देउवासँग बार्गेनिङ गर्दै प्रचण्डको भित्री सत्ता स्वार्थ « Khabarhub

देउवासँग बार्गेनिङ गर्दै प्रचण्डको भित्री सत्ता स्वार्थ

पूर्व माओवादी नेताहरुको एकता प्रचण्डको भाषण मात्रै बन्ने चिन्ता !


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राजनीतिका एक अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय फेरि सबैको चासोको विषय बनेका छन् । संसदीय चुनाव नजिकिनै लागेका बेला प्रचण्डका अत्यास लाग्दा अभिव्यक्तिले पनि उनीप्रति चासो बढेको हो । चुनावमा आफ्नो स्पष्ट स्वार्थसहित सत्ता सुनिश्चित गर्ने प्रचण्डको बानी यस पटक पनि दोहोरिएको छ ।

जस कारण उनी क्रमशः कांग्रेस र एमालेसँग भित्री बार्गेनिङमा छन् । उनले त्यो बार्गेनिङ पार्टीबाहिर मात्रै होइन, पार्टीभित्रैका नेताहरूसँग पनि गरिरहेका छन् । कहिले उनले एमालेमा आफूले बीउ रोपेर आएको बताउँछन् त कहिले पूर्व माओवादी नेताहरू फेरि एक ठाउँमा आएर ठूलो शक्ति बनाउनुपर्ने बताउँछन् ।

प्रचण्डले बुधबार नेत्रविक्रम चन्द ‘विप्लव’ का नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । नेपाल कम्युनिष्ट पार्टी छाडेका ओमप्रकाश पुनसहितका पूर्व माओवादी नेताहरूलाई प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । पुनलाई पार्टी प्रवेश गराउँदा प्रचण्डले विगतमा भएका सबै तितो मिठो बिर्सेर अब सबै माओवादी एक हुनुको विकल्प नभएको पनि बताए ।

प्रचण्डका पछिल्ला गतिविधि र अभिव्यक्ति हेर्ने हो भने निरन्तर माओवादी एकतामा उनको जोडबल छ । त्यसअघि उनले वैद्य पक्षका नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, विप्लवको जुम्ला जिल्ला कमिटी, सिन्धुलीका पुराना नेता दीर्घ श्रेष्ठ पुन, नेकपाका केन्द्रीय सदस्य हेमराज भट्टराई लगायतलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।

वैद्य, हेमन्त वली लगायत सबै नेतालाई पार्टीमा आउन आह्वान गरेका प्रचण्डले बिहीबार जनता समाजवादी पार्टीबाट बाहिरिने अवस्थामा पुगेका बाबुराम भट्टराईलाई पनि उपराष्ट्रपति निवासमा भेटेका छन्। माओवादीबाट छुट्टिएदेखि बाबुरामको राजनीतिक दौडधुप ३६० डिग्रीमा पुगे पनि उनको क्षमता र त्यो अनुसारको उपलब्धि देखिँदैन । बरु उनी अरू पार्टीकै नेताहरूबाट पटक पटक अपमानित हुनुपरेको छ ।

यो हालत बाबुराम मात्रै होइन, पूर्व माओवादीका अरू नेताहरूको हकमा पनि लागू हुन्छ । वैद्य लगभग राजनीतिक जीवनकै उत्तरार्धमामा छन् । एमालेमा रहेका बादललगायत माओवादी नेताहरूको हालत पनि फरक छैन । हालै विप्लव र प्रकाण्डको पार्टी पनि फुट्यो । अनि प्रचण्ड स्वयम पनि आफ्नो सत्ता महत्वाकांक्षा जोगाइराख्न तिरस्कार खेपेर पनि कहिले एमाले कहिले कांग्रेससँग कुम जोड्नुपर्ने बाध्यतामा छन् ।

यसरी प्रचण्ड अहिले तीव्र रूपमा माओवादी ध्रुवीकरणमा लाग्नुका पछाडि दुई तिन कारण पनि जिम्मेवार छन् । जनयुद्धले स्थापित गरेका एजेण्डामा कमजोर बनेर निरन्तर ओरालो यात्रामा रहेको माओवादी राष्ट्रिय राजनीतिमा अहिले तेस्रो शक्तिको रूपमा छ । २०७४ सालको आम निर्वाचनमा संघीय सांसदको २७५ प्रतिनिधि सभा सदस्यमा ४९ र राष्ट्रिय सभा सदस्यको ५९ सिटमध्ये १५ सिट ल्याएर तेस्रो शक्ति बनेको माओवादीले प्रदेशका कुल ५५० मध्ये कुल १०० सिट र स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये ११४ सिट जितेर तेस्रो शक्ति भएको थियो ।

नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेको माओवादीले यस पटक भने स्थानीय तहमा सिट संख्या बढायो । गत वैशाखमा सम्पन्न दोस्रो कार्यकालको स्थानीय तहका ७५३ सिटमध्ये १२१ सिट जितेर तेस्रो दल बन्न सफल भयो माओवादी केन्द्र । यो २०७४ को सिट संख्याभन्दा ६ सिटले बढी हो । त्यसैले यस पटक माओवादी थप उत्साहित छ । प्रचण्ड लगायतका नेताहरू उत्साहित छन् ।

यही उत्साह देखेर माओवादीमा जनाधार भएको देखाएर पनि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा जतिसक्दो धेरै सिट आफ्नो पक्षमा पार्न चाहन्छन् । २०७४ को चुनावमा झैँ सिट यथावत् राखेर आगामी प्रतिनिधि र प्रदेश सभामा एमालेले जितेका क्षेत्रबाट थप केही सिट आफ्नो पक्षमा पार्न प्रचण्ड लागिपरेका छन् । उसो त स्थानीय तहको निर्वाचनमा आफूहरूलाई कांग्रेसले हेपेको उनले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

नेपाली काँग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलसँग गठबन्धन गरेको माओवादी अब पार्टीको आकार बढाउन पहिले आफ्नै पार्टीभित्रबाट टुक्रिएका नेताहरूलाई एकताबद्ध गर्ने, त्यसपछि अरू कम्युनिष्ट र प्रगतिवादी मोर्चालाई समेट्ने अनि बिस्तारै अरू पार्टीका नेता कार्यकर्तालाई पार्टीभित्र प्रवेश गराउने रणनीतिमा छ । यस कारण प्रचण्डको देश दौडाहा चलिरहेको देख्न सकिन्छ ।

प्रतिनिधि सभाका २७५ सिटमध्ये अबको चुनावमा ४० प्रतिशत सिट माओवादी, समाजवादी र अन्य दललाई दिन र ६० प्रतिशत आफ्नो पक्षमा पार्न भन्दै काँग्रेस भित्रका प्रभावशाली नेताहरूले सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । यो नभएमा गठबन्धनको औचित्य नै नहुने कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताको भनाइ बाहिर आइरहेको छ ।

यता कांग्रेसमा सभापति देउवासँग चिढिएका शेखर कोइराला समुहले त पार्टीको आफ्नै हैसियत रहेको हुनाले गठबन्धन नगरेरै धेरै सिट ल्याउन सकिने बताउँदै सत्तारुढ दलको प्रमुख घटकका सभापति देउवालाई अप्ठ्यारोमा परिरहेका छन् । यस्तो अवस्थामा गुज्रेको कांग्रेस भित्र खेल्न प्रचण्डलाई अहिले सजिलो पनि छ । माओवादी एकतामा जोड दिएका धेरैको बुझाई छ ।

सत्तामा रहेर आफूहरूको अपमान हुने गरी घमण्ड साँधे काँग्रेसलाई पनि एमालेको साइजमा ल्याउने चेतावनी दिइरहेका प्रचण्डको अभिव्यक्तिपछि कांग्रेस सभापति देउवा पनि भएमा छन् । एकीकृत समाजवादीले पनि देउवालाई यसै गरी दबाब दिइरहेका छन् । सिट बार्गेनिङमा । सम्मानित नेता झलनाथ खनालले पटक पटक देउवालाई घमण्डी नबन चेतावनी समेत दिइसकेका छन् । यस्तो अवस्थामा देउवा प्रचण्डसँग चिढिन चाहँदैनन् ।

राजनीतिमा असम्भव भन्ने हुँदैन । यदि यस्तो राजनैतिक फेरबदल भइहाल्यो भने जीवन कालको छैटौँ पटक प्रधानमन्त्री बन्ने देउवाको सपना चकनाचुर हुने छ । त्यसैले पार्टीमाथि दबाब कायम गरेरै भए पनि माओवादीले भने जति या केही तलमाथि हुने गरी सिट दिने पक्षमा देउवा छन् । आफ्नो बार्गेनिङ पुरा नभएमा अस्थिर स्वभावका प्रचण्ड रातारात एमालेमा गएर चुनावी एकता गर्छन् कि भन्ने डर प्रधानमन्त्री देउवामा छ ।

माओवादी घटकलाई एक बनाउने र जनयुद्धको बलले ल्याएका परिवर्तन संस्थागत गर्ने माओवादीको प्रमुख जोड भए पनि उसको प्रमुख रणनीति भनेकै मंसिरमा हुने निर्वाचनमा सिट संख्या बढाउनु हो । जसरी पनि सिट संख्या बढाएर प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्न चाहन्छन् । एक कार्यक्रममा उनले फेरि एक पटक प्रधानमन्त्री भएर मुलुकलाई नयाँ दिशामा लैजाने चाहना रहेको बताइसकेका छन् ।

एमाले र कांग्रेससँगको चुनावी एकताविना माओवादी आगामी निर्वाचनमा तेस्रोबाट चौथोमा नझर्ला भन्न सकिन्न । २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादी नेपाली राष्ट्रिय राजनीतिमा त्यसपछि कमजोर बन्दै गइरहेको छ । यसको प्रमुख कारणमा माओवादी टुटफुट पहिलो कारण हो भने दोस्रोमा नेताहरूको सत्तालोलुप प्रवृत्ति हो ।

जनयुद्धको जगमा स्थापित भएको माओवादीले जनजीविकाको पक्षमा काम गर्ला ? गरिब भोका र नाङ्गाहरूको सामाजिक र आर्थिक जीवनमा परिवर्तन ल्याउन नीतिहरू बनाउन लाग्ला भन्ने आशा थियो । तर नेताको सत्ता मोहको कारण माओवादीले यी जनताका आशामाथि तुषारापात भयो । त्यसपछि २०७० र २०७४ सालको निर्वाचनमा जनताले माओवादीलाई तेस्रो शक्तिमा सीमित गरिदिएका छन् । त्यसपछि प्रचण्ड कहिले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेर बहादुर देउवासामु सत्ताको हात जोड्न लागिपरेका दृश्य प्रशस्त छन् ।

गणतन्त्रको पहिलो प्रधानमन्त्री प्रचण्ड जहिले पनि सत्ताको केन्द्रमै रहेका छन् । उनैको कारण स्वर्गीय सुशील कोइराला र माधव नेपालबाहेक गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी शर्मा ओली र शेरबहादुर देउवा प्रधानमन्त्री बने । आफै दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । केन्द्रमा उनी कम शक्तिशाली रहेनन्, भलै तेस्रो दल भए पनि ।

मुलुकको राजनीति हिजोको जस्तो छैन । अहिले केही नयाँ अनुहारहरू पनि नयाँ ढङ्गबाट उदाएका छन् । यसले इतिहास बोकेका शीर्ष नेता तनावमा छन् । स्वतन्त्रहरूको लहर पनि अहिले प्रचण्ड लगायतका नेतालाई टाउको दुखाइको विषय बनेको छ ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । राप्रपाको पनि प्रभाव बिस्तारै बढ्दै गएको छ । शीर्ष नेताहरूकै सत्तालोलुप प्रवृत्तिले उनीहरूप्रतिको वितृष्णा बढेको हो । यस्तो अवस्थामा प्रचण्डले पूर्व माओवादी घटकलाई एक बनाउने विकल्पमाथि खुल्ला आह्वान गरेका देखिन्छन् ।

तर यो कसरतले पनि प्रचण्डको योजना सजिलै सफल हुने देखिँदैन । सानो सुधारले पनि माओवादीप्रति ठूलो विश्वास रहन सक्दैन । गणतन्त्र, धर्म निरपेक्षता, समानुपाती प्रणाली, समावेशिता माओवादीकै कारण हासिल भएका एजेण्डा हुन् । त्यही एजेण्डामा आज मुलुक चलेको छ । तर माओवादी नेताहरू जनताबाट भन्दा बढी चुनाव, सत्ता, स्वार्थ र व्यक्तिगत विलासिताबाट चलिरहेका छन् ।

सोही कारण माओवादीको कमजोरी क्रमिक रूपमा गहिरिँदै छ । यसको विकल्प भनेको अब माओवादी नेताहरू सुध्रिएर जनतासँग माफी माग्दै फेरि सत्तामा बलियो भएर फर्किने हो । तर यसका लागि पहिलो सर्त नै पूर्व माओवादी नेताहरूको एकता हो । तर यो एकता केवल प्रचण्डको राजनीतिक भाषण मात्रै रहन्छ कि भन्ने चिन्ता माओवादीकै नेता कार्यकर्तामा छ । जुन बारम्बार दोहोरिएकै छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : २६ बजे

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण

गलकोट – बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा

तरकारी र फलफूलको आजको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आजदेखि सिंहदरबारमा मेलम्चीको पानी चौबिसै घण्टा 

काठमाडौँ – सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण

६० वर्ष कटेपछि ‘ब्रेन ह्यामरेज’को समस्या बढी

अहिलेसम्म रक्तस्राव भनेर यो उमेर पुगेका वृद्धवृद्धामा हुन्छ भन्ने थियो।

साफ महिलाको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप