आज फागुन २३, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ७, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन् :
आवश्यकता पूरा भएपछि मात्रै युद्धविराम– पुटिन
रुसले युक्रेनमा आफ्नो सैन्य अभियान जारी राखेको छ ।
युक्रेनमा संकट बढ्दै गएको र युद्ध लम्बिए यसको असर अन्य देशहरूमा पनि पर्ने आशंकाका बीच विभिन्न मुलुकका राष्ट्राध्यक्षहरूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गर्दै आएका छन् ।
यसैक्रममा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पनि यस्तो आग्रह गरेका छन् । अर्दोआनसँग फोनमा कुराकानी गर्दै रुसी राष्ट्रपति पुटिनले युक्रेनले रुससँग लड्न छाडि आफूहरूका आवश्यकता पूरा गरेपछि मात्र आक्रमण रोक्ने बताएका छन् ।
११ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी
युक्रेनले आफ्नो मुलुकमाथि आक्रमण गर्न आएका ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको रक्षा गुप्तचर विभागले युक्रेनमाथि आक्रमणमा सहभागी ११ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । विभागले युद्धका क्रममा ४४ रुसी लडाकु विमान र ४८ सैनिक हेलिकोप्टरसमेत खसालेको जनाएको छ ।
गत फेबु्रअरी २४ यता जारी रुसी सैनिक आक्रमणका क्रममा रुसका २८५ ट्याङ्क ध्वस्त पारिएको विभागको भनाइ छ ।
रुसी पक्षबाट युक्रेनले सार्वजनिक गरेको हताहतको विवरणबारे कुनै प्रतिक्रिया आएको छैन । यसअघि रुसले केही दिनअघि युक्रेनमा जारी सैनिक कारबाहीमा आफ्ना ५ सयभन्दा कम सैनिक मारिएको जनाएको थियो ।
यद्यपि युद्धका क्रममा भएको हताहतको अनुमान गर्न सहज नभएको सुरक्षा विश्लेषकहरूका उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान
भारतका केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयलले विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान गरेका छन् ।
‘मेक इन इण्डिया फर द वर्ल्ड’ नामक भर्चुअल बैठकलाई सम्बोधन गर्दै गोयलले यस्तो बताएका हुन् ।
यसबाहेक उनले भारतीय कुल ग्राहस्थ उत्पादनमा निर्यातको हिस्सा बढाएर २५ प्रतिशत पु¥याउन समेत आह्वान गरे ।
कार्यक्रममा उनले भने, ‘यी महत्वकांक्षी लक्ष्य हुन् तैपनि मलाई लाग्छ, गर्न सकिन्छ । अहिले धेरै देशहरूले आत्मनिर्भर भारतजस्ता कार्यक्रमहरू अघि सारिरहेका छन् ।’ उनले भारतलाई विश्व सेवा व्यापारको शीर्ष तीन देशको स्थानमा पु¥याउनसमेत आह्वान गरे । ‘हामी सबै रोजगारी सिर्जना गर्ने होऔँ, भारतको उत्पादन क्षेत्रको वातावरणलाई मजबुत बनाऔँ ।’ उनले भने ।
‘प्रायः समयको माग एकदमै छिटो गतिमा छ, पाठ्यक्रममा परिवर्तन भने सुस्त गतिमा छ । अवश्य पनि धेरै समस्याहरू छन्, पाठ्यक्रम एकै रातमा परिवर्तन गर्न सकिन्न तर मलाई लाग्छ समसामयिक पाठ्यक्रम उत्तिकै महत्वपूर्ण छन् ।’
बेलायतले युक्रेनलाई १० करोड डलर दिने
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई बेलायतले १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको हो ।
घोषणा गरिएको थप १० करोड डलरको कोषले २२ हजार सैनिकहरूलाई प्रशिक्षण दिने, २ हजार ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्रहरू आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि खर्च गरिने जनाइएको छ ।
स्वतन्त्रता, र विपद् आपतकालीन समितिको अपिलमा मानवीय सहायता प्रदान गर्न लागिएको हो ।
यसैबीच, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कंग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेकी छन् ।
रुसको सैनिक आक्रमणको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू र संस्थाहरू, मिडिया र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द र प्रतिबन्धात्मक उपायहरू समावेश छन् ।
जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न मोदीको पुटिनलाई आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ । भारतीय विदेशमन्त्रालयले प्रधानमन्त्री मोदीले पुटिनसँग टेलिफोन वार्ता गरेको जानकारी दिएको हो । दुई नेताबीच ५० मिनेट संवाद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा विकसित घटनाक्रमबारे पुटिन र मोदीबीच कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा मोदीले पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका थिए ।
जवाफमा पुटिनले युक्रेनसँग जारी शान्तिवार्तामा भएको प्रगति विवरण सुनाएको जनाइएको छ ।
यसअघि मोदीले जेलेन्स्कीसँग पनि टेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताका क्रममा मोदीले युक्रेनमा फसिरहेका भारतीय विद्यार्थीहरुको उद्धारमा युक्रेनको सहयोग खोजेको बताइएको छ ।
३५ मिनेटसम्म चलेको जेलेन्स्की–मोदी टेलिफोन वार्तामा युक्रेनका राष्ट्रपतिले भारतले युक्रेनलाई प्रदान गरेको राहत सामग्रीका लागि धन्यवाद प्रकट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
युक्रेनमा रुसी युद्ध सरदारको हत्या
रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ ।
गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको हत्या गरिएको हो । उनको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि ठूलो धक्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिम नपाएका सैनिकसँगै युद्धमा होमिएका कारण रुसका उच्च सैनिक अधिकारीहरु हताहतीको जोखिममा अष्ट्रेलियाको न्यूज डट कम डट एयूले जनाएको छ ।
युक्रेनमा मारिने उनी दोश्रो वरिष्ठ सैनिक अधिकारी हुन् । यसअघि युक्रेनमा रुसी फौजका एकजना मेजर जनरलको मृत्यु भइसकेको छ ।
दक्षिण कोरियाले रुससँग बैंकिङ कारोबार नगर्ने
दक्षिण कोरियाले रुसको केन्द्रीय बैंकसँग बैंकिङ कारोबार बन्द गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाको अर्थ मन्त्रालयले मंगलबारबाट लागू हुनेगरी रुसको केन्द्रीय बैंकसँग कारोबार नगर्ने घोषणा गरेको हो ।
यससँगै रुसले दक्षिण कोरियाली मुद्रा ‘वन’ मा रहेको रुसी सम्पत्ति रोक्का गर्ने र रुसी केन्द्रीय बैंकसँग कारोबार बन्द गर्ने घोषणा गरेको रोयटर्सले जनाएको छ । यसअघि अमेरिका र युरोपेली युनियन इयूले पनि रुसविरुद्ध यस्तै आर्थिक प्रतिबन्धहरुको घोषणा गरेका थिए ।
यसबाहेक दक्षिण कोरियाले रुसको महत्वपूर्ण सार्वभौम सम्पत्ति कोष, ‘रुसी महासङ्घको राष्ट्रिय सम्पत्ति कोष’ र रुसको प्रत्यक्ष लगानी कोष एवम् रोशिया बैंकसँग कुनै पनि दक्षिण कोरियाली कम्पनीले कारोबार गर्न नपाउने व्यवस्था लागू गरेको जनाइएको छ ।
पश्चिमी छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण थालेयता रुसमा पश्चिमा मुलुकहरुसहित विश्वभरबाट आर्थिक प्रतिबन्धहरू लाग्दै आएका छन् ।
रुसका सरकारी टीभी ह्याक
ह्याकरहरूको समूह अनोनिमसले रुसको सरकारी टेलिभिजन ह्याक गरेको दाबी गरेको छ । ट्वीट गर्दै उक्त ह्याकर समूहले टीभी प्रसारणको बेला ह्याक गरेर युक्रेनमा जारी युद्धको दृश्य देखाइएको दाबी गरेको हो ।
रसा ट्वेन्टीफोर, च्यानल वन र मस्को ट्वेन्टीफोर सहितका च्यानल तथा रुसी स्ट्रमीङ सेवा विन्क र इभीमा ह्याक गरेको अनोनिमसको दाबी छ । यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
अर्को पोस्टमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘अनोनिमस अभियान’ सञ्चालन गरिएको दाबी गरिएको छ ।
‘हामी विश्वका लागि सकारात्मक परिवर्तन गर्न सक्छौँ । त्यो नै सधैँको योजना हो।’ अनोनिमसको ट्वीटमा लेखिएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेयता अनोनिमसले रुसी साइबर पूर्वाधारहरूलाई लक्षित गरी साइबर आक्रमणहरु गर्दै आएको छ ।
यसो भन्छिन् युक्रेनी राष्ट्रपतिकी श्रीमती
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् ।
उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न समेत आह्वान गरिन् ।
उनले लेखेकी छिन्, ‘युक्रेनमा रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेका छन् । जानाजान र एकोहोरो शैलीमा ।’
‘मैले यो भन्नै पर्छ । युक्रेनमा अहिलेसम्म ३८ बालबालिकाको ज्यान गइसकेको छ । हाम्रा शान्तिप्रिय शहरहरुमा जारी गोलाबारीका कारण यो सङ्ख्या बढिरहेको छ ।’ उनले लेखेकी छिन् ।
युक्रेनमा फेरि युद्धविराम
रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूका लागि भन्दै युद्धविरामको घोषणा गरेको छ ।
रुसी फौजले ती शहरहरूमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो । युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै अनुरोध गरेका कारण युद्धविराम घोषणा गरिएको रुसी पक्षको भनाइ छ । रुसी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएको जनाएको छ ।
२४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ भिडन्त जारी छ । केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।
प्रतिक्रिया