जनकपुरधाम– मधेश प्रदेश सरकारले कुष्ठराेग उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।
कुष्ठरोग उन्मूलनका लागि मधेश सरकारले जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या र अवस्थाका विषयमा खोजतालस गरी उपचारको व्यवस्थापन प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्क्रियासमेत गरेको छ ।
कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न धनुषामा तीन वर्षका लागि सुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउन पालिकाहरूको साथ तथा सक्रियता आवश्यक रहेको बताए थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्न धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठले कुष्ठरोगी पत्ता लगाउने तथा उनको सम्पर्कमा रहेकाहरूलाई औषधि खुवाउने अभियानले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुष्ठरोगको निवारणका लागि धनुषा जिल्लामा स्थानीय जनप्रतिनिधिहरूले बढी मेहनत गर्न आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिताकुमारी मिश्रले जनकपुरधाम कुष्ठरोगको दृष्टिकोणले उच्च जोखिममा रहेको बताउँदै कुष्ठरोगको निवारण अभियानमा उपमहानगरपालिकाले पूरा साथ दिने बताइन् ।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकुमार झाले स्थानीय सरकारको साथ तथा सहयोग बिना कुष्ठरोगको निवारण कठिन भएको बताउँदै यसका लागि जनप्रतिनिधिहरूको सहयोग आवश्यक भएको बताए ।
प्रतिक्रिया