आज असार २२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
अमेरिकामा फेरि गोलीकाण्ड
अमेरिकाको इन्डियाना राज्यको ग्यारीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
ग्यारी सिटीमा एउटा पार्टी चलिरहेका बेला गोली हानाहान हुँदा कैयौं घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
बिदा मनाउने क्रममा गोली चलेको स्थानीय प्रहरीले जनाएको छ। योसहित पछिल्लो २४ घण्टाभित्र देशभर तीन ठाउँमा गोली चलेको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
यसैबीच पेन्सिलभेनियाको फिलाडेल्फिया सहरमा स्वतन्त्रता उत्सवका क्रममा पनि गोली हानाहान भएको घटना सार्वजनिक भएको छ ।
यसअघि सिकागोमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको थियो ।
चीनको सियानमा फेरि लकडाउन
कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ ।
१ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए ।
आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण कोभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो ।
सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ ।
सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछन् ।
आर्थिक संकट एक वर्षसम्म कायमै रहनसक्ने श्रीलंकाली प्रधानमन्त्रीको भनाइ
श्रीलंका टाट पल्टिएको र यहाँको आर्थिक संकट कम्तीमा आगामी एक वर्षसम्म रहने प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् ।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले सो जानकारी दिएका हुन् । सरकारले अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिन थालेपछि टापु देशका २ करोड २० लाख नागरिक महिनौंसम्म चलेको मुद्रास्फीति र लामो विद्युत कटौती झेलिरहेका छन् ।
कुनै बेलाको समृद्ध देश श्रीलंका यस वर्ष गहिरो मन्दीमा जाने र खाद्यान्न, इन्धन र औषधिको चरम अभाव हुने उनले बताए । ‘हामीले सन २०२३ मा पनि कठिनाइहरूको सामना गर्नुपर्नेछ’ प्रधानमन्त्रीले भने, ‘सत्य यही हो ।’
श्रीलंकका टाट पल्टिएको देशको रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता भइरहेको जानकारी दिए । विदेशी मुद्रा संञ्चितको अभावमा श्रीलंकामा अत्यावश्यकीय वस्तुको आयात हुन सकेको छैन । अहिले देशमा पेट्रोलको चरम संकट छ । इन्धन सकिएपछि विद्यालय बन्द छन भने निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।
८० प्रतिशत जनताले खाद्यान्न अभाव सामना गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ ।
बेलायती अर्थमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा राजीनामा, बोरिस जोनसनको सरकार संकटमा
बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य सचिव साजिद जाविदले राजीनामा दिएपछि प्रधानमन्त्री बोरिस जोन्सनको सरकार संकटमा परेको छ । प्रधानमन्त्रीको नेतृत्वको आलोचना गर्दै सुनक र जाविदले राजीनामा दिएका हुन् ।
आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकोमा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो ।
सुनकले आफ्नो राजीनामा पत्रमा ‘सरकार छाड्दा दुखी’ भएको तर सरकारलाई साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताएका छन् ।
सुनकले राजीनामा पत्रमा भनेका छन्, ‘सरकारलाई सही, सक्षम र गम्भीरताका साथ सञ्चालन गर्ने जनताको अपेक्षा छ।’ जनताले ‘सरकार सही, दक्ष र गम्भीरताका साथ सञ्चालन हुने’ उनले अपेक्षा गरेका छन् ।
यसैबीच लेवर नेता सर केयर स्टाररले जोनसन सरकारको पतन हुन लागेको टिप्पणी गरेका छन् ।
राजनीतिबाट अलग रहन सैनिक अधिकारीलाई पाकिस्तानी सेनाध्यक्षको निर्देशन
पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई) सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई राजनीतिबाट अलग रहन र राजनीतिज्ञहरूसँग अन्तरक्रिया नगर्न निर्देशन दिएका छन् ।
पाकिस्तानको राजनीतिमा सेनाले हस्तक्षेप गर्ने आरोप लागिरहेका बेला सेना प्रमुखको यस्तो भनाइ आएको हो ।
पाकिस्तानी सेना पञ्जाबमा आगामी उपचुनावलाई प्रभाव पार्न र पीटीआईलाई नोक्शान पु¥याउन राजनीतिक ‘डिजाइन’मा संलग्न रहेको विवरण सार्वजनिक भइरहेका बेला सेना प्रमुखको भनाइ सार्वजनिक भएको द न्युज इन्टरनेसनलले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री पीटीआई प्रमुख इमरान खानले पनि आफ्ना पार्टीका केही उम्मेदवारहरूले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन कल आएको गुनासो गरेको दाबी गरेका छन् ।
खानले आफ्नो पार्टीका नेता र कार्यकर्तालाई उपचुनावलाई ‘डिजाइन’ गर्न दबाब दिइएको बताएका छन् ।
टर्कीको जङ्गलमा आगोको प्रयोग नगर्न निर्देशन
टर्कीको जङ्गलमा आगोको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि जङ्गलमा आगो बाल्नु पर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।
इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएको जानकारी अनुसार इन्धन सम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ ।
विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्ने लगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् ।
स्थानीय पार्क, बनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्र लगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ ।
पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीव जन्तु तथा पक्षीहरू मरेका थिए ।
आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ ।
एसियाली मुलुकहरुमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै
बितेका केही दिनयता एसियाली मुलुकहरु भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोना भाइरसका सङ्क्रमित बढिरहेको पाइएको छ ।
बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ ।
हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
२४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २८ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ ।
हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।
पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ ।
त्यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड २० लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।
चीनसँग थप ऋण नलिन पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको सुझाव
अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाव दिएको छ । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) परियोजनाका निम्ति सात अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न कोषले सुझाएको हो ।
बाह्य ऋणबाट पाकिस्तानको अर्थतन्त्रलाई दिगो रूपमा सञ्चालन गर्न नहुने भन्दै कोषले इस्लामावादलाई संरचनागत सुधार गर्न तथा चिनियाँ सहयोग र ऊर्जा सम्झौताबारे पुनः वार्ता गर्न सुझाव दिएको फाइनान्सियल पोष्टले जनाएको छ । पाकिस्तानले आफ्नो देशमा चिनियाँद्वारा सञ्चालित स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई तीन खर्ब ५० अर्ब बिजुली बक्यौता बुझाउन बाँकी छ ।
चीनले सिपेकअन्तर्गतका परियोजनाका सम्झौताका शर्तहरू परिमार्जन गर्न अस्वीकार गरेका विवरणहरू सार्वजनिक भएपछि मुद्रा कोषले थप ऋण नलिन पाकिस्तानलाई सुझाएको हो । विगतदेखि नै पाकिस्तानको अर्थतन्त्र शिथिल भएको छ भने व्यापार असन्तुलन पनि बढेको छ । मुद्रास्फीति पनि दैनिक रूपमा चुलिदै गएको छ ।
पाकिस्तानमा बाढी पहिरोका कारण २५ जनाको मृत्यु
पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले त्यहाँको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।
बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।
साथै बाढीले त्यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पु¥याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पु¥याएको छ ।
बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । त्यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ ।
ब्राजिलकी मोडल युक्रेनमा मारिइन्
ब्राजिलकी एकजना मोडल तथा निशानेबाज (स्नाइपर) रुसी सेनाको कारवाहीमा युक्रेनमा मारिएकी छिन् । रुसी सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा ३९ वर्षीया थालितो डो भाले मारिएकी हुन् ।
बेलायती अखबार डेली मेलका अनुसार विश्वभर मानवीय अभियानमा सहभागी हुँदै आएकी उनले यसअघि इराकमा आतंककारी संगठन इस्लामिक स्टेटविरुद्ध समेत लडेकी थिइन् ।
गत साता युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको जनाइएको छ ।
आक्रमणमा ब्राजिलको पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ । ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए ।
अन्य सैनिकका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन् । युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन् ।
प्रतिक्रिया