काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ ।
सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशि ५१ हजार रहेको छ ।
टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ गते ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई पुरस्कार हस्तान्तरण गर्दै परिवारलाई राहत तथा सहयोगका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घ/सङ्गठनले विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।
श्रमजीवी–पत्रकार सङ्घ नेपालले घटनाका दोषीउपर छानबिनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ ।
२६ वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए ।
प्रतिक्रिया