नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री देउवा चैत १६ गते श्रीलङ्का भ्रमणमा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलङ्का भ्रमणमा जाने भएका छन् । श्रीलङ्काले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ  प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएका हुन् । बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य छन् । सम्मेलनमा सातवटै देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

असंलग्न परराष्ट्र नीतिअन्तर्गत नै युक्रेनका बिषयमा नेपालले धारणा तय गरेको सरकारको दाबी

परराष्ट्रमन्त्री नारायण खड्काले नेपालको संविधानले निर्धारण गरेको असंलग्न परराष्ट्र नीतिअन्तर्गत नै युक्रेनका विषयमा नेपालले धारणा तय गरेको दाबी गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले रुसले आक्रमण गरेको युक्रेनको नेपालले पक्ष लिनु कुनै गुटमा नलागी मानवीयताको पक्षमा मात्र भएको र यो असंलग्न परराष्ट्र नीति अन्तर्गत नै रहेर गरिएको बताएका हुन् ।

उनले ५३३ नेपालीलाई सुरक्षित रूपमा युक्रेनबाट अन्य देशमा पठाइएको जानकारी दिँदै आफ्ना नागरिकको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए । उनले शान्तिपूर्ण सहअस्तित्वको विषय पनि असंग्लनअन्तर्गत पर्ने धारणा राखे । त्यस्तै उनले चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चिनियाँ पक्षलाई आग्रह गरेको जानकारी दिए ।

सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने

सिंहदरबारभित्र सेनाको चण्डीदल गणको लागि भवन निर्माण हुने भएको छ । सिंहदरबारमा आज शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भवन निर्माण कार्यक्रमको शिलान्याश गरेकी हुन् । भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी बिकास भवन निर्माण बिभागले जनाएको छ ।

कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गरिन् । सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उनको भनाइ छ । सो भवनको दुई बर्ष भित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ  ।

विराटनगरका अनसनरत विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनः कक्षा सञ्चालन गर्न कलेजलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेजले छात्रावास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन् ।

उनले तत्काल चिकित्सा शिक्षा आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । यस्तै बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले एमबिबिएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । त्यस्तै समिति सदस्य जीवनराम श्रेष्ठले मानसिक त्रास नहुने गरि पढ्ने वातावरण बनाउनुपर्ने र गलत काम गर्ने कलेजलाई कारवाही हुनुपर्ने भनाइ राखे । त्यस्तै  सांसद नविना लामाले विद्यार्थीको समस्याबारे आयोग संवेदनशील हुनुपर्ने धारणा राखिन् ।

माओवादीको केन्द्रीय समितिमा प्रस्तावितमध्ये ५० जनाको नाम मात्रै अनुमोदन

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ । काठमाडौंमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । ९७ जनाको सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको समेत नाम प्रस्ताव गरिएको थियो ।

केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको प्रति प्रश्न उठाएका थिए । उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । ५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । केन्द्रीय समितिले कार्यविभाजन प्रस्ताव पारित गरेको छ । पदाधिकारी भने स्थानीय तहको निर्वाचनपछि मात्रै चयन गरिने बताइएको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको छानबिन समितिको निष्कर्ष

सरकारले गठन गरेको छानबिन समितिले संवेदनशीलताअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था मजबुत नरहेको निष्कर्ष निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आफ्नो प्रतिवेदन बुझाउँदै विमानस्थलको सुरक्षा व्यवस्था थप सुदृढ गर्न सुझाव दिएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने सुझाव दिएको हो । समितिले तारबारसहितका सुरक्षा पूर्वाधारलाई मजबुत र चुस्त राख्न सुझाव दिएको छ । विमानस्थलको घेराबारा नाघेरै ९ फागुनमा राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र जहाजसम्म पुगेको समितिले निष्कर्ष निकालेको छ ।

नेकपा समाजवादीका अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा आज बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो । बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले उक्त प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताए । उनले पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने जानकारी दिए । राजनीतिक प्रतिबेदनमा एमसीसी मुलुकको हित अनुसार अघि बढाइएको , गठबन्धनको रक्षा लगायतका बिषय तथा निर्वाचन केन्द्रीय कार्ययोजना रहेको उनको भनाई छ ।

आगामी निर्वाचनको चिन्ह हरियो रंगको हुने

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनको चिन्ह हरियो रंगको हुने जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाई गर्दा चिन्ह, बिबरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरूको मूल्यांकन भइरहेको जानकारी दिए । त्यस्तै उनले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृतका लागि सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।

फाल्गुन २८ गते देखि १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । आज काठमाडौंमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।

महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिए । उनले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए । नेपालका १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनुपरेको महाशाखाले जनाएको छ ।

ललितपुरको कोन्ज्योसोममा एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीको निष्कर्ष

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु निसासिएर भएको प्रहरीले निष्कर्ष निकालेको छ । कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा आज विहान  ४ जना सुतिरहेको अवस्थामा मृत भेटिएका थिए भने दुइ दिने शिशुको उपचारका लागि पाटन अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृत फेला पर्नेहरुमा घरमुली ५५ वर्षीया काँइली स्याङतान उनकी २३ वर्षीया बुहारी सुस्मा स्याङतान, ९ वर्षका आशिष स्याङतान, र ७ वर्षकी आस्मा स्याङतान रहेका  छन् । यस्तै २३ वर्षीय छोरा सुभाष स्याङतानको भने उपचार भइरहेको छ । घरका सबै जना झ्याल टोका थुनेर आगो बालेर सुतेका कारण निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुर्खेतमा मृत्यु भएका कालिकोटका हमालको शव बुझ्न परिवार सहमत

सुर्खेतमा मृत्यु भएका कालिकोट तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको शव बुझ्न परिवार सहमत भएको छ ।  घटनाको निष्पक्ष छानविन गर्ने तथा परिवारलाई राहत उपलब्ध गराउन पहल गर्ने लिखित सहमति भएपछि मृतकका परिवार शव बुझ्न सहमत भएका हुन् । मृतकका परिवारलाई राज्यबाट क्षतिपूर्ति उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्ने लिखित सहमति भएको छ ।

स्थानीय प्रशासन र मृतकका परिवारबीच सोमबार सहमति भए पनि पोष्टमार्टम गर्न ढिला भएकाले मंगलबार मात्रै परिवारले शव बुझ्ने भएका छन् । हमाल शुक्रबार नेपालगञ्जबाट फर्किँदै गर्दा सुर्खेतको सुब्बाकुनामा प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै परिवारले असई शेरसिंह धामीबिरुद्ध किटानी जाहेरी दिएको छ ।

जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा छत्रदेव–६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी–२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा छन् ।

त्यस्तै, सिरहा–१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल–२ का २२ वर्षीय घनश्याम पहाडी छन् । साथै चन्द्रपुर नगरपालिका–४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर–४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर–५ का २२ वर्षीय रामबचनकुमार यादव छन् ।

काँग्रेस सर्लाहीको मतदान अनिश्चितकालका लागि स्थगित

कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार गर्ने भनिएको मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्ला कार्यसमिति चयनका लागि आज सदरमुकाम मलंगवास्थित पब्लिक मा.वि. मतदान केन्द्रमा हुने भनिएको मतदान अनिश्चितकाल लागि स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र सिंह र इतर समूहबाट लक्ष्मण राय यादवको उम्मेदवारी परेको छ ।

पीडितको चरित्र हत्या गर्ने युट्युब च्यानलका सञ्चालक पक्राउ

पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनको चरित्र हत्या गर्ने ललितपुरका विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ब्रोइलर कुखुराको मूल्य एकैदिन ६० रुपैयाँले वृद्धि

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बर्डफ्लू रोगको संक्रमण भेटिए पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेर प्रतिकेजी ४ सय ४० रुपैयाँ पुगेको छ । शनिबारसम्म प्रतिकेजी ३ सय ८० रुपैयाँमा व्यापार भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य आज ४ सय ४० रुपैयाँ पुगेको हो । एकैदिन कुखुरा व्यापारीले किलोमा ६० रुपैयाँका दरले मासुको भाउ बढाएका छन् । बर्डफ्लूका कारण बजारमा कुखुरा नपाइएपछि मूल्य बढेको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । बर्डफ्लूका कारण किसानकै खोरमा कुखुरा नष्ट गर्नुपरेकाले माग धान्न नसक्दा मूल्य बढेको उनको भनाइ छ ।

 नेपाली काँग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह विजयी

नेपाली कांग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह बिजयी भएका छन् । सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको अन्तिम नतिजा सार्वजनिक भएसँगै शाह विजयी भएका हुन् । सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि आज पुनः मतदान भएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : १९ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा