‘संगीत सिक्न काठमाडौँमा ४ वर्ष ज्यामी काम गरेँ’ | Khabarhub Khabarhub

‘संगीत सिक्न काठमाडौँमा ४ वर्ष ज्यामी काम गरेँ’

नेपाली सांगितिक दूनियाँमा उदाएका युवा संगीतकार बाबुल गिरीको संघर्ष



सांगीतिक क्षेत्रका कलाकारबीच गायक तथा संगीतकार बाबुल गिरी परिचित नाम हो । नयाँ गीतमा संगीत भर्ने, स‍ंगीत एरेन्ज गर्ने र कतिपय गीतमा आफै स्वर पनि दिने गिरी रेकर्डिङ र मिक्सिङ पनि गर्छन् । उनले गीतमा लगभग सबै पक्ष आफैले हेर्ने भएकाले गीत तयार पार्दा कस्तो कुरामा बढी ख्याल गर्ने भन्नेमा आफूलाई अनुभव भइसकेको बताउँछन् । सांगीतिक क्षेत्रमा एक दशक बिताइसकेका बाबुलले हालै फिल्म ‘कृष्णलीला’ को ‘ए मेरो हजुर’ गीतमा संगीत भरेका छन्। उनका अरू थुप्रै गीत छन् । कुनैमा उनी एरेन्जरका रुपमा छन् भने कुनैमा स‍ंगीतकार त कुनैमा गायक । संगीत एरेन्जिङमा सिपालु गिरीसँग खबरहबकर्मी सेसेमी लिम्बुले गरेको कुराकानीको सम्पादित अंश:

तपाइको सांगीतिक यात्रामा पहिलो रेकर्डिङको अनुभव कस्तो रह्यो?

म गाउँमा प्लस टु पढ्दै गर्ने क्रममा संगीत क्षेत्रमा केही गर्छु भन्ने सोचका साथ काठमाडौँ आएको थिएँ । गाउँमा हुँदा पनि म जहिले पनि स्कूल र क्याम्पसमा गीत गाएर हिँड्ने गर्थेँ । पहिलेदेखि नै गीत गाउने साह्रै रहर थियो । काठमाडौँ आएपछि चार वर्ष ज्यामी काम पनि गरेँ ।

त्यसपछि संगीत सिक्न भनेर म संगीतशिला पाठशालामा गएँ ।  त्योबेला संगीतकार दिपक पाठक गुरुसँग मैले ५ महिना जति संगीत अध्ययन गरेँ । उहाँकै संगीतमा रहेको ‘याद आउँदा हेर्ने गर्छु’ बोलको गीत गाउने मौका पनि त्यतिबेलै मिलेको थियो । तर, त्यो गीत अहिलेसम्म पनि सार्वजनिक भएको छैन । त्यही मेरो पहिलो रेकर्डिङको अनुभव थियो । तर, त्यसको परिणाम खासै राम्रो थिएन । त्यसैले त्यो गीत नै सार्वजनिक गरिएन कि भन्ने लाग्छ ।

तस्वीर: बाबुल गिरीको फेसबूकबाट ।

रहरबाट सुरु भएको तपाइको सांगीतिक यात्राको कुन समयमा पुगेर यसलाई नै व्यावसायिक रुपमा निरन्तरता दिन्छु भन्ने विचार आयो त?

मेरो पहिलो रेकर्डको अडियो के भयो भन्ने अझै पनि जानकारी छैन तर त्यसपछि काठमाडौँमा बस्न मलाई गाह्रो भयो । त्यसपछि म फेरि गाउँ फर्केर स्नातकका लागि कलेज जान थालेँ । त्यसपछि २०६८ सालमा जसरी भए पनि संगीतमा केही गर्छु भन्ने सोचले फेरि काठमाडौँ प्रवेश गरेँ र अहिले पनि म यसैमा निरन्तर रुपमा अघि बढिरहेको छु ।

आफ्नो कार्यप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

म पहिले जोरपाटीमा बस्ने गर्थेँ । त्यतिबेला मेरो फर्निचर व्यवसाय पनि थियो । गीत गाउन सानैदेखि एकदमै ठूलो रहर तर अर्कै काम गर्नुपर्ने आफ्नो बाध्यता थियो। धेरै क्लास लिएर म त्यति पोख्त हुन सकेको छु जस्तो लाग्दैन तर फर्निचरमा काम गर्दै जाँदा मलाई धेरै अभ्यास गर्ने समय मिल्ने गर्थ्यो। त्यसपछि २०७२ सालको भूकम्पपछि बागबजारमा आफ्नै स्टुडियो खोलेँ । सुरुमा मैले काम पाउँछु कि पाउँदिन भन्ने एकदमै डर लागिरहेको थियो। संगीतका यति धेरै हस्तीका माझ म काम गर्न सक्छु कि सक्दिनँ भन्ने चुनौती थियो । कोठाभाडा कसरी तिर्ने होला भन्ने डर थियो। तर मैले संगीतकार सुक्र लिम्बुसँगको पहिलो सहकार्यपछि उहाँलाई मेरो काम एकदम चित्त बुझेछ त्यसपछि उहाँले लगातार दुई/तिन महिनासम्म ८० वटा जति गीतहरुको काम गर्न दिन थाल्नुभयो । त्यसरी सुरु भएको मेरो संगीत यात्रामा अहिले नियमित रुपमा कामहरु हुने गर्दा म आफ्नो कार्यप्रति एकदम सन्तुष्ट छु।

गायन, संगीत रचना, संगीत संयोजनका सम्पूर्ण विधामा आफैले काम गरिरहँदा कतिको चुनौतीपूर्ण अनुभव गर्नुहुन्छ ?
मैले याद गरेअनुसार म्युजिक क्षेत्रमा लाग्नुभएका अधिकांश स्रस्टाहरु गायक बन्छु भनेर नै प्रवेश गर्नुभएको छ। तर कसैको बाध्यताले गर्दा वा रहरले गर्दा अन्य काममा पनि आबद्ध हुनुपरेको छ । म पनि गाउने क्रममा आफै लय र धुनहरु फुर्न थालेपछि संगीतकार बन्न पुगेँ ।

तस्वीर: बाबुल गिरीको फेसबूकबाट ।

आफै यसरी संगीत गर्न थालेपछि संयोजन गर्न पनि सिक्न थालेँ । मजस्तै यसरी यति धेरै प्रतिभाशाली स्रष्टाहरुको यी धेरै विधामा संग्लग्नता हुँदा अत्यन्तै कडा प्रतिस्पर्धा पनि हुन्छ ।  र सबै काम पूरा गर्ने दायित्व आफ्नै भएको हुनाले आफूले कसरी एउटा उत्कृष्ट संगीत प्रदान गर्न सक्छु भन्ने चुनौती सधैँ नै रहने गरेको छ ।

गीत उत्कृष्ट हुनका लागि चाहिने सबैभन्दा बलियो विधा कुन हो जस्तो लाग्छ ?

वास्तवमा एउटा गीत त्यतिबेला उत्कृष्ट हुन्छ । जब सबै विधालाई उत्तिकै संयोजन गर्न सकिन्छ । तर पनि सर्वप्रथम एउटा संगीत नै बलियो हुनुपर्छ ।  साथै कसले सिर्जना गरिरहेको छ भन्ने कुराले पनि फरक पार्छ ।  रचनाका क्रममा शब्दलाई काँटछाँट गरेर लय सिर्जना गर्ने क्षमता आफूसँग हुन जरुरी छ । पक्कै पनि कोही शब्द आफैमा राम्रो हुन्छ तर त्यसमा अझै केही शब्द थपेर अझै राम्रो मिठास ल्याउन सकिन्छ कि भन्ने रचनात्मक क्षमताको पनि जरुरी हुन्छ ।

तपाईँले नयाँदेखि स्थापित स्रष्टाहरुसङ्ग काम गर्दा के फरकपन पाउनुहुन्छ ?

पक्कै पनि मैले सहकार्य गरिरहेको स्रष्टाहरु सबै एकै किसिमका हुनुहुन्न ।  कतिपटक अग्रज व्यक्तिहरुसङ्ग काम गर्दा उहाँहरुले नयाँलाई त्यति प्राथमिकता नदिएको पनि पाएको छु । सुरुवातमा विश्वाश नगर्ने तर कामको गुणस्तरीय देखेपछि राम्रो दृष्टिकोणले हेर्न थाल्नुभएको पनि देख्न पायौँ ।  र नयाँहरु सजिलो माध्यमबाट प्रवेश गर्ने भएर होला यो क्षेत्रलाइ त्यति गहन पूर्वक नहेरेको पनि पाए ।

अहिले सामाजिक सञ्जालमा जो चर्चामा आयो, उनीहरूलाई कुनै म्युजिक भिडियोको लागि प्रस्ताव गरिहाल्ने प्रवृत्तिले पनि नयाँ आउनले यो क्षेत्रलाई हल्का रुपमा लिएको महसूस गरेको छु ।

तस्वीर: बाबुल गिरीको फेसबूकबाट ।

यस क्षेत्रमा प्रवेश गर्न निश्चित मापदण्ड राख्नुपर्छ जस्तो लाग्छ ?

मापदण्ड राख्नेभन्दा पनि आफूले मापदण्ड पार गर्न सक्छु भन्ने व्यक्ति प्रवेश गर्न जरुरी छ ।  आफूले आफ्नो प्रतिभा यस्तो हो भन्ने महसूस गरेर त्यसलाई निखार्न कस्तो अध्ययन गर्न जरुरी छ भन्ने थाहा पाउनुपर्छ ।  कसैले मापदण्ड राखेर होइन आफैले व्यक्तिगत रुपमा कस्तो प्रस्तुति दिनसक्छु भन्ने थाहा पाएर मात्र यो क्षेत्रमा प्रवेश गर्न सक्छु ।

तपाईंको बुझाइमा लोकप्रियता हासिल गर्न कुन पक्षले निर्धारण गर्छ होला ?

कस्तोलाई दर्शकले रुचाउनुहुन्छ र कस्तोलाई रुचाउनुहुन्न भन्ने निर्णय दर्शकहरुकै हातमा हुन्छ । हामी काम गर्दै जाने हो। लोकप्रियता पाउन सकिन्छ कि सकिँदैन भन्ने भोलिका दिनमै थाहा पाइएला ।

कुनै गीतमा काम गर्नुअघि कुन पाटोलाई प्राथमिकता दिनुहुन्छ ?

पहिले म शब्दहरुलाई प्राथमिकता दिने गरेको छु । कसैले मलाई यस्तो किसिमको गीत सिर्जना गर्दिनु भनेर पनि आउने गर्नुहुन्छ । कुनैबेला म आफै पनि सबै कुरालाई नियालेर कुनै शब्दहरु काँटछाँट गर्न सक्छु कि सक्दिनँ भनेर पनि सोध्ने गरेको छु । पक्कै पनि आफू संग्लग्न भइसकेपछि कुनै पनि काम स्तरीय रुपमै पूरा गरौँ भन्ने तरिकाले नै काम गर्छु ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : ५३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको