आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

राहुल गान्धीले नाइट क्लबमा रमाइलो गरेको भिडियो भारतमा भाइरल

नेपाल भ्रमणमा रहेका भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीले नाइटक्लबमा रमाइलो गरेको भिडियो हाल भारतमा भाइरल भइरहेको छ । भारतीय सामाजिक सञ्जालमा गान्धीले लर्ड अफ द ड्रिङ्क्समा रमाइलो गरेको भिडियो भाइरल भएको हो ।

यसबाहेक भारतीय सञ्चारमाध्यमहरूले पनि राहुलको नाइटक्लब भ्रमणलाई निकै प्राथमिकताका साथ ठाउँ दिएका छन् ।

यता सत्तारुढ भारतीय जनता पार्टी भाजपाका नेताहरूले भने भिडियो शेयर गर्दै गन्धीमाथि निशाना साँधेका छन् । भाजपाका प्रवक्ता शाहजाद पुनावालाले गान्धीले जे गरेपनि उनको निजी मामिला रहेको टिप्पणी गरेका छन् ।

यद्यपि जब कांग्रेसको नेतृत्वमा रहेको राजस्थान राज्यको ‘जोधपुरमा हिंसा मच्चिरहेको छ, राजस्थान जलिरहेको छ, त्यसको चिन्ता गर्नुको साटो गान्धी नेपालमा पार्टी गरेर बसेको देखिन्छन । जबकी उनले भारतीय जनताका साथ उनीहरूको समस्याबारे जान्नका लागि हुनुपर्ने हो ।’ पुनावालालाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

त्यस्तै, भारतका केन्द्रीय मन्त्री किरण रिजिजुले पनि भिडियो शेयर गर्दै गान्धीको आलोचना गरेका छन् । उनका अनुसार छुट्टी मनाउनु, पार्टी गर्नु, प्लेजर ट्रिपमा जानु निजीस्तरमा विदेश घुम्न जानु अब देशका लागि नयाँ कुरा नभएको टिप्पणी गरेका छन् ।

त्यसैगरी भाजपाका सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि  गान्धीको आलोचना गरेका छन् । उनले ट्विटरमा गान्धीको भिडियो शेयर गर्दै लेखेका छन्, ‘मुम्बईमा आक्रमण हुने बेला पनि राहुल गान्धी नाइटक्लब मै थिए । पार्टी विष्फोट भइरहेका बेला पनि उनी नाइटक्लब मै छन् । उनमा निरन्तरता छ ।’

यता भारतीय काँग्रेस पार्टीले भने गान्धीको बचाउ गरेको छ । आजतकका अनुसार काँग्रेस पार्टीका प्रवक्ता रणदीप सुरजेवालाले गान्धीले केही गलत काम नगरेको टिप्पणी गरेका छन् ।

गान्धी आफ्नी साथीको बिहेमा सहभागी हुन काठमाडौं आएको भन्दै यो उनको निजी भ्रमण भएको बताएका छन् । कसैको बिहेमा सहभागी हुनु अपराध नभएको सुरजेवालाको टिप्पणी छ ।

गान्धी मंगलबार एकजना साथीको बिहेमा सहभागी हुन नेपाल आएका हुन् । उनी शुक्रबारसम्म नेपालमै रहने बताइएको छ ।

बेलायती प्रधानमन्त्रीले युक्रेनी संसद्लाई सम्बोधन गर्दै
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्ने भएका छन् । उनले भिडियो लिंकमार्फत् युक्रेनको संसद् भेर्खोभ्ना राडालाई सम्बोधन गर्ने भएका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता विदेशी नेताले युक्रेनी संसद्लाई सम्बोधन गर्न लागेको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा जोनसनले युक्रेनका लागि थप ३० करोड पाउण्डको नयाँ सैन्य सहायता घोषणा गर्ने जनाइएको छ । नयाँ सैन्य सहायतामा जसमा विद्युतीय युद्ध उपकरण, एक एकाइ काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् ।

सम्बोधनका क्रममा उनले रुसी आक्रमणविरुद्धको प्रतिरोधलाई युक्रेनका लागि ‘उत्तम घडी’ भनेर स्वागत गर्ने बीबीसीले उल्लेख गरेको छ ।

‘दोश्रो विश्वयुद्धमा बेलायती जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झिन्छौँ । यो युक्रेनको उत्कृष्ट घडी हो, यो तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ’ जोनसनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत हप्ता बेलायतले रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको थियो । अघिल्लो सहायतामा ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र प्रणाली, लडाकु विमानभेदी क्षेप्यास्त्र प्रणाली, विष्फोटक पदार्थहरु लगायत समावेश थिए ।

बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले बताएअनुसार बेलायतले घेराबन्दीमा परेका युक्रेनी फौजलाई बन्दोबस्तीको सहायता प्रदान गर्न बेलायतले आगामी हप्ताहरूमा चालकरहित हवाइ प्रणाली पनि प्रदान गर्नेछ ।

कूटनीतिक रूपमा पनि बेलायतले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास पुनः खोल्न लागेको जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले गत महिना युक्रेनको भ्रमण गरी त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । 

रुसद्वारा इजरायलमाथि नव नाजीलाई समर्थन गरेको आरोप

रुसले विश्वको एकमात्र यहूदी मुलुक इजरायलमाथि ‘नव नाजीहरू’ को समर्थन गरेको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायलले ‘नव नाजीहरूले’ लाई समर्थन गरेको आरोप लगाएको हो ।

केही दिनअघि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलका भएको आधारहीन दाबी गरेपछि दुई मुलुकबीच तनाव उत्पन्न भएको हो ।

इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरूको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

यसको प्रतिक्रिया स्वरुप रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायली विदेशमन्त्रीको टिप्पणी ‘गैर ऐतिहासिक’ भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा यसबाट ‘किन इजरायली सरकारले किभमा रहेको नव नाजी सत्तालाई समर्थन गरिरहेको छ’ भन्ने थाहा लागेको बताइएको छ ।

रुसी विदेश मन्त्रालयले लाभ्रोभको दाबीलाई दोहोर्याउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यहूदी मूलकै भएका कारण युक्रेनमा नव नाजीहरूले शासन गरिरहेको वास्तविकता नढाक्ने जनाएको छ ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरूको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रूपमा लिने गरिन्छ ।

यसअघि रुसले आक्रमण गरेपछि सुरुवाती चरणमा आनाकानी गरेको इजरायलले पछि भने युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो ।

गत महिना इजरायली विदेशमन्त्री लापिडले रुसले युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए ।

नाइजेरियामा भवन भत्किँदा ९ जनाको मृत्यु

नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । दक्षिणी नाइजेरियाको लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको जनाइएको छ । भवन भत्किएका कारण नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किएको हो । यसअघि घटनामा ८ जनाको ज्यान गएको बताइएको थियो । यद्यपि उद्धारका क्रममा थप एक जनाको शव भेटिएको हो ।

हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो ।

सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।

युद्ध शुरु भएयता हालसम्म तीन हजार युक्रेनी सर्वसाधारण मारिए

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीयता युक्रेनमा जारी रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएकोहोछ । यद्यपि युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरको भनाइ छ ।

शुक्रबार यता मात्रै २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विष्फोटक हतियारहरूबाट मारिएको ओएचसीएचआरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसले युक्रेनमा जारी आफ्नो सैनिक गतिविधिलाई ‘युक्रेनको निशस्त्रीकरण’ र ‘अनाजीकरण’ का लागि ‘विशेष कारवाही’ बताउँदै आएको छ । यद्यपि यस्तो रुसी दाबीलाई युक्रेन र पश्चिमा मुलुकहरुले निराधार बताउँदै आएका छन् ।

मारिओपोलको औद्योगिक क्षेत्रमा पुनः हमला सुरु

पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् ।

एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।

तर, अझै दर्जनौँ साना बालबालिकाहरू कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ। आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए ।

स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी–नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ।

पुटिनले क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी अखबारको दाबी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ ।

चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको रूसी पूर्वविदेशी गुप्तचर सेवाका लेफ्टिनेन्ट जनरलद्वारा सञ्चालित टेलिग्राम च्यानललाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ ।

अपेक्षित शल्यक्रिया र ‘रिकभरी’ले पुटिनलाई ‘थोरै समयका लागि’ निष्कृय पार्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्ला दिनमा राष्ट्रपति पुटिनको ‘टिठलाग्दो उपस्थिति र सार्वजनिक रूपमा उदासीन व्यवहार’ लाई सन्दर्भ जोड्दै सो पत्रिकाले पुटिनलाई क्यान्सर र पार्किन्सन रोगसहित अन्य गम्भीर समस्या भएको दाबी गरेको छ ।

यद्यपि, एक अमेरिकी अधिकारीले मडियामा सार्वजनिक भएका रिपोर्टहरूलाई पुष्टि गर्न नसकिने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘मैले त्यसलाई पुष्टि गर्न सहयोग गर्ने कुनै पनि कुरा देखेको छैन । ’

केही दिनअघि पुटिनले निकोलाई पात्रुसेभसँग दुई घण्टाको ‘हार्ट टु हार्ट’ कुराकानी गरेको टेलिग्राम पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोस्टको जनाएको थियो । ‘पुटिनले पात्रुसेभलाई संकेत गरेका थिए कि उनी व्यावहारिक रूपमा आफ्नो एकमात्र भरपर्दो सहयोगी र सरकारका सारथी हुन्’, पोस्टले दाबी गरेको छ ।

मलेशियाले श्रमिकको पारिश्रमिक बढायो

मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो ।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ । अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखिश्रमिकको आधारभूत न्यूनतम तलब १५ सय रिंगिट बनाएको हो ।

यस भन्दाअघि मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुनेगरी आधारभूत तलब बढाएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेनबाट ११ लाख जना आफ्नो मुलुक आइपुगेको रुसको दाबी

रुसले गत फेब्रुअरी २४ मा ‘विशेष सैनिक कारवाही’ थालेयता युक्रेनबाट हालसम्म ११ लाख मानिसहरू आफ्नो मुलुक प्रवेश गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी भूभागबाट आफ्नो मुलुकतर्फ ११ लाख मानिसहरूलाई उद्धार गरिएको जनाएको हो ।

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार युक्रेनबाट रुस पुग्नेमा झण्डै २ लाख बालबालिका पनि छन् ।

सोमबारमात्र ११ हजार ५ सय जना युक्रेनबाट रुस आइपुगेको जनाइएको छ । सोमबार युक्रेनबाट रुस पुग्नेमा १ हजार ८ सय ४७ जना बालबालिका रहेको रुसी रक्षा मन्त्रालयको भनाइ छ ।

युक्रेनबाट रुस आउने मानिसहरुमा रुस समर्थित युक्रेनका पृथकतावादी राज्यहरु ‘लुहान्स्क जनगणतन्त्र’ र ‘डोनेत्स्क जनगणतन्त्र’ का बासिन्दाहरु पनि रहेको जनाइएको छ ।

युक्रेनमाथि सैनिक आक्रमण थाल्नुअघि रुसले ती राज्यहरुलाई रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो । रुसले कसैलाई पनि जबरजस्ती आफ्नो मुलुक नलगेको बताएको छ ।

उनीहरुकै आग्रहमा ती मानिसहरूलाई युक्रेनबाट रुसतर्फ उद्धार गरिएको रुसी रक्षा मन्त्रालयको दाबी छ । यता युक्रेनले रुसी फौजले भने युक्रेनी नागरिकहरुलाई जबरजस्ती रुसतर्फ लैजाने गरेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ०५ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा