ब्रेकिङ स्टोरी

बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या

By विना न्यौपाने

October 06, 2022

काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल  आस्थमाको समस्या बढेको छ ।

एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने केसहरू हप्तामा ३ देखि ४ वटासम्म आउने गरेको छ । यो गत वर्ष १ देखि २ वटा मात्र हुने गर्दथ्यो । यसले पनि समस्या कति बढेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

किन पलाउँछ नाकमा मासु ? यो एलर्जीका कारण हुने समस्या हो । धुला, धुवाँ, चिसो कुनै पनि कुराले एलर्जी हुन्छ र दीर्घकालीन रूपमा जाँदा नाकमा मासु पलाउँछ । हामी त्यसलाई चिकित्सकीय भाषामा पोलिप भन्छौँ ।

सुरुको लक्षण भनेको नाक बन्द हुने, सिँगान तथा पानी बग्ने, हाच्छ्युँ बढ्ने र विशेष गरी बेलुकीको समयमा सास फेर्न गाह्रो हुने समस्या हुन्छ । र, नाकमा मासु पलाउन समस्याले कालान्तरमा दम बढ्ने गर्छ ।

अलिकति मिस हुने भनेको स्वाँ–स्वाँ भएपछि एक्सिडेन्टल रूपमा नाकको समस्या भएर आउँदा नाकमा मासु पलाएको भेटिन्छ । यो के हो भने सुरुमा नाकमा मासु पलाएको थियो र त्यसैले नै ब्रोङकल आस्थमाको समस्या ल्याएको हुन्छ ।

तर, मानिसहरु यो स्टेजमा पुगिसकेपछि मात्र डाक्टरहरू कहाँ आइपुग्ने परेको पाइन्छ । पछिल्लो समयमा आम मानिसहरुमा सचेतना बढेको पाइएको छ । नाकमा समस्या देखिएपछि चिकित्सक कहाँ आउन थालेका छन् ।

सामान्य रुघाखोकीमा पनि यही समस्या आउँछ । त्यसैले मानिसहरु सामान्य रुघाखोकी हो भनेर बस्ने पनि गर्छन् । तर, यो समस्या तीन महिनासम्म देखियो भने जाँच गराउनु उपयुक्त हुन्छ ।

नाक, कान, घाँटी विशेषज्ञ कहाँ जानुपर्छ । आवश्यक प¥यो भने डाक्टरले इन्डेसकोपी गराउनुहुन्छ । यसले मासु पलाएको नपलाएको थाहा हुन्छ । त्यसैले समयमै जाँच गराउनु राम्रो हुन्छ ।

वायु प्रदुषणका कारण घाँटीको पनि समस्या बढेको पाइएको छ । जस्तो कि घाँटीमा केही अड्किएको जस्तो हुन्छ । कति पटक विरामीहरुले भनिरहेका हुन्छन् कि डाक्टरसाब मेरो त घाँटीमा रौँ अड्किएको जस्तो छ । त्यो एलर्जीका कारण हो । यसले घाँटीमा फोकाहरू आउँछ । यसले नै मानिसहरूलाई घाँटीमा रौँ वा त्यस्तै केही अड्किएको जस्तो महसुस गराउँछ ।

ध्वनि प्रदूषणका समस्या अर्को कुरा वायु प्रदूषणको मात्र धेरै कुरा भइरहेको छ । ध्वनि प्रदूषणलाई त्यति महत्त्व दिइएको छैन । तर, यो समस्या पनि देखिएको छ । अहिले पिक आवरमा सहरको मध्य भाग वा जहाँ ट्राफिक जाम हुने ठाउँमा छ भने स्वतः देख्नुहुन्छ कि सवारी साधनले हर्न बजाएर ध्वनि प्रदूषण गराएको छ ।

अर्को कुरा कारखाना कम भएको होला तर, अटो मोबाइलका कारण ध्वनि प्रदूषण बढेको छ । २ वर्ष अगाडि गरिएको एउटा प्रारम्भिक अध्ययनमा पिक आवरमा ६० देखि ७० डेसिमलसम्म प्रदूषण भइरहेको पाइन्छ ।

यसले मानिसहरूमा समस्या देखिन थालेको छ । जस्तो कान कराउने । ध्वनि प्रदूषणका कारण लामो समयसम्म एक्पोजर भएर मानिसहरूमा यो समस्या देखिएको छ ।

अर्को भनेको हेयरिङ लस अर्थात् कम सुन्ने समस्या पनि हामीले पाएका छौँ । यो समस्या सबैभन्दा धेरै ट्राफिक पुलिसमा देखिएको छ । उनीहरू लामो समयसम्म सडकमा खटिन्छन् । यो समस्या सडक आसपासमा पसल गर्नेहरूमा पनि बढेको अनुमान गर्न सकिन्छ । यसले सुन्ने नशा कमजोर गरेको पाइएको छ ।

उपचार कसरी गर्ने ? यो समस्याको उपचार सम्भव छ । जहाँ नाक, कान र घाँटीका विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ, त्यहाँ उपचार सम्भव हुन्छ । डाइगोनोसिस गर्ने उपकरणहरूको भएको ठाउँमा झन् सहज हुन्छ । अपरेसन गर्नुपर्ने वा औषधि सेवन गर्ने चिकित्सकले हेरेपछि हुन्छ । यो उपचार धेरै महँगो पनि छैन ।

सामान्य मास्कले खासै काम गर्दैन । त्यो आत्मसन्तुष्टि मात्र हो । यदि राम्रो खालको मास्क लगाउने हो भने २५ प्रतिशतसम्म प्रदूषणबाट बचाउन सक्छ । चिकित्सकीय परामर्शका लागि धेरै महँगो पर्दैन । डाइगोनेस्टिक टुलहरु एक्सरे, इन्डेस्कोपी पनि धेरै खर्चिलो होइन । अपरेसनमा भने केही खर्च हुन्छ ।

बच्ने कसरी ? काठमाडौँमा धेरै मानिसहरू मास्क लगाएर हिँडेको देखिन्छ । धुलो, धुवाबाट बच्न मास्क लगाइएको हो । तर, मास्कको गुणस्तरमा कमै ध्यान दिएको पाइन्छ । ध्वनि प्रदूषणबाट आफ्नो नागरिकलाई कसरी बचाउने भनेर सरकारले नै सोच्नुपर्छ ।

(श्वास प्रश्वास तथा छाती रोग विशेषज्ञ डाक्टर रवि महतसँग गरेको कुराकानीमा आधारित )