आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

संसद् विघटन गर्ने इमरान खानको निर्णय पाकिस्तानी सर्वोच्चद्वारा बदर
पाकिस्तानको संसद भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानन्यायाधीश उमर अता बन्दियालसहित ५ न्यायाधीश सम्मिलित इजलासले संसद् भंग गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय पनि बदर गरिदिएको हो ।

सर्वोच्च अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुख कसिम खान सुरीको रुलिङलाई पनि ‘असंवैधानिक’ भनेको छ ।

अदालतले अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको रुलिङ बदर गरी यो प्रस्तावमा शनिबार मतदान गर्न पनि आदेश दिएको छ ।

अदालतले संसद् पुनर्वहाली गर्दै प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा आगामी शनिबार मतदान गर्नसमेत आदेश दिएको छ ।

यसअघि गत आइतबार पाकिस्तानी संसद्का उपसभामुख कसिम खान सुरीले प्रधानमन्त्रीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पाकिस्तानी संविधानको धारा ५ का आधारमा खारेज गरिएको जनाएका थिए । सभामुख असद कुशैरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराइएका कारण उपसभामुखले तल्लो सदन राष्ट्रिय सभाको अध्यक्षता गरेका हुन् ।

रुसी सेनाले डोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरेको युक्रेनी भनाइ

रुसी सेनाले डोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।

‘रुसी सेनाले पूर्वीयुक्रेनको डोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ ।

रूसी सेनाको मुख्य प्रयास डोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् ।

सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् । हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ ।

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

‘हतियार चाहियो’ : युक्रेन

रुसी आक्रमणविरुद्ध लड्न आफूहरूलाई हतियार चाहिएको युक्रेनी विदेशमन्त्रीले जनाएका छन् ।

उत्तर एटलाण्टिक सन्धि संगठन नेटोका विदेशमन्त्रीहरूको बैठकअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफूहरूलाई हतियार चाहिएको बताएका हुन् । ‘मेरो एजेण्डा सामान्य छ, हामीलाई तीनवटा चिज मात्र चाहिएको छ– हतियार, हतियार, हतियार’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘जति धेरै र जति चाँडै युक्रेनमा हतियारहरू आइपुग्छन्, त्यति नै धेरै मानिसको जीवन बचाउन सकिन्छ, त्यति नै धेरै शहर र गाउँहरू ध्वस्त हुँदैनन् ।’ उनले भने, ‘मेरो विचारमा युक्रेनीहरूको प्रस्ताव स्पष्ट छ, हामीलाई हतियार दिनुहोस्, हामी हाम्रो जीवन बलिदान गर्नेछौँ र युक्रेनमा युद्ध रोकिनेछ । यत्ति हो ।’

नेटोआबद्ध मुलुकका विदेशमन्त्रीहरूको बैठकले युक्रेनलाई प्रदान सैनिक सहयोगबारे छलफल गर्ने बीबीसीले जनाएको छ । यता रुसले भने युक्रेनमा हतियार आपूर्ति गर्ने कदमले शान्तिवार्तामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।

रुसी फौज किभ आसपासबाट पछि हटेको अमेरिकी दाबी

युक्रेनमाथि आक्रमण गरिरहेको रुसी फौजले राजधानी किभ आसपासबाट पछि हट्ने कार्य सम्पन्न गरेको अमेरिकी अधिकारीले जनाएका छन् ।

नाम नबताउने सर्तमा वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीले अल जजीरालाई बताएअनुसार किभ आसपासबाट पछि हटेसँगै रुसी सेनाले पुनः आक्रमण गर्न पुनर्ताजगी र बन्दोबस्तीको सामानको आपूर्तिको काम गरिरहेको छ ।

रुसले अब आफ्नो फौजको आक्रमण पूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित हुने बताइसकेको छ । ‘रुसी फौजले के के छाडेर गएछन् भनेर हामी हेरिरहेका छौँ ।’ ती अधिकारीले भने ।

रुसी फौज किभ आसपासबाट पछि हटेपनि किभमाथि रुसी आक्रमणको जोखिम भने उत्तिकै रहेको उनको भनाइ छ । ‘अहिलेका लागि किभमा जमिनबाट सैनिक कारवाहीको जोखिम छैन । तर उनीहरूको दीर्घकालीन लक्ष्य के हो त्यो पनि स्पष्ट छैन ।’ उनले भने ।

घर छाड्न पूर्वी युक्रेनका नागरिकलाई आह्वान

पूर्वी युक्रेनको खार्किभ, लुहान्स्कडोनेत्स्कका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न त्यहाँको सरकारले आह्वान गरेको छ ।

रुसी सेनाले पूर्वी युक्रेनलाई लक्षित गरी नयाँ हमला गर्ने त्रासबीच युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले यस्तो आग्रह गरेकी हुन् ।

‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको जोखिमको सामना गर्नेछन्’ प्रत्यक्ष टेलिभिजन सम्बोधनमा उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् ।

सरकारको अनुरोधपछि ती ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेको बताइएको छ । रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वी युक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो ।

पूर्वी युक्रेनलाई लक्षित गरी आक्रमण गर्नका लागि रुसी सेना अघिले पुनवर्गीकरण, पुनर्ताजगीमा लागेको विश्वास गरिन्छ । फेब्रुअरी २४ मा थालिएको आक्रमण राजधानी किभ आसपासको मोर्चामा सुस्त बनेपछि रुसी सेना पछि हटेका छन् ।

किभबाट पछि हटेका रुसी सैनिकलाई पूर्वी युक्रेनमाथि हमला गर्न तैनाथ गरिएको बताइन्छ ।

चार रुसी कूटनीतिज्ञलाई अष्ट्रियाले देश निकाला गर्‍यो

अष्ट्रियाले चार रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । अष्ट्रियन विदेशमन्त्रालयले जनाएअनुसार कूटनीतिक मर्यादाबाहिर गइ काम गर्ने चार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्न लागिएको हो ।

अष्ट्रियाबाट देश निकालामा पर्ने रुसी कूटनीतिज्ञहरूमा तीन जना भियनास्थित दूतावासमा कार्यरत रहेको र अर्का एक जना साल्जबर्ग शहरस्थित रुसी नियोगमा कार्यरत रहेको जनाइएको छ ।

उनीहरूलाई अष्ट्रिया छाड्न अप्रिल १२ सम्मको म्याद दिइएको रुसी समाचार संस्था तासले जनाएको छ ।

‘भियनास्थित रुसी दूतावासमा कार्यरत तीन कर्मचारी र साल्जबर्गस्थित रुसी नियोगमा कार्यरत एक कर्मचारीको कूटनीतिक हैसियत खारेज गरिएको अष्ट्रियन विदेश मन्त्रालय घोषणा गर्दन ।’ अष्ट्रियन विदेशमन्त्री अलेक्जाण्डर स्कालेनबर्गले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘कूटनीतिक मर्यादाबाहिर गई काम गरेका कारण कूटनीतिक सम्बन्ध सम्बन्धी भियना अभिसन्धिको धारा ९ अनुसार यी व्यक्तिहरूलाई अस्वीकार्य घोषणा गरिएको छ ।’

कूटनीतिज्ञहरूलाई रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण देशनिकाला गरिएको हो वा होइन भन्नेबारे अष्ट्रियन विदेश मन्त्रालयले कुनै टिप्पणी गरेको छैन ।

अष्ट्रेलियाले थप ६७ रुसीविरुद्ध प्रतिबन्ध लगाउने

अष्ट्रेलियाले थप ६७ जना रुसी विरुद्ध प्रतिबन्ध लगाउने भएको छ । युक्रेनमाथि आक्रमण गरेको सन्दर्भमा ६७ रुसीमाथि वित्तीय तथा यात्रा प्रतिबन्ध लगाउन लागिएको अष्ट्रेलियन विदेशमन्त्री मरिस पेनले जानकारी दिइन् ।

‘आज म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका र उनका कठोर काममा सहयोग र समर्थन गर्ने थप ६७ जना सम्भ्रान्त र धनाढ्यविरुद्ध प्रतिबन्धको घोषणा गर्दैछु’, बेल्जियमको राजधानी ब्रसेल्समा नेटो सदस्य राष्ट्रका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन् ।

नयाँ प्रतिबन्धमा रुसी सैनिक अधिकारी कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ र उप प्रधानमन्त्री दिमित्री ग्रिगोरेन्को समेत परेको रोयटर्सले जनाएको छ ।

यससँगै अष्ट्रेलियाले प्रतिबन्ध लगाएका रुसीहरुको संख्या झण्डै ६ सय पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ । बुचा र किभ नजिकका क्षेत्रमा रुसी युद्ध अपराधका प्रमाण फेला परेसँगै नयाँ प्रतिबन्ध घोषणा गरिएको उनको भनाइ छ ।

संकट टार्न श्रीलंकाली राष्ट्रपतिद्वारा सल्लाहकार समूह गठन

श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दीर्घकालको लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरूले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरू रहेको बताइएको छ ।

सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चर्को आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव खेपिरहेको श्रीलंकामा सरकारविरुद्ध प्रदर्शन चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले सल्लाहकार समूह गठन गरेका हुन् ।

श्रीलंकामा केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान अदालतको आदेश

राजधानी कोलम्बोस्थित एक अदालतले श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गभर्नरलाई भागेर विदेश नजान आदेश दिएको छ ।

कोलम्बोको चिफ मजिस्ट्रेट अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर अजिथ निभार्द काब्राललाई देश छाडेर कतै नजान आदेश दिएको श्रीलंकाको अंग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको हो ।

दक्षिणी प्रान्तका पूर्वगभर्नर रजिथ कीर्ति थेन्नाकुनको उजुरीका आधारमा कोलम्बोका अभियोजनकर्ता हर्षना केकुनवालाले अदालतमा पूर्व गभर्नरविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनलाई अप्रिल १८ मा अदालतमा हाजिर हुन समेत निर्देशन दिइएको छ । देशमा बढ्दो आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावबीच सरकारविरोधी प्रदर्शन चर्किएसँगै उनले केही दिनअघिमात्रै राजीनामा दिएका थिए ।

मुलुकको गिर्दो आर्थिक अवस्था तथा विदेशी मुद्राको चरम अभावको व्यवस्थापन गर्न नसकेको भन्दै पूर्व गभर्नर काब्रालको चर्को आलोचना हुने गरेको छ ।

श्रीलंका भ्रमण गर्नुअघि पुनर्विचार गर्न अमेरिकी नागरिकलाई आह्वान

अमेरिकाले आफ्ना नागरिकलाई संकटग्रस्त श्रीलंकाको भ्रमण गर्नुअघि पुनर्विचार गर्न आह्वान गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले आफ्ना नागरिकका लागि भ्रमण निर्देशिका (ट्राभल एडभाइजरी) जारी गर्दै यस्तो आह्वान गरेको हो । श्रीलंकामा आतंकवादको पनि खतरा रहेको एडभाइजरीमा उल्लेख छ ।

‘कोभिड १९ र इन्धन र औषधिको अभावका कारण श्रीलंका भ्रमण गर्न पुनर्विचार गर्नुहोला । आतंकवादका कारण श्रीलंकामा रहँदा उच्च सतर्कता अपनाउनुहोला ।’ विदेश मन्त्रालयको एडभाइजरीमा उल्लेख छ ।

‘हालै त्यहाँ आर्थिक अवस्थाका कारण प्रदर्शनहरू भएका छन् र पेट्रोल पम्प, औषधि पसल र किराना पसलमा मानिसहरुको लाम छ । देशभर नै प्रदर्शन भइरहेको छ र प्रायः शान्तिपूर्ण छ । कतै कतै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।’ एडभाइजरीमा जनाइएको छ ।

लकडाउनले साङ्घाईमा खानेकुरा अभाव

लकडाउनका कारण चीनको व्यापारिक केन्द्र साङ्घाईमा खाद्यान्न अभाव देखिएको छ ।

बढ्दो कोभिड १९ संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण स्थानीयहरुको खाद्यान्न सकिदै गएको बीबीसीले जनाएको छ । बिहीबारमात्रै साङ्घाईमा २० हजार भन्दा धेरै संक्रमित फेला परेका थिए ।

२ करोड ५० लाख जनसंख्या रहेको साङ्घाईमा अनिश्चितकालसम्मका लागि लकडाउनको घोषणा गरेसँगै शहरको खाद्यान्न आपूर्ति व्यवस्थामा असर पुगेको जनाइएको छ ।

‘कृपया अपर्याप्त आपूर्ति क्षमताबाट उत्पन्न समस्या समाधान गर्नुहोला ।’ चिनियाँ सामाजिक सञ्जाल वेइबोमा सरकारले जारी गरेको भिडियोमा एकजनाले प्रतिक्रिया दिएका छन् । ‘जीवनै मै पहिलोपल्ट म भोकै भएँ ।’ सामाजिक सञ्जालमा अर्का एक जनाको टिप्पणी छ ।

खाद्यान्न डेलिभरी गर्नेहरु पनि लकडाउन भएको क्षेत्रमा फसेका कारण यस्तो अवस्था उत्पन्न भएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीहरूले शहरमा लकडाउनका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै कठिनाइको समाधान गर्न आफूहरू लागि परेको जनाएका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : ३५ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै