दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी « Khabarhub

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ ।

कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशति, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिइएको छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विनशुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिएको छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिएको छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गीनिशाना पूजा र कोतपूजासमेत गरिएको जनाइएको छ ।

तलेजु भवानी मन्दिरमा हजारौँ भक्तजन

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज हजारौँ भक्तजनले दर्शन गरेका छन् । आज लाम लागेका सबै भक्तजनलाई रातिसम्म मन्दिर खुला गरेर भए पनि दर्शन गराउने तयारी गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : २१ बजे

जलवायु कार्यको केन्द्रमा हिमाली मुद्दा राख्न परराष्ट्रमन्त्री खनालको आग्रह

अन्ताल्या (टर्किए)- परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको

भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज बिहान विद्युतीय माइक्रोबस दुर्घटना

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

जनकपुरधाम- मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान

एनपीएलमा विराटनगरसँग ४ विकेटले पराजित भएपछि लिग चरणबाटै बाहिरियो पोखरा

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो

भीमफेदी दुर्घटना : चार मृतकको पहिचान खुल्यो

हेटौँडा- यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको