बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. निलम्बित प्रधानन्यायाधीश जबराले आज पनि बयान दिँदै
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी दिए । बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएको जनाइएको छ ।

२. प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे सुरु हुने बैठकमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्ने तयारी छ । यस्तै, सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

३. भारतीय स्थल सेनाका प्रमुख नेपाल आउँदै
भारतीय स्थल सेनाका प्रमुख मनोज पांडे पाँचदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिने विविध सामग्रीको हस्तान्तरण गर्ने जनाइएको छ ।

४. काठमाडौँ महानगरका सय दिन  
काठमाडौं महानगरका मेयर बालेन शाहले आफूहरू सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरूमा काम गरिरहेको बताएका छन् । हिजो मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा भएका कार्यहरु सार्वजनिक गरेको भोलिपल्ट आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरू अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुले निराश नबनाउने उनको भनाई छ ।

५. विपद् व्यवस्थापन कोषबाट रकम निकासाका लागि स्वीकृति
सरकारले चार वटा पालिकामा बाढी-पहिरोलगायत विपद् आपत्कालीन संरक्षण गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासाका लागि स्वीकृति दिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औँ बैठकले यसवर्ष र गत वर्षमा बाढी-पहिरोले ठूलो क्षति गरेका चारवटा पालिकामा आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको हो । बैठकले उदयपुरको बेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेलधुराको गन्यापधुरा नगरपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको हो ।

६. मुस्ताङ उडेको समिटको जहाज ७ मिनेटमा पोखरा नै अवतरण
पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपत्कालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ जना यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

७. कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी विषयमा परीक्षा हुने छ । सोही दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुने उल्लेख छ । दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने पनि बोर्डले जनाएको छ । त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ ।

८. बारामा लुटेरा समूह र प्रहरीबीच झडप 
बारामा उद्योगमा लुटपाट गर्न आएको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका लुटेरा समूहसँग प्रहरीको झडप भएको हो । लुटेरा समूहले एक राउण्ड हवाई फायर गरेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना लुटेरालाई पक्राउ गर्न सफल भएको पनि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

९.अमेरिकी अन्तरिक्षयान चन्द्रमामा पठाउने योजना स्थगन 
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा नयाँ अन्तरिक्षयान पठाउने योजनामा थप ढिलाइ हुने भएको छ । नासाले चन्द्रमामा पठाउने तयारी गरेको अन्तरिक्षयान अर्टमिस आई मून रकेटको प्रक्षपण दोस्रोपटक रोकेको हो । स्पेस लञ्ज सिस्टम (एस एल एस) साधन उठाउने नियन्त्रकहरूले हिजो प्रयास गरे पनि सफल हुन नसकेको जनाइएको छ । इन्धन चुहावट हुँदा हिजो अन्तरिक्षयान चन्द्रमामा पठाउने योजना स्थगन गर्नु परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । इन्जिनियरहरुले रकेटको अनुगमन गर्ने तयारी गरेका छन् ।

१०. एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंका विजयी
श्रीलंकाले एसिया कपको सुपर चारको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । सारजाहमा गए राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो । अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि पहिले ब्याटिङ अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । जितसँगै श्रीलंका शीर्ष स्थानमा रहेको छ । आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : १२ बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १०

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट