अडियो सुन्नुहोस्ः
सञ्चारमाध्यमलाई मतदाताको अधिकारप्रति सचेत गराउन थपलियाको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (एओरयाब) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सार्वभौम जनताले आफ्नो जनप्रतिनिधि रोजेर शासनसत्तालाई वैधता दिने विधिका रुपमा रहेको निर्वाचन र निर्वाचनका समयमा सञ्चारमाध्यम राजनीतिक सञ्चार प्रवाह गर्ने सही मञ्च भएको समेत बताए । प्रमुख आयुक्त थपलियाले आयोगले जारी गरेको आचारसंहिता र सञ्चार क्षेत्रका आचारसंहिताको सही पालना हुने विश्वास व्यक्त गरे ।
५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने
आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको छ । अपेक्षा गरेभन्दा बढी स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्याएर छाप्न लागिएको हो । आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो । धेरैजसो मधेश प्रदेशका गाउँपालिका र नगरपालिका मतपत्र दोहोर्याएर छाप्न लागिएको हो आयोगले दलका चुनाव चिन्हका साथै अरु चुनाव चिन्ह राखेर मतपत्र छापेर जिल्लामा ढुवानी गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छापिरहेको छ ।
पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक छ : एमाले अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गरे । उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरे । पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा बहुमत ल्याउने उनले दाबी गरेका छन् ।
माओवादीले देशको नेतृत्व गरिरहेको अध्यक्ष दाहालको दाबी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका हुन् । उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए । माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उनले बताए ।
रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्थापितको दाबी
नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापति प्रकरणका आफ्नो कुनै दोष नरहेको स्पष्ट पारेका छन् । आज काठमाडौंमा मतदातासँगको अन्तरक्रिया कार्यक्रममा स्थापितले विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधिले तत्कालिन अवस्थामा रश्मिला प्रजापति हटाउने निर्णय गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नरहेको बताए । महिला हिंसा भएको आरोप पनि निराधार भएको भन्दै आफुमाथि आशंका नगर्न उनले मतदातासंग आग्रह गरे । स्थापितले अहिले चूनावका बेला आफुलाई बदनाम गराउन बिपक्षीहरूले महिला हिंसाको कुरालाई अघि सारेको तर्क गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउने भारतीय पत्रिका द हिन्दूले जनाएको छ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस ‘प्रविधि नियन्त्रित पत्रकारिता’ मुल भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवंगत भएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका साथै सामाजिक सुरक्षा कोषका बारेमा अन्तरक्रिया आयोजना गरेको थियो ।
रुकुम पश्चिममा दुई उम्मेदवारका समर्थकबीच झडप हुँदा ६ जना घाइते
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा वडा– १ मा दुई उम्मेदवारका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । गाउँपालिकाको–१ नम्बर वडामा माओवादी केन्द्रबाट वडाअध्यक्षका उम्मेदवार र स्वतन्त्रबाट वडाअध्यक्षमा उम्मेदवारी दिएका सुन्दर ओलीका समर्थकबीच गए राति झडप भएको ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद सोतीले बताए । घाइतेमध्ये ३ जनाको थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य ३ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
बैतडीमा गठबन्धनका उम्मेदवार माथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्ता पक्राउ
बैतडीमा गठबन्धनबाट वडा सदस्यका उम्मेदवार माथि खुकुरी प्रहार गर्ने एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलाशैनीका २८ वर्षीय अजित साउँद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्य पदका उम्मेदवार ५५ वर्षका हरिराम साउँदमाथि गएराति खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारमा समूहको संलग्नता रहेको भन्दै पीडितले नाम दिएको आधारमा पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको छ ।
मुस्लिम समुदायले ईद उल फित्र पर्व मनायो
देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज ईद उल फित्र पर्व मनाइएको हो । यस दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।
अक्षय तृतीया पर्व आज सातु र सर्वत खाएर मनाइयो
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत खाएर मनाइएको छ । आज शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने परम्परा रहेको छ ।जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने परम्परा रहेको छ । गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने विश्वास गरिन्छ ।
माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक
शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले गत चैत १५ गते लिएको माध्यामिक तह शिक्षक पदको सामान्य परीक्षा नतिजा आज सार्वजनिक गरेको हो । सो पदका लागि १ हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ३२ हजार ९७ जना सहभागीमध्ये ३ हजार ८८६ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ४ पीसीआर परीक्षणका क्रममा २९ जना र १ हजार ५ सय ९० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ९७ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इलाममा एक जना मृत अवस्थामा फेला
इलाममा एक जना मृत अवस्थामा फेला परेका छन् । माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यता सुनसरीमा एक जना मृत अवस्थामा फेला परेका छन् । सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया आज मृत अवस्थामा फेला परेका छन् । ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय ग्राम सुनसहित एक जना यात्रु पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटएक सय ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् ।कुवेतबाट जजिरा एअरमा आज बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकार ल्याइएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया