हराउँदै ढिकी, जाँतो र पानीघट्ट | Khabarhub Khabarhub

हराउँदै ढिकी, जाँतो र पानीघट्ट


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको  जनाइएको छ ।

गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्यो ।

गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरूले पाँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ ।

उनले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताए । उनले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताए।

‘पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पर्थ्यो, कि घण्टौँ लगाएर टाँढाको मिलमा जानु पर्थ्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन’, उनले भने, ‘अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।’

पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताए ।  गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उनको भनाइ छ  ।

‘घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन’, सञ्चालक सुनारले भने, ‘यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे ।’ रासस

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : २० बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो