प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा | Khabarhub Khabarhub

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बझाङ– गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे । चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा जानुभयो । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरू पूरै भिजेर हिलाम्य भएका थिए । ओछ्यान र भुइँ पनि उस्तै । ‘बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो’, प्रहरी सहायक निरीक्षक पालले भने, ‘दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन । कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।’

प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । ‘प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ’, उनले भने , ‘बाध्यताले बस्नै पर्छ ।’

देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै । धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।

विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् । चौबिसे घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट लामखुट्टेको घर जस्तै देखिन्छ । वल्लोपल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन । डिउटीमा बसेका एक प्रहरी जवानले भने, ‘पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ । बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन् ।’ 

उनले सडक छेउमा सवारी जाँजका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताए । ‘गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ । दिनमा दर्जनौँ सवारी जाँच गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्’, उनले भने । अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ । पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ । ‘पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ,’ उनले भने, ‘डिउटी त गर्नुपर्‍यो ।’ 

छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो । शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो । अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ ।

बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । ‘जिल्ला प्रहरी कार्यालय, बुङ्गल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्’, उनले भने, ‘प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ । ‘उनका अनुसार प्रहरी चौकी बस्न कम्तिमा पाँच रोपनी जमिन चाहिन्छ ।

‘प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा’, उनले भने, ‘हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ । जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौ ।’ उनले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ६ : ४७ बजे

मधेशमा कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश

बाराबाट राजश्व छलीको ४३ लाखको सामानसहित ट्रक नियन्त्रण

बारा– जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा

१२ वर्षसम्म पनि अलपत्र राजधानीकै तीनकुने र टेकुको पुल

काठमाडौं– एकै समयमा निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन