काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. चुनावी तालमेलका लागि गठबन्धनमा कार्यदल गठन गरिने
सत्तारुढ पाँचदलीय गठबन्धनबीच आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा तालमेल गरेर जाने सहमति भएको हो ।
५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन पनि सहमति भएको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
२. तत्काल निक्षेपको ब्याजदर नबढ्ने
नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले गत बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्नसक्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिएपनि आज बसेको बैठकमा बैंकहरूले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।
३. एकै दिन तीन वटा सबस्टेसन सञ्चालनमा
नेपाल विद्युत प्राधिकरणले एकै दिन तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा हिजोबाट विद्युत चार्ज गरी सञ्चालनमा ल्याएको हो ।
साथै कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरूवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । यो प्रसारण लाइन एक सय पाँच किलोमिटर लामो रहेको प्राधिकरणले जनाएको छ ।
४. परराष्ट्रमन्त्री नारायण खड्का चीन जाँदै
परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार खड्का साउन २४ गते चिन भ्रमणमा जानेछन् । साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता समेत हुनेछ ।
त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्ने जनाइएको छ । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
५. माओवादी अध्यक्ष प्रचण्ड आज जापान जाने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाने भएका छन् । आज राती साडे १० बजे प्रचण्ड जापान प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् । प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको बताइएको छ । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।
उनी साउन २५ मा स्वदेश फर्किने तालिका रहेको छ ।
६. एआईजी पोखरेलले पाए अवकाश
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको राजिनामा स्वीकृत नभई अनिवार्य अवकाश पाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षकको ५६ वर्षे उमेर हदका कारण उनले आजदेखि अनिवार्य अवकाश पाएका हुन् ।
आईजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको पोखरेल वैशाख १९ बाट प्रहरी प्रधान कार्यालयमा हाजिर भएका थिएनन् । उनले दायर गरेको रिट सर्वोच्च अदालतले असार ३१ मा खारेज गरेको थियो ।
७. पहिरोले पुरिएर दुईजना घाइते
पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा दुई जना घाइते भएका छन् । आज बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा २ घर पुर्दा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जनाएको छ ।
पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको हात भाँचिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
८. कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु
कोरोना सङ्क्रमणबाट कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
अल्कोहलिक हेपाटाईटिसको बिरामी समेत रहेका उनलाई कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि हिजोदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।
९.मंकीपक्सका कारण अमेरिकामा संकटकाल घोषणा
मंकीपक्सका बिरामीहरू दिनानुदिन बढ्दै गएपछि अमेरिकाले देशभर जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्स संकटकाल घोषणा गरेको दुई साता नबित्दै अमेरिकी सरकारले पनि जनस्वास्थ्य संकटकाल लागू गरेको हो ।
अमेरिकामा हाल ६ हजार ६ सय जना मंकीपक्सका बिरामीहरू फेला परेका छन् । बिरामीहरू मध्ये अधिकांश समलिङ्गीहरु रहेको जनाएको छ ।
१०. साफ च्याम्पियनसिपको फाइनल खेल आज हुने
भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । साविक विजेता भारत घरेलु भूमिमा उपाधि राख्न चाहन्छ । यता, बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहँदै फाइनल पुगेको हो ।
प्रतिक्रिया