कथा: बिर्सिएको प्रेम « Khabarhub

कथा: बिर्सिएको प्रेम



चुरोटको दुईटा खिल्ली तानिसक्दा मैले केही अनुच्छेद कथा लेखिसकेको थिएँ । कथाको पहिलो शब्दमै उनको प्रवेश भएको थियो, जो हालै मात्र मेरो जिन्दगीबाट स्वतःस्फूर्त बाहिरिएकी थिइन् ।

ब्रह्माण्डमा सन्नाटा छाएको थियो । छेउछाउका टेबुलमा लस्करै बसेका कफी पसलका ग्राहकहरु आफ्नै धाउन्नमा कुराकानी गरिरहेका थिए । म भने उनको कल्पनामा रुमल्लिएर एउटा कथा लेख्न बसेको थिएँ । कथा पूरा हुनेछ या हुन्न, अहिले नै भन्न सकिने अवस्था छैन ।

म बसेको टेबुल पूर्ण रुपमा एक्लो छ । चारवटा चियर राखेर घेराबन्दी गरिएको ठाउँमा म मात्र बसिरहेको छु । एउटामा मैले ल्यापटप ब्याग राखेको छु । एउटा चियरमा नीलो हेल्मेट र बाइकको चाँबी राखेको छु । मेरो अगाडि जम्मा एउटा एस्ट्रे र दुईटा चुरोटका ठुटा छन् ।

यत्तिकैमा कोही अपरिचित आएर मेरो अगाडि बस्छ । र, सीधै सोध्छ– के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ?

मैले उसलाई पुलुक्क हेरेँ । कतै देखेजस्तो लाग्ने उक्त युवक को हो भनेर मैले भेउ पाउनै सकिनँ ।

‘कतिपटक पर्नुभएको छ ? एकपटक ? दुईपटक ? या पटकपटक ?,’ उसले मलाई फेरि प्रश्न राख्यो । र, निकै अल्छीपूर्ण मुस्कान मुस्कुरायो ।

उसले बरु कफी पिउने कि नपिउने भनेर सोध्नुपर्ने हो । या त सीधै एक कप हट कफी ल्याएर टक्र्याउनुपर्ने हो । तर, ऊ विना कुनै योजना मलाई आएर प्रेमबारे सोधिरहेछ ।

शायद ऊ पनि एक्लो महसूस पो गरिरहेको थियो कि?

केहीबेरसम्म एकटकले मलाई हेरेपछि एउटा चियर तानेर बस्यो । मैले अझै उसलाई एक शब्द पनि फर्काउन भ्याएको थिइनँ ।

‘यदि तपाईंलाई प्रेमबारे थाहै छैन भने मेरो कुरा सुन्नुहोस् । यदि थाहा छ भने हामी एकअर्काको प्रेम र महसूसबारे बातचित गर्दा राम्रै होला,’ उसले फेरि भन्यो ।

त्यसपछि उसले काउन्टरतिर फर्केर अलिक रुखो आवाजमा बोल्यो– दुईटा कफी पठाइदेऊ त बहिनी ।

काउन्टरमा एउटी राम्री युवती पैसाको हिसाब लगाउँदै थिई । उसले ओठमा एक सर्को मुस्कान ल्याई र मुन्टो हल्लाएर ‘हवस्’ को संकेत गरी ।

‘तपाईंको नाम अर्घेलो थापा होइन ? यो नाम त आफैँमा विवादित छ त ? ए साँच्ची तपाईं त एउटा मामुली कथाकार हो । जसको यो इतिहासमा कुनै औचित्य नै छैन,’ उसले एकोहोरो बोलिरहेको थियो । म रनभुल्ल परिरहेको थिएँ ।

‘हो, मेरो नाम अर्घेलो थापा हो, यही नै मेरो नाम हो,’ अघिदेखि उसलाई नै हेरिरहेको मैले बल्ल जवाफ फर्काएँ ।

काउन्टरमा एउटी राम्री युवती पैसाको हिसाब लगाउँदै थिई । उसले ओठमा एक सर्को मुस्कान ल्याई र मुन्टो हल्लाएर ‘हवस्’ को संकेत गरी ।

उसले मलाई चिनेझैं गरिरहेको छ । तर, यतिखेरसम्म मेरो सामुन्ने बसेर कडा ब्ल्याक कफी र सूर्य लाइट चुरोट पिउने उसका बारेमा मलाई अलिकति पनि थाहा छैन । मैले यसअघि उसलाई कहिल्यै देखेको पनि थिइनँ ।

उसले अगाडि थप्यो– तपाईं मामुली कथाकारलाई मेरो बारेमा थाहा हुने कुरा पनि हुँदैन, बाइ दि वे मेरो नाम पनि अर्घेलो थापा नै हो ।

मलाई यसअघि लागेको थियो, अर्घेलो थापा भन्ने म मात्र हुँ । तर, आज एउटा नयाँ पात्रले पनि आफ्नो नाम अर्घेलो थापा हुँ भन्दै दाबी गरिरहेको छ ।

यतिबेला म रनभुल्ल छु । म पूरै कन्फ्युज छु । किनकि, कोही नयाँ पात्रले मसँग मेरै नामको दाबी गर्दै मैसँग अन्तर्क्रिया गरिरहेछ । राजनीतिमा यस्तो दाबी भइरहन्छ । मेरो जीवनमा पहिलोपटक संयोग परेको थियो ।

‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ?,’ उसले बारम्बार यही प्रश्न सोध्ने गरेको छ ।

‘छैन । किन ?,’ मैले अलिक रुखो बोलीमा भनेँ ।

‘मलाई उसको कुनै शैली पनि मन परिरहेको थिएन । कहिलेकाहीँ म सविन राईका गीतहरु सुन्दा मायामा परेको महसूस गर्थें । आजभोलि अरजित सिंहले पनि मलाई यस्तै फिल दिइरहेका छन् । मायाको महसूस गर्न कोही चाहिन्छ नै भन्ने पनि त छैन नि ।’

‘तपाईं झुट बोल्दै हुनुहुन्छ । तपाईं कम्तीमा एकपटक प्रेममा हुनुहुन्थ्यो, जसले तपाईंलाई भर्खरै भएभरका सामाजिक सञ्जालमा ब्लक गरेकी छे, तपाईं चाहेर पनि ऊसँग कुरा गर्न सक्नुहुन्न,’ ऊ बोल्छ ।

मलाई एक्कासी हाँसो लाग्यो । अघिसम्म मेरो मुड खराब थियो ।

म यतिबेला बौद्ध स्तुपामा छु । भर्खरै मान्छेहरुको बाक्लो चहलपहल छिचोलेर अलिक भित्रपट्टिको एउटा क्याफेमा म एउटा ब्ल्याक कफी अर्डर गरेर बसेको छु । रुखका पातहरु हल्लिरहेका छन् । स्तुपा सिँगारिएका पतकालाई हावाले बिस्तारै स्पर्श गरिरहेको छ । यस्तो बेलामा यो मान्छे कहाँबाट आयो भन्ने मैले हेक्का पाउन सकेको छैन । यसै पनि यो क्याफेमा चिया र कफी पिउन आउनेहरुले सानोतिनो भीड बनाएकै छन् ।

को कहाँबाट आयो भनेर यकिनसाथ भन्न सकिने कुरा पनि भएन ।

क्याफेमा निके मधुरो स्वरमा ब्रायन एडम्सको ‘ह्याभ यु इभर रियल्ली लभ्ड अ वुमन’ ले रोमान्टिक मुद्रा थपिदिएको थियो । यत्तिकैमा कसैले त्यो गीतको सट्टा एउटा पुरानो इरानी गीत प्ले गरिदियो । मलाई लाग्छ, यो गीत कसैले बुझिरहेका छैनन् । तर, सुनिरहेका छन् ।

जब, कुनै गीत बुझिँदैन, त्यो गीतको आ–आफ्नै अर्थ निकालिन्छ । क्याफेमा बजिरहेको त्यो इरानी गीतको पनि मैले यस्तै नयाँ अर्थ लगाएको थिएँ । मेरो बुझाइमा त्यो एक विरक्त गीत थियो । जुन गीत विछोडका भावनाहरुले ओतप्रोत थियो ।

नयाँ वर्ष बितेको केही दिन । चार महिनापछि उसले मलाई अनब्लक गरेर चौबीस घण्टा नहुँदै  फेरि ब्लक गरेकी थिई । ब्लक भनेको सामाजिक सञ्जालमा सन्देश आदानप्रदान गर्न नमिल्ने बनाउनु हो । कालान्तरमा यसको अर्थ फेरिन पनि सक्छ । त्यो पात्रले मसँग कुरा गर्न खोजिरहेको थियो, म एकान्त खोजिरहेको थिएँ ।

‘अर्घेलो जी, के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ ?,’ उसले फेरि मलाई उही प्रश्न सोध्यो ।

म फेरि पनि मौन नै रहेँ । मौन भन्ने कि, उसको कुरा सुन्न आतुर थिएँ भन्ने । जे होस्, म बोलिनँ । मैले उसको आवाजलाई ब्लक गरिनँ ।

‘प्रेमको महसूस गर्नुभएको छ?,’ ऊ जान्न चाहन्थ्यो, के म कहिल्यै प्रेममा परेको थिएँ ?

‘ब्रो तपाईं किन यसरी प्रस्तुत भइराख्नुभा’छ, मैले बुझेको छैन, तर जीवनमा हरेक मान्छे कुनै न कुनै बेला प्रेममा पर्छ, यो प्रश्न सोध्नुको कुनै तुक छ र ?,’ मैले झ्याउलाग्दो उत्तर दिएँ ।

कताकता मजस्तै देखिने त्यो व्यक्तिले मलाई एकछिनसम्म टोलाएर हेरिरह्यो । त्यसपछि बोल्यो ।

‘हाहा । तपाईं त मामुली कथाकार भनेको त व्यवहारमा पनि तोरी नै रहेछ नि ! तर, म ग्यारेन्टी दिन्छु, मैले तपाईंलाई होच्याएर बोल्दा रिस उठ्ने छैन ।’

मेरो अर्डरको कफी आइपुगेको थियो । मैले आँखामा हेरेर उसलाई सुन्न खोजिरहेको थिएँ । उसले मेरो अर्डरको कफी देब्रे हातले उठायो र भन्यो– ठीकै छ, तपाईं मेरो कुरा सुन्नुहोस् । कफी फेरि पनि अर्डर गरौँला ।

‘एउटा प्रेममा परेर पनि किन भावुक भइरहेको त अर्घेलो जी ? कुन से प्रेम एकपटक मात्र हुने हो र ? फिलिङ्स त उही हो नि, पात्र फेरिने पो हो त,’ उसले चुरोट सल्काउँदै बोल्यो ।

चुरोटको धुवाँ स–सना धर्सा बनेर अन्तरिक्षतिर उक्लियो । उसले आफ्नो कुरा मतर्फ पठायो ।

म पनि एकपटक प्रेममा परेको थिएँ डियर अर्घेलो । त्यो प्रेम छुटेपछि लागेको थियो, प्रेम भन्नु भ्रम रहेछ । तर पछि एउटा सुन्दरीले मलाई प्रेम बुझाउन थाली । शायद मैले नै धेरै बुझेँ क्यार, ऊ फेरि टाढिई ।

‘भन्नाले ?,’ मलाई चासो लागेर सोधिहालेँ ।

उसले मलाई पहिलो दिन प्रेम के हो भनेर सोधेकी थिई । मैले यो सबै भ्रम हो भनिदिएको थिएँ । अरे यार, मलाई त्यतिबेला त्यही लागिरहेको थियो त ।

‘म बिस्तारै उसको प्रेममा परेछु नि अर्घेलो जी,’ उसले सुनायो ।

यस्तो लाग्थ्यो, उसले मलाई छोटो समयमै धेरै कुरा सुनाउन खोजिरहेको छ । उसले दोस्रोपटक आफू प्रेममा फसेको कथा सुनायो । बिस्तारै ऊ सुन्दर युवतीसँग प्रेममा फस्यो । ती सुन्दर युवतीले प्रेमका बारेमा धेरै कुरा गरिनन् । तर, उनले व्यवहारमा माया दर्शाइन् ।

‘फरक यही भयो, मैले शब्दमा उनीप्रति माया दर्शाएँ । उनले मलाई व्यवहारमा माया दर्शाइन्,’ ऊ यतिखेर केही नोस्टाल्जिक देखियो ।

‘त्यसो भए तपाईं कुराले मात्र ठिक्क पार्नुभयो । व्यवहारमा प्रस्तुत हुनुभएन ?’

होइन, प्रेम त पटकपटक हुन्छ । कहिलेकाहीँ उही मान्छेसँग पनि पटकपटक प्रेम हुनसक्छ । प्रेम भन्नु आखिरमा चुम्बकजस्तै त हो । यदि चुम्बक एउटा चुम्बकबाट छुट्टियो भने ऊ अर्को चुम्बकतर्फ आकर्षित हुनसक्छ ।

‘हो । म फिटिक्कै भइनँ । म कस्तो अपरिपक्व रहेछु । जबकि, म त एकपटक प्रेममा परिसकेको थिएँ ।’

मेरो मुखबाट एक्कासी भद्दा हाँसो निस्कियो । ऊ अवाक् भयो । हाम्राअगाडि दुईवटा रित्तिएका कफीका कप थिए । इरानी गीत फेरिएर कुनै भोजपुरी गीत बजिरहेको थियो । तर, मेरो ध्यान यतिबेला गीतमा गएको थिएन । उसले पुलुक्क मेरो आँखामा हे¥यो । यसअघि रित्ता गिलासमा हेरिरहेको थियो ।

‘तपाईंको पहिलो प्रेम छुटेको भन्नुभएको होइन ? अनि व्यवहारमा परिसकेको केटाले त आफूलाई माया गर्ने सुन्दरीलाई ट्रिट गर्न जान्नुपर्ने हो नि ?,’ मैले उसका आँखामा आँखा जुधाएर सोधेँ ।

‘म त्यहीँनिर चुकेँ । उसलाई मैले गुमाउनु नै थिएन ।,’ उसले भन्यो ।

हुन त उसले शुरुमै मलाई मामुली कथाकार भनेको थियो । तर, मैले जोडेँ – मैले यस्तै विषयमा ‘दूरी’ शीर्षकमा एउटा कथा लेखेको थिएँ । तपाईंकै कथा परेछ कि के हो ?

उसले हाँस्दै भन्यो, ‘हो, त्यो कथा मैले पढेको छु ।’

‘के तपाईंले शंकाको नजरले हेर्नुभएको थियो र?’

‘होइन । तर म उनीसँग धेरैभन्दा धेरै समय बिताउन चाहन्थेँ ।’

‘अहो, तपाईं त अजिबको मान्छे ।,’ मैले दुःख व्यक्त गरेँ ।

‘उनी आफ्नो बाटो लागेपछि बल्ल मैले उनले गरेको मायाको महसूस गरेँ । उनले त मलाई धेरै माया गर्ने रहेछिन्,’ उसले साह्रै दुःखी मुस्कान मतर्फ फ्याँक्यो ।

‘किन छुट्यो त?’ मैले उत्सुक हुँदै सोधेँ ।

‘तपाईंले लेख्नुभएको कथा थियो नि, दूरी । हो त्यस्तै छ हाम्रो कथा । हामी पहिले नै छुट्ने प्रण गरेर प्रेम गरेका थियौं ।’

मलाई उसको कुरा सुन्न रमाइलो लागिरहेको थियो ।

उसले एउटा सूर्य लाइट चुरोट निकाल्यो । र, सल्कायो । मैले उसको चुरोट तान्ने स्टाइल हेरिरहेँ ।

‘उनले मलाई आफ्ना समस्याहरु सुनाउँथिन् । मलाई हाँसो लाग्थ्यो । यस्तो बेलामा समस्या बढ्छ कि घट्छ ?,’ उसले सोध्यो ।

‘तपाईंलाई कसरी हाँसो लाग्न सक्छ ? जबकि, तपाईंकै गर्लफ्रेण्ड समस्यामा छ र तपाईं उसैका सामुन्ने हाँसिदिनुहुन्छ । यो त अपमान गरेजस्तो भयो नि,’ मैले सोधेँ ।

मैले सोध्न त उसलाई सोधेँ । तर, उसको र मेरो छोटो वार्तालापले एउटा किस्सा सम्झायो ।

***

मेरो कथा धेरै पुरानो होइन । खासमा मैले शुरुमा लेख्न खोजिरहेको कथा मेरो अन्तिम एक्स गर्लफ्रेण्डको कथा थियो । उसलाई मैले निकै माया गर्थेँ । त्यति माया मैले अरु एक्स लभरहरुलाई गरेँ हुँला भन्नेजस्तो लाग्दैन । शायद, समानान्तर समयमा त्यतिबेला पनि ती एक्सहरुलाई मैले सबैभन्दा बढी माया गर्थेँ भन्ने भ्रम थियो होला ।

मेरो सामुन्ने भएको मजस्तो मान्छेले मलाई केही प्रश्नहरु त सोध्यो । ती प्रश्नहरुका उत्तरलाई मैले मनको गहिरो भावनात्मक खाडलमा खोतल्ने प्रयास गरिरहेको थिएँ ।

प्रेम एकपटक मात्र हुन्थ्यो भने म पटकपटक किन प्रेममा परेको थिएँ ? यदि प्रेम पटकपटक हुन्छ भने मायाका नाममा प्रेमिल जोडीहरुले आफ्नो जीवन किन समर्पण गर्छन् ?

मैले मेरो सामुन्ने भएको मजस्तो युवकलाई दिन बल्ल उत्तर जुटाएको थिएँ । मैले एकपटक ल्यापटममा आँखा पुर्‍याएँ । जहाँ मैले कथाको पहिलो अनुच्छेद लेखिसकेको थिएँ । मैले ल्यापटपकै स्क्रिनमा हेरेर उसलाई भनेँ–

‘होइन, प्रेम त पटकपटक हुन्छ । कहिलेकाहीँ उही मान्छेसँग पनि पटकपटक प्रेम हुनसक्छ । प्रेम भन्नु आखिरमा चुम्बकजस्तै त हो । यदि चुम्बक एउटा चुम्बकबाट छुट्टियो भने ऊ अर्को चुम्बकतर्फ आकर्षित हुनसक्छ,’ मैले मेरो कथामा यति थपेँ ।

त्यसपछि उसलाई पुलुक्क हेरेँ । तर, ऊ त्यहाँबाट हिँडिसकेको थियो । ऊ को हो, किन आयो र किन गयो भन्ने प्रश्नहरू मनमा थिए । ऊ भने त्यहाँ थिएन ।

रित्ता कपहरु जस्ताको तस्तै थिए । यतिबेला क्याफेको वातावरण आर्यघाटको जस्तो शान्त थियो ।

मैले एकपटक ल्यापटपमा फेसबूक खोलेँ । फेसबूकमा उनलाई सर्च गरेँ । प्रोफाइल भेटिएन । मतलब म अझै ब्लक लिस्टमै थिएँ ।

एउटा कफी र चुरोट मगाएँ । त्यसपछि कथा लेख्न थालेँ । केही अनुच्छेदपछि कथामा थपेँ– ‘उसलाई प्रेम भ्रम हो भन्ने लाग्थ्यो । पछि प्रेम वास्तविक रहेछ कि भन्ने लाग्न थाल्यो । अहिले त ऊ प्रेमको कुनै अस्तित्व नै छैन । यो एउटा कल्पना मात्रै हो भन्ने निष्कर्षमा पुगेको छ । उसको निष्कर्ष बिल्कुल विरोधाभासपूर्ण छ ।’

उसको निष्कर्षमा त विरोधाभास छ तर उनको मेरो दूरी झनै बढ्दै गएको छ । त्यो शाश्वत छ । उसले मैले बिर्सिएको प्रेम सम्झाएर गएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ११ : ४७ बजे

भेडाच्याङ्ग्राको गोठ सार्दै पशुपालक किसान

मनाङ– “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित

काठमाडौँ – सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न

गुजरातमा भाजपाले आफ्नै रेकर्ड तोड्दै, हिमाचलमा कडा प्रतिस्पर्धा

एजेन्सी – भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान

पार्टीभित्रको खबरदारी स्वाभाविक : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

बिहे भोजमा प्रयोग भएको पानीमा हैजाको जीवाणु

तानसेन – पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित