आज जेठ २१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
युक्रेनी सेनाद्वारा सेभेरोदोनेत्स्क शहर पुनः कब्जा
रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीशहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच युक्रेनी सेनाले सहरको केही भाग आफ्नो कब्जामा लिन सफल भएको हो ।
आफ्ना सेनाले आक्रमणकारी रुसी फौजलाई पछाडि धकेलेको गभर्रनरले जनाएका छन् । गर्भनर सर्गी हाइदाईले भने कि रुसीहरूले यसअघि देशको पुरानो औद्योगिक सहरलाई रुसी सेनाले लगभग ७० प्रतिशत कब्जा गरिसकेको बताएका थिए । तर, युक्रेनी सेनाले सेभेरोदोनेत्स्कको ठूलो हिस्सा पुनः प्राप्त गरेको उनले बताए । रुसी सेनाको मुख्य निशाना बनेको सो सहर केही सातादेखि निरन्तरको गोलाबारीमा परेको छ । यसैबीच, सेभेरोदोनेत्स्कमा लडाइँ जारी रहेको गभर्नर हाइदाईले बताएका छन् । शनिबार एउटा टेलिग्राम पोस्टमा हाइदाइले पछिल्लो २४ घन्टामा युक्रेनी फौजले ९ ओटा हमलाको प्रतिकार गरेको बताए ।
युक्रेनी फौजले रुसी सेनाको एक एक ओटा ट्यांक र तोपखाना र ८ वटा सशस्त्र गाडी ध्वस्त पारेको दाबी गरेका छन् । वायु रक्षा इकाइले एउटा क्रुज मिसाइल र तीन ओटा मानवरहित हवाई साधन खसालिदिएका उनले दाबी गरे ।रूसी सेनाहरूले आफ्ना सबै भण्डारहरू सेभेरोदोनेत्स्कमा फ्याँकिरहेका छन्’, उनले भने, ‘मानवीय अवस्था यति भयावह छ की सहरमा खाना र औषधि पुर्याउन असम्भव छ । ’अमेरिकाले प्रदान गरेको नयाँ तोपाखाना निर्णायक हुने उनले बताए । सो हतियारमार्फत् रुसी फौजलाई खेद्ने उनको भनाइ छ ।
शुक्रबार राति नियमित सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना ‘विश्वको दोस्रो सेना’ भन्दै खिल्ली उडाएका थिए । सम्बोधनका क्रममा उनले रुसी सेनासँग अब तितो मुस्कान, युद्ध अपराध, घृणा र अपमान बाँकी रहेको टिप्पणी गरे ।
युक्रेनमा पुनः निर्माणको पहिलो चरण सुरु
युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण सुरु गरेको बताएका छन् ।पुनः निर्माणको पहिलो चरणमा युक्रेनी अधिकारीहरूले रुस–युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।
“सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो,“ उनले भने । युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।
भारतमा फेरि कोभिड संक्रमित बढे
भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा संक्रमित बढेका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड संक्रमितको संख्या बढेपछि भारत सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो ।
फ्रान्समा ५१ नयाँ मङ्कीपक्स संक्रमित भेटिए
फ्रान्समा मङ्कीपक्सका ५१ जना संक्रमित भेटिएका छन्। विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्। युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मङ्कीपक्स संक्रमणका ७०० केस देखिएका छन्।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन्। उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन्। उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो। उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन्। हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महसुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन्। मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रूप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।
चीनले अन्तरिक्ष यात्री वाहक यान प्रक्षेपण गर्दै
चीनले आइतबार तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधुरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् ।सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०ः४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गर्न लागेको चीनको मानव अन्तरिक्ष निकायका अधिकारीले बताएका छन् ।
मिसन कमाण्डर चेन दोङको साथमा लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार हुनेछन् । ‘प्रक्षेपणको लागि सबै तयारीहरू पूरा भएका छन्’, अन्तरिक्ष निकायका अधिकारी लिन सिकियाङले भने । सेन्झोउ– १४ चार चालक दल मिसनमध्ये तेस्रो हुनेछ र कुल ११ मिसनमध्ये सातौँ हुनेछ । सन् २०२१ मा ति आनहीको प्रक्षेपणपछि चीनले आफ्नो थ्री मोड्युल अन्तरिक्ष स्टेसन निर्माण सुरु गरेको थियो ।
पाकिस्तानद्वारा तालिबानसँग युद्धविराम
पाकिस्तानको तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ ।
पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौँदेखि लडिरहेको छ ।
टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानमा रक्षा बजेटमा भारी वृद्धि
पाकिस्तान सरकारले देशको सशस्त्र बलहरूको महत्त्वपूर्ण आवश्यकता पूरा गर्नको लागि भन्दै यस आर्थिक वर्षको रक्षा बजेटमा लगभग ६ प्रतिशतले वृद्धि गरेको छ। यो सँगै यहाँको सैन्य बजेट १ दशमलब ४५ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको छ । पाकिस्तानको आर्थिक समन्वय समितिका अनुसार सो बजेट बढ्दो पारिश्रमिक र अन्य प्रमुख आवश्यकताहरू पूरा गर्नका निम्ति भएको एक्सप्रेस ट्रिब्युन अखबारले उल्लेख गरेको छ ।
ट्रिब्युनको रिपोर्ट अनुसार पाकिस्तानको रक्षा मन्त्रालयले ‘महत्त्वपूर्ण कमी’ को लागि अतिरिक्त ८० बिलियन पाकिस्तानी रुपैयाँ रक्षा बजेट माग गरेको थियो । यसबाहेक, जिन्ना नौसेना बेस, नौसेना बेस तुर्बत र मुख्यालयमा बहु-कार्यकारी कार्यालय भवनमा खर्च गर्न थप गरिएको पनि जनाइएको छ । अर्थमन्त्री मिफ्ताह इस्माइलले इसिसि बैठकको अध्यक्षता गर्दै जसले पाकिस्तानी सशस्त्र सेनाका लागि सो पूरक बजेट अनुमोदन गरेको हो । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०२१ मा विश्व सैन्य खर्च २ दशमलब १ ट्रिलियन अमेरिकी डलरको उच्चतामा पुगेको छ ।
अधिक सैन्य खर्च गर्ने प्रमुख तीन देशहरूमा संयुक्त राज्य अमेरिका, चीन र भारत रहेका छन् ।कुल विश्वव्यापी सैन्य खर्च सन् २०२१ मा शून्य दशमलब ७ प्रतिशतले बढेर २,११३ बिलियन अमेरिकी डलर पुगेको छ । सन् २०२१ मा रक्षा बजेटमा सबैभन्दा बढी खर्च गर्ने देशहरूमा अमेरिका, चीन, भारत, बेलायत र रुस थिए । जुन कुल खर्चको ६२ प्रतिशत हो । कोभिड १९ महामारीको आर्थिक नतिजाको बीचमा पनि विश्व सैन्य खर्च बढ्दो रहेको सैन्य खर्च तथा हतियार उत्पादन कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता डा डिएगो लोपेज दा सिल्भाले बताएका छन् । ‘मुद्रास्फीतिका कारण वास्तविक अवधिको वृद्धि दरमा मन्दी आएको थियो तर सैन्य खर्च ६ दशमलब १ प्रतिशतले बढेको पाइएको छ ।’
कोभिड १९ महामारीको परिणामस्वरूप, रक्षा खर्च विश्वव्यापी कूल ग्राहस्थ उत्पादनको २ दशमलब २ प्रतिशत थियो जबकि सन् २०२० मा यो संख्या २ दशमलब ३ प्रतिशतमा पुगेको थियो । स्टकहोमस्थित इन्स्टिच्युटका अनुसार भारतको सैन्य खर्च ७६ दशमलब ६ बिलियन अमेरिकी डलर विश्वमा तेस्रो उच्च हो । यो २०२० को तुलनामा शून्य दशमलब ९ प्रतिशत र २०१२ को तुलनामा ३३ प्रतिशतले बढेको थियो ।
विश्वभर मङ्कीपक्स संक्रमित ७ सय नाघे
विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ । पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ जना नयाँ संक्रमित फेला परेका छन् । सीडीसी–को एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ जना संक्रमित समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने र यात्रासँग सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सबै बिरामीहरू निको भइसकेका छन् वा निको हुने क्रममा रहेको र कुनै पनि सङ्क्रमितलाई जटिल स्वास्थ्य समस्या नदेखिएको बताइएको छ । सीडीसीको ‘डिभिजन अफ हाई कन्सिक्वएन्स प्याथोजेन एण्ड प्याथोलोजी’ का उप निर्देशक जेनिफर म्याकक्विस्टनले सञ्चारकर्मीसँग भनिन्, “संयुक्त राज्य अमेरिकामा पनि केही घटनाहरू देखिएका छन् जसबारे हामीलाई पूर्ण जानकारी छ ।”
मङ्कीपक्स एक दुर्लभ रोग हो । यो बिफरसँग सम्बन्धित तर बिफरभन्दा कम गम्भीर रोग हो । यसले गर्दा अन्य लक्षणका साथै फैलने, ज्वरो आउने, चिलाउने र दुख्ने जस्ता लक्षण देखा पर्छन् । साधारणतया पश्चिमी र मध्य अफ्रिकामा मात्र सीमित यो रोग (सङ्क्रमण) मे देखि युरोपमा पनि भेटिएको थियो । त्यसबेलादेखि प्रभावित देशहरूको संख्या बढेको छ । क्यानाडाले शुक्रबार पनि नयाँ तथ्याङ्क जारी गर्दै कूल ७७ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ । तीमध्ये प्राय सबै क्युबेक प्रान्तमा पत्ता लागेका हुन र त्यहाँ नियन्त्रणका लागि खोपहरू वितरण गरिएका छन् ।
यसको नयाँ फैलावट युरोपमा विशेष समलैंगिक पर्वहरूसँग सम्बन्धित हुन सक्ने भए तापनि मङ्कीपक्सलाई यौनजन्य रोग मानिएको छैन । यसको मुख्य जोखिम भनेको मङ्कीपक्स भएको व्यक्तिसँग छालादेखि छालाको नजिकको सम्पर्क हुनु हो । सबै घाउहरू सुकेर नयाँ छाला नबनेसम्म एक मानिसबाट अर्कोमा संक्रमण हुने सम्भावना रहन्छ ।
प्रतिक्रिया