सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ ।प्रशासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिबिनै सञ्चालन भइरहेको फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ ।
धेरैजसो निजी फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमीले सञ्चालन गरे पनि उनीहरूले अरूलाई नै राख्ने गरेको पाइएको छ । मेलम्ची, चौतारा, खाडीचौर, बाह्रबिसे जस्ता मुख्य बजारमा समेत दर्ता नगरी र अर्काको अनुमति पत्र भाडामा लिएर समेत औषधि पसल सञ्चालन भइरहेको पाइएको छ । यस्तो तथ्य फेला पर्दा समेत प्रशासनले कारबाही नगरेको स्थानीयको आरोप छ । स्थानीय रिता सापकोटा भन्छिन्, ‘नियम विपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमति पत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रशासनले कारबाही गर्न सकेको छैन ।’
फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषद्ले लिने लाइसेन्स परीक्षामा उत्तीर्ण गर्नुपर्छ । विना लाइसेन्स औषधि पसल सञ्चालन गरे औषधि ऐन ०३५ र नेपाल फार्मेसी परिषद् ऐन ०५७ ले गैर कानुनी ठहर गर्छ ।
सिन्धुपाल्चोकका धेरैजसो फार्मेसीमा लाइसेन्सप्राप्त व्यक्ति नबसी आफन्त बस्ने गरेका छन् । जथाभाबी वितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजी फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।
स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताए । अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको नेपालको भनाइ छ ।
बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेकाले यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए ।
प्रतिक्रिया