दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर सरकारले अब कर्मचारी नियुक्ती र सरुवा–बढुवा गर्न नपाउने, अत्याचारविरुद्ध लड्ने पार्टी नेकपा(एस) भएको माधवको दाबी, रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत प्रसारण क्षमता बृद्धि, ७५ जिल्लामा फैलियो डेंगु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

सरकारले अब कर्मचारी नियुक्ती र सरुवा–बढुवा गर्न नपाउने
सरकारले कर्मचारीको नियुक्ति तथा सरुवा/बढुवा गर्न नपाउने भएको छ।निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले सोमबार (आज) बाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारे । ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरु दिँदै आएको छ।

यसै सन्दर्भमा भदौ २ गते आयोगले नेपाल सरकारलाई दिएको निर्देशन बमोजिम संघ, प्रदेश र स्थानीय तहका कुनै पनि स्विकृत दरबन्दी भित्र यदि त्यहाँ पद र पदनाममा कुनै रिक्तता छ भने ती रिक्तता निर्वाचन व्यवस्थापन गर्नका लागि विभिन्न कारणबाट अप्ठ्यारो पर्न सक्ने भएका कारणबाट भदौ २० गतेसम्म ती पदहरु पूर्ति गरिसक्ने अथवा सरुवा गरिसक्नुपर्ने भएपनि गरिसक्नु भन्ने आशयले निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको थियो।’

संसद्को कार्यकाल बढाउने गरी बनेको विधेयकप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण
निर्वाचन आयोगले संसद्को कार्यकाल चुनावपछिसम्म हुने गरी सघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । आयोगले आज सोमवार एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा भनिएको छ । आउँदो मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ ।

निर्वाचन आयोगले सङ्घीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगसमेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ । सरकारले नयाँ संसद्ले काम नथालेसम्म अहिलेकै संसद्को कार्यकाल सक्रिय रहिरहने व्यवस्थासहित कानुन संशोधन गर्ने तयारी गरेको छ ।

अत्याचारविरुद्ध लड्ने पार्टी नेकपा(एस) भएको माधवको दाबी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न समूदायलाई हुने अत्याचारको बिरुद्ध पार्टीले श(सक्त रुपमा आवाज उठाउने बताएका छन ।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले राज्यप्रणालीमा देखिएका बिकृतिबिरुद्ध जुध्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि आफ्ना पार्टी अग्रपंक्तिमा उभिने बताएका हुन् । उनले महिला हिंसा अन्त्य, गरिवीमा रहेका समूदाय, अल्पसंख्यक लगाएतका बिषयमा पार्टीको बिशेष ध्यान जाने जिकिर गरे । अध्यक्ष नेपालले पार्टी संगठन मात्रै बनाएर नपुग्ने भन्दै जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्ने धारणा राखे ।

त्यस्तै एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीलाई रुपान्तरण गर्न सवै दृढ भएर लाग्नुपर्ने बताए । उनले अनुभव र क्षमताका आधारमा पार्टीमा आएका व्यक्तिहरुलाई सम्मानजनक स्थान दिईने धारणा राखे ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत प्रसारण क्षमता बृद्धि
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नु भएको छ । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ ।

साथै, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको छ । उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिक रुपमा खपत गरेर बढी भएको विद्युत अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइन । उनले कृषि क्षेत्रलाई बिधुतमा बिशेष सहुलियत दिईदै आएको र यसलाई प्रभावकारी रुपमा निरन्रता दिईने बताईन्।

विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याएर पारित गर्न द्वन्द्वपीडित समुदायको अपिल
संक्रमणकालीन न्याय विधेयकका त्रुटिपूर्ण प्रावधानहरूलाई इमानपूर्वक सच्याएर यथाशीघ्र पारित गर्न संसद र सरकारसमक्ष द्वन्द्वपीडित समुदायले अपिल गरेको छ ।

पीडितहरूले विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधानहरूलाई सच्याउन १५ बुँदे सुझाव दिएका छन्। पीडितको न्यायमा पहुँचको अधिकार कुण्ठित पार्ने प्रावधानहरू राखिएकोप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

विशेष अदालतले “गम्भीर मानवअधिकार उल्लंघन” को मुद्दाहरू मात्र हेर्ने व्यवस्थाले “मानव अधिकार उल्लंघन” अन्तर्गत सूचीबद्ध उल्लंघनका घटनाहरूमा मेलमिलाप र क्षमादान हुन नसक्ने परिस्थितिमा पनि मुद्दा चलाउन नसकिने र पीडकले उन्मुक्ति पाउने व्यवस्था गरिएको भन्दै उनीहरूले यो प्रावधान दण्डहीनतालाई प्रश्रय दिने गरि नै राखिएको उल्लेख गरेका छन् ।

आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने राप्रपा अध्यक्ष लिङ्देनको भनाइ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् ।

राप्रपा बाँकेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए ।

उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट पारे ।

हिरासतमा रहेका व्यक्तिसँग रविले फाेटाे खिचाएपछि प्रहरीमाथि नै छानबिन सुरू
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । रविले गुरुङसँगको फोटो पोष्ट गर्दै ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर धन्यवाद दिएको’ उल्लेख गरेका छन् । उनले ‘कानुन सबैलाई बराबर हुने’ समेत उल्लेख गरेका थिए ।

७५ जिल्लामा फैलियो डेंगु
मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ। यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् ।

काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ। गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ ।

सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेङ्गु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल सुरु भएको बताए। उनले स्वास्थ्य सङ्कटकाल (महामारी) घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताए ।

सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्ने बाग्मतीका मुख्यमन्त्री पाण्डेको चेतावनी
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

सङ्घीय संसद् राष्ट्रिय सभाबाट भर्खरै पारित काठमाण्डौ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीयता र संविधान विरोधी रहेको जिकिर गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारविरुद्ध केही दिनभित्रै मुद्दा हाल्ने बताएका हुन।

लोकसेवा परीक्षामा नाम र फोन नम्बर लेख्ने २१ विद्यार्थीलाई कारबाही
कर्णली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ। उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो ।

आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ ।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायक स्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । २० जनाले भित्री पृष्ठमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए ।

सल्यानमा ट्रकले किचेर ट्रकधनीकै ३ वर्षीय छोराको मृत्यु
सल्यानमा ट्रकले किच्दा ३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा लु १ ख ९२५९ नम्बरको ट्रकले किच्दा ट्रकधनीका ३ वर्षीय छोरा कृतिक भण्डारीको सोमबार दिउँसो मृत्यु भएको हो ।

सामान लोड गर्न जान लागेको ट्रकतिर बालक एक्कासी आउँदा ट्रकको पछाडिको भागले किचिएर गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा श्रीनगरस्थित परोपकार हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बालकलाई किच्ने ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बाराको कलैया उपमहानगरपालिका–२३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बिरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : २६ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन