भोजपुरे खुकुरीको माग बढ्दो | Khabarhub Khabarhub

भोजपुरे खुकुरीको माग बढ्दो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ  हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । चाडपर्वको सुरुवातसँगै भोजपुरमा अहिले आएर खुकुरीको मागसमेत बढेको छ तर माग बढेअनुसार दक्ष कालिगढको अभाव देखिएको खुकुरी व्यवसायीको भनाइ छ । 

उर्मिला आरन उद्योगका व्यवस्थापक हीरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगढको अभावका कारण समस्या देखिने गरेको बताउँछन् । उनले भने, ‘भोजपुरमा बनेका खुकुरी स्थानीय बजारमा मात्र होइन, अन्य  जिल्ला साथै विदेशमा समेत माग हुँदै आए पनि  खुकुरी बनाउने कालीगढ भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालिगढलाई भने काम दिएको छु ।’

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश बिकले भने , ‘हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात मानिन्छ तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।’ खकुरी उद्योगबाट थोरै कालीगढले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे कोथीमोडालगायत खुकुरी उत्पादन हुने गरेको छ ।

उद्योगबाट उत्पादन भएका खुकरी हाल स्थानीय बजारका खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा आएसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ । यहाँ  आउने जानेलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाई गर्ने गरेको त्यहाँका कार्यालय सचिव मीना कार्कीले बताए  ।

‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी’ उनले बताए ,’विगतमा द्वन्द्व हुँदा बन्द भएको खुकुरी उद्योगहरू शान्ति प्रक्रियाको थालनीसँगै पुनः ब्युँतिएका छन् ।’ जिल्लाको दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायत ठाउँबाटसमेत खुकुरी बिक्रीका लागि आउने गरेको छ ।  जिल्लामा बुदुना, बाँसपाते, सिरुपातेलगायत खुकुरी बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ । भोजपुर नगरपालिका–५ का महेन्द्र बिक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताउँछन् । उनले महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहेका छन् । महेन्द्रले भने , ‘बीचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालिगढ राख्नुभन्दा पनि आफैले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।’

विसं २०४७ देखि नै आफूले खुकुरीको व्यवसाय गर्दै आइरहेको बताउँदै उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठ आफूसँग बिक्रीका लागि सात सयदेखि  आठ हजारसम्मको खुकुरी रहेको बताउँछन् । जिल्लाकै ख्यातीसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरूका लागि अवसर भएको बताउँदै सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यावसायिकरणका लागि सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।

भोजपुरमा १९६५ सालदेखि खुकुरीको व्यवसाय सुरु भएको इतिहास छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरे  खुकुरी उपहार दिनुभएको बताइन्छ । उनको खुकुरी बनाउने कला देखेर राजा महेन्द्रबाट एक हजार बक्सिस मिलेकाले सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीको भनाइ छ ।  

सजावटका लागिसमेत यहाँ बन्ने खुकुरी नेपालका साथै बाहिरी मुलुक बेलायत, अमेरिका, फ्रान्सलगायत मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवा वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि जिल्लामा कालिगढको अभाव हुँदै जान थालेको हो । खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थ जुटाउन समस्या हुने, त्यहाँमाथि युवालाई धेरै पैसा कमाउने कामतर्फ आकर्षित हुन थालेका कारण पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्माले बताए । खुकुरी व्यवसाय सञ्चालनका लागि सरकारी निकायबाट पनि आवश्यक कच्चापदार्थ, कोइला, काठमा सहजता तुल्याउनुपर्ने माग खुकुरी व्यवसायीको छ । 

–निरोज कोइराला रासस

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ३ : ५६ बजे

नजिकियो स्ववियु निर्वाचन : के गर्दै छन् विद्यार्थी संगठन ?

काठमाडौं– विश्वविद्यालयले तोकेको तालिका अनुसार काम हुने हो भने दलहरूले

न्याय परिषद हण्डी खाएर सुतेर बस्ने ?

म न्याय परिषदको सदस्य बनेको साढे ३ वर्षजति भयो ।

धापासीस्थित कुँवर कोलोनीमा आगलागी (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ निवासी भाइकाजी श्रेष्ठको बिहीबार

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव

काठमाडौं – सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि

‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम