‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस | Khabarhub Khabarhub

‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका पूरा भएका चार लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस गरेको छ । नगरले दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले सङ्घको दिगो सहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गरेका हुन् । 

‘दिगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन सङ्घलाई बुझाए, यसलाई गौरवको विषय मान्नुपर्छ’, ब्याञ्जूले भने । उनले जुलाई पहिलो साता सङ्घको न्युयोर्कस्थित कार्यालयमा १६३ देशका प्रतिनिधि सहभागी दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा सम्बोधन गर्दै धुलिखेलले दिगो विकास लक्ष्यमध्ये हासिल गरेका चार लक्ष्यका बारेमा जानकारी गराएका थिए ।

सार्वजनिक गरिएको प्रतिवेदनमा दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको छ । निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयवासीको घरमा खानेपानी (एक घर–एक धारा) पुर्‍याएको, गुणस्तरीय शिक्षाका लागि नगरले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयवासीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

नगरले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षापश्चात प्रतिवेदन सार्वजनिक गरिएको थियो । ब्याञ्जूले भने ‘अबको केही महिनामा ९९ प्रतिशत जनताको घरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्षभित्र औसत गरिबीको सङ्ख्या शून्यमा पुर्‍याउने लक्ष्य नगरले लिएको छ ।’

शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयमा ‘एमजीएमल’ विधि, अङ्ग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माणलगायत कार्य गरेको छ । दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।

दिगो विकासका १७ लक्ष्य तथा एक सय ६९ सहायक लक्ष्य दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर सन् २०१६ देखि लागू गरेको थियो । 

विश्वभरका राष्ट्रिय सरकार तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्य तय गरिएका हुन् । यसैबीच, नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२६) मा समेत चर्चा पाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाएको छ । 

सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।

खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । ‘धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ’ ब्याञ्जूले भने। उनका अनुसार अब स्वस्थ सहर अभियानका सर्वदलीय अपनत्व बढाइनेछ ।

नगरद्वारा भविष्यमासमेत जिवाश्म इन्धन अप्रसारसन्धी अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने जनाइएको छ । साथै, ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न नगरले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजना बनाएको छ । 

नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसारसन्धी’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । 


प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : २३ बजे

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र

दाउन्ने सडक फेरि अवरुद्ध

काठमाडौं – महेन्द्र राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको दाउन्ने सडकमा सवारी

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर–  गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै

इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन

इरान- युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय