सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभाबी रूपमा खोलाको छेउमा फोहर व्यवस्थापन गर्दा खोलाको प्राकृतिक स्वरुप पनि कुरूप बन्न थालेको छ ।
वडा नं १ को नेपाल राष्ट्र बैंक चोकबाट पश्चिमतर्फको सुकुटी नालामा फ्याँकिएको फोहरले दुर्गन्ध फैलिएर वरिपरिको वातावरणमा असर पुग्न थालेको हो । उपमहानगरपालिका कार्यालयबाट झन्डै चार सय मिटरको दूरीमा रहेको यो खोला छेउछाउमा रहेका व्यक्तिगत घर आँगनमा समेत फोहर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पुगेको नगरवासीको गुनासो छ ।
फोहरको उचित व्यवस्थापन गर्न नसकेर धनगढी उपमहानगरपालिकाले वषौंँदेखि सहरी क्षेत्रको घना बस्ती रहेका खोला छेउमा फोहर थुपार्ने गरेको छ । स्वच्छ, हराभरा, स्वस्थ्य र हरित नगरको विकास गर्ने उपमहानगरको नीति भए पनि जहाँ पायो त्यहीँ भइरहेको फोहर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पुगेको हो ।
नगरको मुख्य वनभोजस्थल र पर्यटकीय क्षेत्रका रूपमा रहेको नगरको देवहरिया सामुदायिक वन क्षेत्रमा समेत जथाभाबी रूपमा भइरहेको फोहरको व्यवस्थापनले वन क्षेत्र पनि कुरूप बन्दै गएको छ । प्राकृतिक खोला छेउछाउमा फोहर थुपार्ने प्रवृत्तिले वर्षा याममा खोलाको प्राकृतिक मार्गसमेत अवरुद्ध हुन गई बर्सेनि नगर क्षेत्रमा डुबानको समस्या पनि बढ्दै गएको पाइएको छ । खास गरी नगर क्षेत्र हुँदै बग्ने खोलामा जथाभाबी फोहरको व्यवस्थापन गर्दा वडा नं १, २, ४, ५, ७ र ८ का टोल बस्ती बढी प्रभावित हुने गरेका छन् ।
उपमहानगरपालिका कार्यालय सामुदायिक विकास तथा सरसफाइ शाखाका प्रमुख टङ्कबहादुर विष्टले भने सम्बन्धित टोलवासीसँग सहमति लिएर उहाँहरूले तोकेकै ठाउँमा फोहर व्यवस्थापन गर्ने गरिएको दाबी गर्नुहुन्छ । “वर्षौँदेखि खोला छेउछाउमा फोहर व्यवस्थापन गर्नुपर्ने अवस्था छ”, विष्टले भने , “फोहर व्यवस्थापन गर्दा विरोध आएमा अन्य ठाउँ खोजेर फोहर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।”
फोहरको व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्न उपमहानगरपालिकाले लामो समयदेखि प्रयास गरेको भए पनि उचित ठाउँ नपाउँदा अहिलेसम्म सफल हुन सकेको छैन । विगतमा उपमहानगरपालिका–२ मोहना नदी नजिकैको जग्गामा ल्यान्डफिल साइडको व्यवस्था गर्न गरिएको प्रयास स्थानीयवासीको विरोधका कारण सफल हुन सकेको थिएन । वडा नं ७ को खुटिया नदीछेउमा जग्गा पहिचान भई ल्यान्डफिल साइटको व्यवस्थाका लागि सूचना प्रकाशित भई प्रक्रिया अघि बढेको जनाइएको छ । दुई लाखभन्दा बढी जनसङ्ख्या पुगेको धनगढीको बजार क्षेत्रमा मात्रै दैनिक झन्डै १६ टन फोहर जम्मा हुने गरेको छ ।
उपमहानगरका सबै १९ वटै वडामा भने दैनिक ६५ टन फोहर जम्मा हुने गरेको सरसफाइ शाखा प्रमुख विष्टले बताए। सरसफाइमा उपमहानगरपालिका कार्यालयको वार्षिक झन्डै रु एक करोड ६३ लाख खर्च हुने गरेको छ ।
कार्यालयको जग्गामा फोहरको थुप्रो
धनगढी–१ मा रहेको नेपाल वायुसेवा निगमको स्वामित्वको जग्गाको उचित रेखदेख र संरक्षणको अभावमा कवाडीका सामान राख्ने र शौच गर्ने थलोमा परिणत हुँदै गएकामा पछिल्ला महिनामा फोहरसमेत थुपार्ने गरिएको छ ।
सो जग्गाको पश्चिमतर्फ रहेको बस्तीमा फोहर थन्क्याउँदा वरिपरिको वातावरण डुङडुङती गन्हाएर बस्नै नसकिने अवस्था छ । उचित रेखदेख र संरक्षण नहुँदा झन्डै १० कट्ठा क्षेत्रफलको यो जग्गामा प्रवेश गर्ने मुख्य गेट (प्रवेशद्वार) र वरिपरि लगाइएको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ ।
उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।
प्रतिक्रिया