सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका | Khabarhub Khabarhub

सडकका खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्लाको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ ।

टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरे । गुनासोलगत्तै मालिका टोलमा सडक मर्मत भएपछि सहज भएको रवि देवकोटा बताए । ‘पानी परेपछि बाटोबाट आवतजावतमा समस्या भयो, नगरपालिका गएर गुनासो गर्‍यौँ, लगत्तै नगरपालिकाको टिपर, स्काभेटर आएर बाटोमा ग्राभेल हालेर बनाएर गए । अहिले सहज भएको छ’, उनले भने, ‘गुनासो गर्नेबित्तिकै सुनुवाइ भयो, यसरी नागरिकका समस्या समाधान गर्न आवश्यक छ ।’

वर्षात्का समयमा वनगाउँको उत्तरपुरुवा र वनगाउँमा ढल निर्माण र पुल निर्माण भइरहेको ठाउँमा बाटो बिग्रिएको थियो । सडक हिलाम्मे र मर्मत नहुँदा त्यहाँबाट आवतजावतमा समस्या भएपछि नगरपालिका गुहार्दा सडक बनेको र हिँड्न सहज भएको स्थानीय चम्मन चौधरीले बताए । ‘ढल निर्माणका क्रममा जताततै खनिएका छन्, कल्र्भट बनाउँदा त्यहाँ वरपरको सडक बिग्रिएको थियो’, उनले भने, ‘हामी अर्को बाटो भएर हिँड्नुपर्ने वाध्यता थियो । पालिकामा गुनासा टिपायौँ, तुरुन्तै सुनुवाइ भयो । पहिलो चरणमा माटो र ग्राभेल हालियो, वर्षा भएपछि माटो बगाएर लिँदा समस्या समाधान भएन । फेरि पालिकामा गुनासो गर्‍यौँ, अहिले ठूला ढुङ्गा हालेर त्यसमाथि ग्राभेल गरिदिएको छ ।’

टीकापुर नगरक्षेत्रका अधिकांश सडक जीर्ण छन् । नगरपालिकाभित्र रहेका वर्षौँअघि बनेका कतिपय कालोपत्र सडकसमेत भत्किएका छन् भने ग्राभेल सडक खाल्डाखुल्डी परेर नागरिकलाई आवतजावतमा समस्या भइरहेका छन् । वर्षात्का समयमा यसरी बिग्रिएका सडकमा आवतजावतमा नागरिकलाई बढी समस्या हुन्छ । नागरिकका गुनासाअनुसार पालिका यतिखेर खाल्डाखुल्डी मर्मतमा जुटेको छ । ‘वर्षात्मा यहाँका धेरै सडक बिग्रने, भत्कने समस्या हुन्छ’, स्थानीय हरि चौधरीले भने, ‘पालिकाको टोली तयारी अवस्थामा राखिएको जनप्रतिनिधि बताउँछन्। पालिकामा रहेका तीनैजना इञ्जीनियर, प्राविधिकका मोबाइल नं सार्वजनिक गरिएका छन् । समस्या भए फोन गछौँ ।’

पालिकाले सडक अवरुद्ध भए, कतै डुबान भए प्राविधिकलाई सम्पर्क गर्न सूचना गरेको छ । त्यसका साथै कुन क्षेत्र कसले हेर्न भनी प्राविधिकलाई समेत काम बाँडफाँट गरेको छ ।

नगरपालिकामा धेरै सडक आजभोलि हिलाम्मे र खाल्डाखुल्डी छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारीसाधन र जनशक्ति प्रयोग गरेर सडक मर्मतजस्ता कार्य गरिरहेको छ । पालिकाले नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख रामलाल डगौरा थारू बताए । ‘नागरिकलाई समस्या भए गुनासा गर्न भनेका छौँ, गुनासो आएमा प्राविधिकको टोलीले हेरेर तत्काल समस्या समाधान गरिरहेका छौँ’, उनले भने, ‘पालिकाकै जनशक्ति र सवारीसाधन प्रयोग गरेर साना–तिना समस्या समाधान गर्ने प्रयास हो । जसले नागरिकलाई सहज हुन्छ ।’

पालिकाले यसरी सडक मर्मत गर्दा पनि पहुँच भएकाका गुनासामात्रै सुन्न नहुने स्थानीय दुर्गा सुनार बताउँछन् । ‘नागरिकका समस्यालाई ध्यानमा दिएर पालिकाभित्रका सबै नागरिक बस्ने ठाउँका बाटा, पुल पुलेसा बनाउने, नागरिकलाई सहज आवतजावत गर्ने वातावरण बनाउने दायित्व पालिकाको हो । त्यहीअनुसार जिम्मेवारीका साथ कार्यान्वयन गर्न आवश्यक छ’, उनी भन्छन्, ‘नागरिकले पनि लाखौँ खर्चिएर घर बनाउने तर घर अगाडिका साना साना खाल्डाखुल्डी आफैँ नपुर्ने, सडकको सुरक्षा नगर्ने कार्य गलत हो । घर बनाउने, घर अगाडिको बाटो, ढल पालिकाले बनाइदिनुपर्छ भन्ने कार्य पनि गलत हो ।’

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ०० बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन