजगारीका क्षेत्रहरु विकास गर्नेछौँ । नगरपालिकाले खेलकुदमा जसको रुचि छ त्यस्ताका लागि प्याकेजमै प्रोग्राम ल्याउने छ। खेलकुदमा प्रशिक्षित गराउने छ । खेलकुदका कार्यक्रमहरू तथा प्रतियोगिता आयोजना गरेर समग्र खेलकुदको विकास गर्नेछ । यसको लागि विशेष कार्य योजना नगर परिषद्बाट ल्याउँछौ।

जलस्रोत तथा नदिहरुलाई संरक्षण गर्ने के कार्य योजना छ ?
बढ्दो सहरीकरण र विकासको नाममा प्राकृतिक रुपका खोला नाला ढलमा परिणत गरिरहेका छौँ । यसले गर्दा प्राकृतिक विपत्ति आइपर्ने सम्भावना छ। हिजो भएका कुराहरुलाई रोकेर खोला नालामा १२ महिनै सफा पानी बग्ने परिस्थितिको सिर्जना गर्ने, तिनीहरूको संरक्षण गर्ने यसलाई नगरपालिकाको सौन्दर्यको रुपमा विकास गरेर जाने कार्य योजना छ । नगरपालिकाको मुटुमा रहेको महादेवलाई अझ शुद्ध बनाउने छौँ । खहरे खोलाहरुको संरक्षण तथा व्यवस्थापन गर्ने छौ । प्राकृतिक कुराहरुलाई विगारेर होइन त्यसलाई जोगाउँछौ । महादेव खोला बहुआयमिक परियोजना जसको डीपीआर गरिसकेका छौँ । यसमा खानेपानी, सिँचाई, पर्यटनदेखि विद्युत् निकाल्नेसम्मको योजना छ । भक्तपुरमा खानेपानी तथा बत्तीको सेवा उपलब्ध गराउन सक्छौँ ।

आममतदातालाई केही भन्नुछ ?
जुन आशा र विश्वास राखेर मलाई नगरपालिकाको जिम्मेवारी सुम्पिनुभयो नगरवासीले त्यो भरोसा नटुट्ने गरी काम गर्नेछु भन्न चाहन्छु । नगरपालिकाको काममा प्रतिबद्ध भएर लाग्ने र नगरवासीको हितका लागि नीति तथा कार्यक्रम ल्याउने छु। सबैको साथ पाए ५ वर्षमा होइन दुई वर्षमै विकासले फड्को मार्नेछ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : २१ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले