लमजुङ – जिल्ला अस्पताल लमजुङमा बिरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।
अस्पतालमा साउनयता बिरामीको संख्या बढ्दै गएको छ । वृद्ध वृद्धा, वयस्कदेखि वृद्धवृद्धासम्म बिरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।
वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा बिरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्ध वृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ ।
वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाइमा ध्यान पुर्याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको छ ।
प्रतिक्रिया