सुर्खेत– यतिबेला जताततै दशैँको रौनकता छाएको छ । सबैलाई दशैँले उत्साहित बनाएको छ । त्यही उत्साहमा उत्साहित हुँदै राउटे समुदाय पनि दशैँ मनाउनकै लागि घर वरिपरि सिँगारपटारमा जुटेका छन् । जङ्गलमा फिरन्ते जीवन बिताउदै आएको यो समुदाय पनि दशैँ बनाउनकै लागि घर वरपर सरसफाइ, लिपपोत गर्न व्यस्त देखिन्छन् ।

पहिले सरसफाइमा त्यति धेरै चासो नदिने यो समुदायले दशैँ मनाउन आफू बस्ने घर वरपर खुर्किएर चिल्लो पारेको देखिन्छ । केहीले भित्र र बाहिर चिटिक्क पारिसकेका छन् भने केही चिटिक्क बनाउन जुटेका छन् । त्यही मध्य चिटिक्क बनाउन जुटेका छन् ३५ वर्षीय भद्र बहादुर शाही र उनको परिवार । कोही बाहिरसम्म खुर्किँदै चिल्लो पार्दै छन् भने कोही लिपपोतमा व्यस्त देखिन्छन् । उनीहरु मात्र नभएर अहिले पुरै राउटे समुदाय नै दशैँको अवसरमा बस्तीनै सिँगार्न लागेका छन् ।

भद्र बहादुर शाही घर वरिपरि चिल्लो बनाएर आफूले बनाएका कोशी बेच्न दशैँका लागि खर्च जुटाउन गाउँ जाने योजना रहेको बताउँछन् । ‘यो दशैँमा भत्ता आएन, दशैँ खर्च जुटाउन र बाख्रा ल्याउन गाउँ त जानु पर्यो नभए कसरी दशैँ मनाउने ?’ शाहीले भने ।
भद्र बहादुर सरसफाइ सकेर कोशी बेच्न गाउँ जाने योजनामा छन् भने अन्य राउटे परिवार कोशी बाेकेर कोशी बेच्न गाउँतिर हिँडिसकेका छन् । दशैँका लागि बस्ति राम्रो बनाए पनि यो वर्ष आफूहरूको भत्ता नआउँदा सोचेजस्तो दशैँ नहुने उनी बताउँछन् । पहिले समयमै भत्ता आउथ्यो तर अहिले भत्ता नआएपछि आफूहरू दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् । पहिले समयमै भत्ता पाउँथ्यौँ, दशैँ पनि त्यस्तै रमाइलो हुन्थ्यो,’उनले भने, ‘अहिले दशैँमा भत्ता नपाएपछि अहिलेको दशैँमा खुशी नभएर दुःखी छौँ हामी ।’
दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडा स्थित बसेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँ मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन् । यसअघि सधैँजसो तीन तीन महिनाको फरकमा आउथ्यो तर, अहिले आफूहरूले ढिलोगरी भत्ता पाउने गरेको राउटे मुखिया सूर्यनारायण शाही बताउँछन् । पहिलेको सरकारले हुँदा समयमै भत्ता पाउथ्यौँ,’ मुखिया शाहीले भने, ‘अहिले आफूले भत्ता नपाएको तीन महिना भयो । पहिले भत्ता ढिलो आएपछि चाडबाडमा पाइहाल्थ्यौँ । तर, अहिलेको दशैँमा समेत हामीले भत्ता पाएका छैनौँ ।’
‘पछिल्लो सरकार आएदेखि आफूहरूले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरि पायौँ अहिले दशैँमा पनि पाएनौँ अब कसरी दशैँ मनाउने हामीले ?’ राउटे मुखिया शाहीले खबरहवसँग भने । समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरुलाई खाद्यान्न नुन, तेल, लगायत दशैँका लागि आवश्यक पर्ने सामाग्रीको अभाव रहेको छ । सधैँजसो समयमै भत्ता पाएर खुसीसाथ दशैँ मनाउने राउटे समुदाय यो वर्ष अभावै अभावमा दशैँ मनाउने मुखिया शाहीले भने । दशैँको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको छ । तीन महिना देखि भत्ता पाएका छैनन् ।
पाँच वर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दैआएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् । शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतबार बैङ्क बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए ।
वडाको खातामा रकम ढिलो गरि आयो,’ उनले भने, ‘आजदेखि बैङ्क बन्द भएपछि कसरी भत्ता उपलब्ध गराउने कुनै उपाय छैन ।’यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैँको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् । राउटे समुदायले हर्षोल्लासका साथ दशैँ मनाउन पाउनुपर्छ,’उनले भने, ‘उनीहरूलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैँमा भत्ता उपलब्ध गराउनुपर्छ ।’ कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाइँसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । वडा कार्यालयले राउटे बस्ती जहाँ पुग्छ, त्यही गएर भत्ता वितरण गर्दैआएको छ ।
पछिल्लो समय राउटे समुदायको बसाइँसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटेको जनसंख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।













प्रतिक्रिया