बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन थालियो « Khabarhub

बस्ती जोगाउन मादी नदी किनारमा पर्खाल लगाउन थालियो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरिएको छ ।

नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाख रुपैयाँको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो । व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।

व्यास–५ पाटनका छ सय ६३ र व्यास व्यास–३ का चार सय घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए । पाटनतर्फ तीन सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा एक सय दुई मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएका थिए । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

वैशाखमा टेण्डर भए पनि वर्षायाम सुरु भएकाले अहिले आएर निर्माण कार्य सुरुआत गरिएको हो । दुई महिनाभित्र निर्माण काम सम्पन्न गर्नेगरी एमआर एण्ड ग्रुप प्रालीले निर्माणको जिम्मा पाएको छ ।

नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बसेर कटाउनुपरेको उनले पीडा सुनाए । अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायत क्षति हुने देखिएको छ ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ । नगरपालिकाले मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न सङ्घ सरकारबाट बजेट विनियोजन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

गत वर्ष पाँच करोड र यस वर्ष २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले भने, “बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको छ ।”

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ०४ बजे

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो