आज साउन १९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ४, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
तीन दिनमा १० ‘इजरायली सम्बद्ध’ आतङ्ककारी पक्राउ
इरानको दक्षिणी र पश्चिमी क्षेत्रमा विगत तीन दिनमा १० ‘इजरायली–सम्बन्धित’ आतङ्ककारीलाई पक्राउ गरेको छ । इरानको गुप्तचर मन्त्रालयले बिहीबार १० आतङ्ककारीलाई पक्राउ गरेको जानकारी गराएको हो ।
पक्राउ पर्नेहरूमा धार्मिक जमघटहरूमा आतङ्ककारी हमला गर्ने उद्देश्यले प्रेरित इस्लामिक स्टेट (आईएस) लडाकुहरू रहेको फार्स समाचार एजेन्सीले उल्लेक गरेको छ।
ती लडाकुहरू टर्की र इराक हुँदै इरानी भूमिमा प्रवेश गरेका विज्ञप्तिमा भनिएको छ । तिनीहरूबाट विस्फोटक पदार्थ, सञ्चार उपकरण र हतियारहरू समेत जफत गरिएको छ।
विज्ञप्तिमा आतङ्कवादीहरूसँगको सशस्त्र भिडन्तमा दुई इरानी सुरक्षाकर्मी समेत घाइते भएको पनि बताइएको छ।
बुल्गेरियाले ५५ जना कागजविहीन आप्रवासी फिर्ता पठाउँदै
बुल्गेरियाले मादक पदार्थ सेवन गरी चालकले चलाएको ट्रकमा लुकेर बसेका ५५ जना कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गरेको छ । बिहीबार विज्ञप्तिमार्फत सो घटनाबारे त्यहाँको अभियोजकको कार्यालयले जानकारी दिएको हो।
सोफियाबाट १२४ किलोमिटर पूर्वमा रहेको कर्नारे गाउँ नजिकैको सडकमा निरीक्षणका क्रममा सो ट्रकमा ५५ जना त्यस्ता आप्रवासीहरू लुगेको भेटाइएको थियो । ती आप्रवासी व्यक्तिहरू अफगानी नागरिक रहेको बताइएको छ। ती मध्ये १८ जना नाबालीग छन् ।
अधिकारीहरूले उनीहरूलाई सर्बिया लगिने बताएका छन् । लागुपदार्थ सेवन गरेको ट्रक चालकबाट ०.४ ग्राम कोकिन समेत फेला परेको छ। सो घटना बारे छानबिन भइरहेको छ ।
कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित
दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बताएका छन् । अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले जानकारी दिएको हो ।
नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।
गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ ।
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको विस्फोटमा एक जनाको मृत्यु
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान भएको विस्फोटमा एक जनाको मृत्यु भएको प्रहरीको बम डिस्पोजल युनिटले जनाएको हो ।
जिल्लाको कोट्री नगरको उपआयुक्तको कार्यालयनजिकै बम विष्फोट भएको हो । मारिएका व्यक्तिले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । विष्फोटको मुल कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।
अध्यागमन कानून उल्लङ्घन गरेको आरोप
म्यान्मारमा हिरासतमा परेका जापानी पत्रकारलाई अध्यागमन कानून उल्लङ्घन गरेको र सेनाविरुद्ध असन्तुष्टिलाई प्रोत्साहन दिएको अभियोग लगाइएको सैनिक सरकारले बिहीबार जानकारी दिएको छ ।
गत हप्ता याङ्गुनमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा जापानी पत्रकार टोरु कुबोटा पक्राउ परेका हुन् ।
उनलाई “धारा ५०५ (ए) र अध्यागमन कानून १३–१ अन्तर्गत अभियोग लगाइएको सैनिक सरकारले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । सो बारे थप जानकारी आउन बाँकी छ ।
अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । बिहीबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ को मन्त्रीस्तरीय बैठकका क्रममा भेटवार्ता भएको अधिकारीहरुले जानकारी गराएका हुन् ।
बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताहरु कम्बोडियामा रहेका छन् ।
भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिए ।
खुल्ला तथा स्वतन्त्र इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटका बारेमा भएको छ । “मेरो लामो समयदेखिको साथी, भारतका विदेश मन्त्री एस जयशंकरसँग राम्रो भेटवार्ता भयो, हामीले समसामयिक र साझा चासोका विविध विषयमा छलफल गरेका छौँ, सहकार्यलाई बलियो बनाउने बारेमा पनि कुराकानी भयो,” ब्लिन्केनले बताए ।
भारतका विदेश मन्त्री जयशंकर विदेशमन्त्रीका रुपमा १२ औँ देशको भ्रमण गर्ने क्रममा बुधबार कोलम्बिया पुग्नु भएको हो ।
आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, भियतानमलगायतका देशहरु पर्दछन् ।
मेक्सिकोमा कोइला खानी भत्किँदा ९ जना फसे
मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी ९ जना फसेका छन् । बुधबार खानीमा कम्तीमा ९ व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले जानकारी गराएका हुन् ।
सबिनास सहरमा खानी भत्किँदा बाढी आएको र खानीमा काम गर्नेहरू फसेका लोपेज ओब्राडोरले ट्वीटकार्फत जानकारी दिए ।
‘हामी उनीहरूलाई सुरक्षित भेट्टाउने आशा राखेका छौ ’ उनले बताए ।
उद्धारकर्ताहरु घटनास्थलमा पुगेका छन् र अनुसन्धान भइरहेको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप
श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ ।
बुधबार सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ ।
यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ बर्षका रहेको खुलेको छ ।
श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । संकट समाधानका विभिन्न प्रयास भएपनि ठोस उपलब्ध भने हुन सकेको छैन ।
पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए ।
अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो ।
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म सुडानमा खाद्य सङ्कट पर्न सक्ने संकेत दिँदै आएको हो ।
यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान,इरिट्रया,इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो ।
यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।
यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ ।
हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ ।
आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ ।
भारतमा थप १९ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जानकारी गराए ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरेको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो ।
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका कारण अहिलेसम्म पाँच लाख २६ हजार ५३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
प्रतिक्रिया