दाङ– प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकारिता आचारसंहिता प्रकाशित गरेको छ ।
प्रेस काउन्सिल नेपालले आज दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीको गरी पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले डोटेली र भोजपुरीमा पनि आचारसंहिता बनाएको बताए ।
यसअघि काउन्सिलले नेपाली, मैथिली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ ।
त्यस अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरूले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागू गर्न चुनौती देखिएको बताए ।
थारुमा लेखपढमा अभ्यास नहुँदा पनि प्रयोगमा आउन नसकेको उनकाे भनाइ थियाे ।
उनले उपमहानगरपालिकाले थारु भाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्रदेखि ऐच्छिक रूपमा पठनपाठनमा ल्याउने तयारी रहेको बताए ।
पत्रकारिता क्षेत्र समाजको ऐना भएको भन्दै उनले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृति हस्तान्तरण हुँदै जानुपर्ने भए पनि लोप हुँदै जान थालेको देखिएको बताए ।
बाह्य संस्कृतिको अनुसरण गर्नुले पनि भाषा र संस्कृतिमा चुनौती थपिएको उनकाे भनाइ छ ।
महासङ्घलाई आचारसंहिता बोर्ड
प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड प्रदान गरेको छ ।
काउन्सिलले आज पत्रकार महासङ्घ दाङ शाखालाई पत्रकार आचारसंहिता बोर्ड र काउन्सिलले प्रकाशन गरेको पुस्तक प्रदान गरेको हो ।
काउन्सिलका अध्यक्ष बस्नेतले नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष सन्तोष सुवेदी र सचिव आरके शीतललाई पत्रकार र सञ्चारमाध्यमले देहायअनुसार कार्य गर्नु हुँदैन लेखिएको बोर्ड र पत्रकार आचारसंहिता, संहिता र शैली पुस्तक प्रदान गरेका थिए ।
प्रतिक्रिया