विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज भदौ १७ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्

आईएनएस विक्रान्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा नै निर्मित भारतको पहिलो लडाकु विमानवाहक युद्धपोतलाई भारतीय नौसेनामा औपचारिक प्रवेश गराएका छन् ।

१७ वर्ष लामो निर्माण एवम् परीक्षणपछि प्रधानमन्त्री मोदीले शुक्रबार भारतमै निर्मित लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ लाई नौसेनामा औपचारिक रुपमै तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतको दक्षिणी राज्य केरलास्थित राज्य सञ्चालित बन्दरगाहमा आयोजित एक कार्यक्रममार्फत् मोदीले आईएनएस विक्रान्तलाई नौसेनामा औपचारिक तैनाथ गरेका हुन् । यो भारतको दोस्रो लडाकु विमानवाहक युद्धपोत रहेको जनाइएको छ ।

यसअघि भारतले रुससँग आईएनएस विक्रमादित्य नामक लडाकु विमानवाहक युद्धपोत खरिद गरेको थियो ।

‘आज भारत ती मुलुकहरुको सूचीमा समावेश भएको छ, जसले आफ्नै प्रविधिको प्रयोग गरी यस्तो विशाल लडाकु विमानवाहक निर्माण गर्न सफल भएका छन् ।’ मोदीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘यो घरेलु क्षमता, घरेलु स्रोत र घरेलु सीपको पहिचान हो ।’

हालै नौसेनामा तैनाथ गरिएको यस युद्धपोतमा १६ सय नौसैनिक एवम् ३० लडाकु विमान बोक्न सक्ने क्षमता रहेको जनाइएको छ ।

प्रारम्भीक चरणमा यस युद्धपोतमा रुसमा डिजाइन गरिएको मिग–२९ के लडाकु विमान रहने रोयटर्सले जनाएको छ । आईएनएस विक्रमादित्यमा पनि यस्तै लडाकु विमानको प्रयोग हुँदै आएको छ ।

यद्यपि अमेरिकी रक्षा कम्पनी बोइङ र फ्रान्सेली डासटले पनि यस लडाकु विमानवाहक युद्धपोतका लागि २ दर्जनभन्दा धेरै लडाकु विमान उपलब्ध गराउनेबारे विचार गरिरहेको बताइएको छ ।

भारत विश्वकै सबैभन्दा महत्वपूर्ण हतियार आयातकर्ता मुलुक हो । रोयटर्सका अनुसार भारतले सन् २०१८ देखि सन् २०२१ सम्म १२ अर्ब ४० करोड अमेरिकी डलर बराबरको हतियार आयात गरेको थियो ।

यद्यपि पछिल्लो समय भारत स्वदेशमा नै यस्ता हतियार उत्पादन गर्ने प्रक्रियामा रहेको बताइन्छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फिर्ताको तयारीमा

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ ।

राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्वराष्ट्रपति त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाईमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

पछि उनी अस्थायी आश्रय खोज्दै थाइल्याण्ड पुगेका थिए । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुद्विनाइले राजापाक्षेसँग कूटनीतिक राहदानी रहेकाले ९० दिनसम्म त्यहाँ बस्न सक्ने बताएका छन् ।

पाकिस्तानमा बाढीले रेलमार्गमा क्षति, १९ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ ।

यसबाट रेलका लिगहरु पनि बिग्रिएको बताइएको छ । यसबाट रेल दुर्घटना परेको र कम्तीमा पनि २४ जनाको ज्यान गएको छ ।

यहाँको विपद् व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको हो । उक्त प्राधिकरणले यहाँको रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ ।

बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ घाइते भएका छन् ।

बाटो, बिजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पु¥याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।

गोर्बाचेभको अन्त्येष्टीमा पुटिन सहभागी नहुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए ।

पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचोभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । गोर्बाचोभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण पुटिन क्रुद्ध छन् ।

सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए ।

पश्चिमा देशका वाहवाह बनेका गोर्बाचोभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे ।

जिम्बाब्वेमा डाइनोसरको अवशेष फेला

जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताको दाबी गरेका छन् ।

जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्ताले दाबी गरेका हुन् । एक मिटर अग्लो, दुई वटा खुट्टा र लामो घाटी भएको डाइनोसरको अवशेष भेटिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यो चार खुट्टाले हिँड्ने साउरोपोदोमोर्पको प्रजाति भएको अनुसन्धानमा उल्लेख छ । डाइनोसरको अवशेष सन् २०१७ र २०१९ मा गरिएको अध्ययनको क्रममा भेटिएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

पाकिस्तानमा बाढीपीडित ३० लाखभन्दा धेरै बालबालिकालाई मानवीय सहायताको खाँचो

पाकिस्तानमा हालै आएको बाढीका कारण ३० लाखभन्दा बढी बालबालिका मानवीय सहायताको पर्खाइमा रहेका छन् । बाढी प्रभावित बालबालिकाहरू पानीजन्य रोगहरू र कुपोषणको बढ्दो जोखिममा समेत रहेको संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषद्वारा जारी विज्ञप्तिमा प्रभावित क्षेत्रहरूमा बालबालिका र परिवारहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको जनाएको छ ।

तीन करोड मानिसहरूमध्ये लगभग एक करोड ६० लाख बालबालिकाहरू यस वर्षको बाढीबाट प्रत्यक्ष परोक्षरूपमा प्रभावित भएको बताइएको छ ।

बाढीमा ३५० भन्दा बढी बालबालिकासहित ११ सयभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् भने १,६०० भन्दा बढी घाइते भएका छन् । त्यसैगरी २ लाख ८७ हजार घरहरू पूर्णरूपमा र ६ लाख ६२ हजार घरहरू आंशिकरूपमा ध्वस्त भएका छन् ।

बाढीका कारण ठूला नदीहरूले आफ्नो मार्ग परिवर्तन गरेका छन् र किनारा भत्काएका छन् । बाढीले घर, खेत , सडक, पुल, विद्यालय, अस्पताल र सार्वजनिक स्वास्थ्य सुविधाहरू लगायतका महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारेका छन् ।

युनिसेफका पाकिस्तान प्रतिनिधि अब्दुल्लाह फदिलले प्राकृतिक प्रकोपमा बालबालिकाहरू सधैँ सबैभन्दा धेरै जोखिममा पर्ने बताउँदै बाढीले बालबालिका र परिवारहरूमा जटिलता निम्त्याएको र स्थिति अझ खराब हुन सक्ने बताएका छन ।

उनले युनिसेफले बिभिन्न सरकारी र गैरसरकारी संस्थासँग मिलेर काम गरे पनि बालबालिकाको आधारभूत आवश्यकतालाई यथाशीघ्र सम्बोधन गर्न अझ थप पहल आवश्यक पर्ने बताए ।

भारतीय गर्भवती पर्यटकको मृत्यु भएपछि पोर्चुगिज स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

आपतकालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गरेको र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अर्को अस्पताल सार्ने निर्णय गरिएको भन्दै व्यापक आलोचना भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले राजीनामा दिएकी छन् ।

पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्यूजले जनाएअनुसार टेमिडोले राजीनामा दिएको जनाएको छ । घटनापछि पदमा रहिरहनुपर्ने कुनै कारण बाँकी नरहेको भन्दै उनले राजीनामा दिएको जनाइएको छ ।

राजधानी लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो ।

पोर्चुगिज राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीको राजीनमा स्वीकृत गरिएको उल्लेख छ।

डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण एक गर्भवती भारतीय महिलालाई साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो ।

अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिबार मृत्यु भएको थियो । यही कारण जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा दिएकी हुन् ।

कोरोना अपडेट

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ ।

बिहीबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ८९ हजार पाँच सय ८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३४ लाख १७ हजार चार सय २५ पुगेको छ ।

दक्षिण कोरियामा अघिल्लो दिन अर्थात बुधबार सार्वजनिक भएको तथ्याङ्अनुसार ८१ हजार पाँच सय ७३ जना नयाँ सङ्क्रमित थपिएका थिए । दक्षिण कोरिया कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधबारको तुलनामा बिहीबार घटेको छ । बुधबार कोरोना सङ्क्रमणको कारण एक सय १२, जनाको मृत्यु भएको थियो भने बिहीबार ६४ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा तत्काल यो महामारी साम्य हुने लक्षण देखिएको छैन । यो सँगै कोरियामा कोभिड लागेर ज्यान गुमानेको सङ्ख्या २६ हजार नौ सय ४० पुगेको छ ।

यसैबीच भारतमा एकै दिनमा छ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म छ हजार एक सय ६८ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यसैसँगै भारतमा चार करोड ४४ लाख ४२ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात बिहीबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा सात हजार नौ सय ४६ जनामा सङ्क्रमण देखापरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार दुई सय १० जना रहेका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
२४ घण्टाको समयावधी बिहीबार मध्यरात अर्थात कोरोना सङ्क्रमणबाट भारतमा २१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार नौ सय ३२ भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा हिजो एक दिनमा नौ हजार छ सय ८५ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३८ लाख ५५ हजार तीन सय ६५ जना कोरोनामुक्त भएका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब १२ करोड ७५ लाख २३ हजार चार सय २१ भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६४ लाख ६६ हजार दुई सय ५५ जना कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : २८ बजे

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक

राष्ट्रसंघको महासभा : नेपाल घरेलुसँगै अन्तर्राष्ट्रिय विषयमा केन्द्रित

न्यूयोर्क – नेपालले यसपटक संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा निकै महत्त्वपूर्ण

भरुवा बन्दुकसहित एकजना पक्राउ

रूकुम पश्चिम – प्रहरीले रूकुम पश्चिमबाट भरुवा बन्दुकसहित एकजनालाई पक्राउ

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग