काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. गठबन्धन कार्यदलको बैठक बस्दै
सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आजसम्म टुङ्ग्याउने बताएको छ । यसअघि हिजो साँझ बसेको कार्यदल बैठकले चुनावी तालमेल र सिट बाँडफाँड आज नै टुङ्ग्याउने निर्णय गरेको कार्यदलका एक सदस्यले बताएका छन् । उनले सिट बाँडफाँड सहमति नजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिटै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने बताए ।
२. प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकमा डा. भीम बहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।
३. सिडिओको सरुवा
सरकारले काठमाडौं उपत्यकासहित १० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौँको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ । कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् ।
४. ४४ स्थानीय तहले अझै पेश गरेनन् बजेट
नयाँ आर्थिक वर्षको दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९-८० को बजेट पेश नगरेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरेको पाइएको हो ।
५. आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरिँदै
आज १९औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरिँदै छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ कर्मचारीहरुले यो दिवस मनाउँदै छन् । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो । अहिले बिहान सिंहदरबार परिसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै छन् । कार्यक्रममा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरिँदै छ । तर यो वर्ष उत्कृष्ट कर्मचारी भने छनौट गरिएको छैन ।
६. इन्द्रजात्रा विधिवत् रूपमा सुरु
यो वर्षको इन्द्रजात्रा आजबाट विधिवत् रूपमा सुरु भएको छ । हनुमानढोका दरबार परिसरमा इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै यो वर्षको इन्द्रजात्रा सुरु भएको हो । करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखेर साँस्कृतिक बाजागाजा, ब्याण्डबाजा र पञ्चेबाजा बजाएर आज बिहान शुभ साइतमा लिंगो ठड्याइएको हो । नेपालभाषामा ‘योसीं’ भनिने लिंगोमा विभिन्न प्रकारका मंगलसूचक चिह्नअंकित पताकाहरू झुन्ड्याइएको हुन्छ । लिंगोको फेदमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिन्छ । तत्कालीन राजा सिंहप्रताप शाहले इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा चलाएका थिए।
७. चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय प्रेम तामाङ र पछाडि सवार स्थानीय ४६ वर्षीय राजकुमार तामाङ गम्भीर घाइते भएका थिए । घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति मृत्यु भएको हो ।
८. पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
९.रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने
रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ । रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाले जनाएको छ । एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको जनाइएको छ । युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा अमेरिकाले विश्लेषण गरेको छ ।
१०. नेपाल भलिबल संघको निर्वाचन हुँदै
नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भलिबल संघको चुनावी साधारण सभा हुन लागेको हो । संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल छन् भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया