बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. सत्ता गठबन्धनको बैठक जारी
आगामी निर्वाचनको सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा  सरकारले चुनाव घोषणा गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । सरकारले हिजो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेपछि गठबन्धन दलहरु सिट बाँडफाँडका लागि जुटेका हुन् ।

२. मतदाता नामावली संकलन स्थगित
निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।

३. सिके राउतले सप्तरी–२ बाट चुनाव लड्ने
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी–२ बाट चुनाव लड्ने बताएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी प्रवक्ता चन्दन सिंहले जानकारी दिए । राउतको घर पनि यही क्षेत्रमा रहेको छ ।

४. क्रान्तिकारी माओवादी र नेकपाबीच एकता हुने
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६-६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

५.सर्वोच्चले शुक्रवार पनि पूरा समय सेवा दिने
सर्वोच्च अदालतले अबदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ ।

६. ठमेलभित्रका अव्यवस्थित तार हटाइने
काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य मानिएको ठमेलभित्र अव्यवस्थितरुपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।

७. सप्तकोशी पीडितलाई प्रदेश १ सरकारको राहत सहयोग
अविरल वर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो। मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए। लगातारको वर्षापछि सप्तकोशीमा आएको बाढी उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्।

८. बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
कालीगण्डकी करिडोरअन्तर्गतको म्याग्दीको बेनी–जोमसोम सडक खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ । काभ्रेभिरमा गएको सुक्खा पहिरो र घोप्टे ओडारमा सडक भासिएका कारणसोमवारदेखि यो सडक खण्ड अवरुद्ध भएको थियो ।सडक सञ्चालनमा आएसँगै गाडी ओहोरदोहोर हुन थालेको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

९.ताइवानी सिमानामा तनाव नबढाउन अमेरिकाको चेतावनी
ताइवानी सिमानामा तनाव बढाएर संकट ननिम्त्याउन चीनलाई अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ताइवानी सिमानामा तनाव बढाएर संकट निम्त्याउने काम नगर्न चीनलाई चेतावनी दिएका हुन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलगत्तै ताइवानलाई घेरा हालेर सैन्य अभ्यास गरिरहेको चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिंकेनले यो भन्दा बढी तनाव बढाउने काम गरे त्यसको क्षति चीनले बेहोर्न बाध्य हुने चेतावनी दिएका छन् ।

१०. पहिलो टी–ट्वान्टीमा न्युजिल्याण्ड विजयी
घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो टी–ट्वान्टीमा न्युजिल्याण्डले जित निकालेको छ । गए राती भएको खेलमा न्युजिल्याण्डले १६ रनको जित निकालेको हो । जितसँगै पाहुना टोलीले दुई खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ३६ बजे

अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द

एजेन्सी – संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट

‘जलवायु परिवर्तनको असर देखिन थाल्यो, सजग बनौँ’

काठमाडौं – उपप्रधान एवम्‌ अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनका कारण

 सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीबारे पार्टीमा समीक्षा गरौँ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठनअघि नेकपा