आज भदौ २२ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो
चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना बेपत्ता रहेका छन् ।
पछिल्लो विवरण अनुसार गान्जी प्रान्तमा ४० जनाको ज्यान गएको छ भने १४ जना बेपत्ता भएका छन् । सो क्षेत्रमा अरु १७० जना घाइते भएका बताइएको छ । यान सहरमा ३४ जनाको मृत्यु भएको छ भने अरु १२ जना बेपत्ता भएका छन् ।
उक्त सहरमा अन्य ८९ जना घाइते भएका सहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ । सिचुआन प्रान्तको प्रान्तीय राजधानी चेङ्दुमा भूकम्पका कारण लाखौं मानिस प्रभावित भएका बताइएको छ ।
त्यसको नजिकैको सहर चोङचिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् । भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङदिङ सहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सो भूकम्पको केन्द्रविन्दु जमिनी सतहबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्प ६.८ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जनाएको छ ।
भूकम्पका कारण भौतिक संरचनामा पनि क्षति पुगेको छ । भूकम्पले भत्काएकाले यहाँबाट अन्य सहरमा जाने बाटो पनि अवरुद्ध भएको छ । त्यसैगरी मानिसको बसोबास रहेका कैयौँ क्षेत्रमा दूरसञ्चारका लाइनहरू काटिएकाले सञ्चार सम्पर्क पनि विच्छेद हुन पुगेको छ ।
यसैबीच चिनियाँ राष्ट्रपति सी जिन्पिङले सोमबार गएकोे भूकम्पका पीडित र प्रभावितको उद्धार कार्य चुस्त रुपमा गर्न निर्देशन दिएका छन् ।
उनले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न र भूकम्पका प्रभावितहरुको उद्धार र राहातको काममा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।
यता भूकम्प प्रभावित चिनियाँ सहर चेङ्दुका केही बासिन्दाहरूले कोभिड लकडाउनका कारण अधिकारीहरुले आफ्नो परिसरबाट भाग्न रोकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।
चेङ्दुका केही मानिसले भूकम्प जाँदा आफूहरु भित्रै बस्न बाध्य भएको गुनासो गरेका छन् । प्रतिबन्धका कारण आफूहरु बाहिर निस्कन नपाएको उनीहरुको भनाइ छ ।
फेरि कोभिड फैलिएपछि सरकारले २ करोड १० लाख जनसंख्या भएको चेङ्दुमा लकडाउन घोषणा गरिएको छ । चीनको कोभिड शून्य नीतिका कारण बारम्बार विभिन्न सहरमा लकडाउन जारी हुने गरेको छ । स्थानीय बासिन्दाहरु यसको चपेटामा परेको बताइएको छ ।
एकजना स्थानीय बासिन्दाले भूकम्पको धक्का महसुस गरेपछि आफू ३० तलाको भवनबाट तल झरेको तर प्रतिबन्धका कारण गेटबाट बाहिर निस्कन नपाएको गुनासो गरे ।
पुटिन र सीबीच अर्को हप्ता भेट हुने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । दुई मुलुकका राष्ट्रपतिबीच आगामी साता मध्य एसियाली मुलुक उज्वेकिस्तानमा भेट हुने भएको हो ।
उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबै नेताबीच भेटवार्ता हुन लागेको हो ।
चीनका लागि रूसी राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए ।
कोभिड–१९ को महामारीपछि चिनियाँ राष्ट्रपति सीको यो पहिलो विदेश भ्रमण हुनेछ । यद्यपि मुख्यभूमि चीनबाट उनी गत असार १७ गते हङकङ पुगेका थिए ।
हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।
साङ्घाइ सहयोग सङ्गठनमा चीन, रुस, चार मध्य एसियाली देशहरु काजाखस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन् ।
युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला रुसले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ ।
चीनले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो ।
युगान्डामा पहिरो जाँदा १५ जनाको मृत्यु
अफ्रिकी मुलुक युगाण्डामा पहिरोका कारण १५ जनाको ज्यान गएको छ । मुलुकको पश्चिममा रहेको कसेसेस्थित कासिका गाउँमा पहिरोले पुरिएको अवस्थामा १५ जनाको शव निकालिएको युगाण्डाको रेडक्रसले जनाएको छ ।
रेडक्रसका अनुसार पहिरोमा पुरिएका ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसेको सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।
विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले गर्दा वर्षाजन्य विपद्का घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ । शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।
भारत र बङ्गलादेशबीच सात सम्झौतामा हस्ताक्षर
भारत र बङ्गलादेशले जलस्रोत, रेलवे, अन्तरिक्ष प्रविधि, न्यायपालिका, वैज्ञानिक र प्राविधिक सहयोग र टिभी प्रसारणलगायत विभिन्न क्षेत्रका सात सम्झौतामा हस्ताक्षर गरेका छन् ।
भारतको चारदिने राजकीय भ्रमणमा रहेकी बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राजधानी नयाँ दिल्लीमा ती सम्झौतामा हस्ताक्षर भएको हो ।
दुई प्रधानमन्त्रीले पावर प्लान्ट, एक रेलवे पुल र थुप्रै रेल लाइन परियोजनाहरू सहित विभिन्न परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन पनि गरेका छन् ।
भारतीय विदेश सचिव विनय क्वात्राले पत्रकारहरूलाई प्रधानमन्त्रीद्वय मोदी र हसिनाले जल, व्यापार, आर्थिक सम्बन्ध र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा द्विपक्षीय विषयमा छलफल गरेको बताए ।
भारतमा सिट बेल्ट अनिवार्य
भारत सरकारले सडक यातायातका क्रममा सिट बेल्ट लगाउन अनवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको केन्द्रीय सरकारले जनाएको छ ।
यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ ।
भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताएका हुन् । उनेले भनेका छन्– ‘यससम्बन्धी विस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।’
भारतका प्रसिद्ध उद्योगी व्यवसायी साइरस मिस्त्रीको कार दुर्घटनामा परेर निधन भएपछि सरकारले यस्तो नियम ल्याएको हो । मुम्बईमा सडक दुर्घटनाका क्रममा उनले सिटबेल्ट नलगाएको पाइएको थियो ।
तर उनको पछाडि बसेका अरु व्यक्तिहरुले भने सिट बेल्ट बाँधेका थिए । यसका कारण उनीहरु सुरक्षित रहेका थिए । केन्द्रीय मन्त्री गड्करीले कारसम्बन्धी यो नियम भारतका सबै खालका कारहरुका लागि लागू हुने जानकारी पनि दिए ।
कोरोना अपडेट
विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
वर्ल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
भारतमा ४ करोड ४४ लाख ७० हजार १४१, फ्रान्समा ३ करोड ४६ लाख २३ हजार ९८, ब्राजिलमा ३ करोड ४५ लाख ३८ हजार ८८२ र जर्मनीमा ३ करोड २२ लाख ९७ हजार ५३७ जनामा कोरोना संक्रमण भइसकेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ६५ लाख ६ हजार ५६६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १० लाख ७३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या ब्राजिलमा ६ लाख ८४ हजार ६४६, भारतमा ५ लाख २८ हजार ३०, रुसमा ३ लाख ८४ हजार ८८२, मेक्सिकोमा ३ लाख २९ हजार ६३० र पेरुमा २ लाख १५ हजार ९२८ पुगेको छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
क्यामरुनमा पृथकतावादी आक्रमणमा ५ जनाको मृत्यु
अफ्रिकी मुलुक क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्यता रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीको आक्रमणमा परी ५ जनाको ज्यान गएको छ ।
दक्षिणपश्चिम क्यामरुनको अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्षेत्रमा संदिग्ध पृथकतावादीले यात्रुबाहक बसमा आक्रमण गर्दा अन्य तीन जना घाइते भएका छन् ।
कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन् ।
चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका जनाइएको छ । घाइते तीनैजना महिला हुन् । उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन् । देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
उपनिवेशिक कालमा जर्मनीको अधिनमा रहेको क्यामरुनलाई लिग अफ नेसन्सले पहिलो विश्वयुद्धपछि भर्साईको सन्धीअनुसार बेलायत र फ्रान्सको जिम्मा लगाएको थियो ।
सन्धीअनुसार जर्मन अधिनमा रहेको क्यनमरुनको अधिकांश भूभागमा फ्रान्सको प्रशासन स्थापना गरिएको थियो भने बेलायती उपनिवेश नाइजेरियासँग सीमा जोडिएको पश्चिमी भूभागमा भने बेलायती प्रशासन स्थापना गरिएको थियो ।
सन् १९६० जनवरी १ मा स्वतन्त्रताको घोषणा गरेको फ्रान्स नियन्त्रित क्यामरुनमा त्यसको झण्डै दुई वर्षपछि अर्थात् सन् १९६१ अक्टोबरमा बेलायती प्रशासनमा रहेको क्यामरुन गाभिन पुगेको थियो ।
त्यसयता यी दुई क्षेत्रबीच भाषिक अधिकार, मानवअधिकार, सामाजिक सुरक्षा, जातीय भेदभाव लगायतका विषयलाई लिएर तनाव उत्पन्न हुँदै आएको बताइन्छ ।
पछिल्लो समय सन् २०१७ यता अङ्ग्रेजीभाषी क्षेत्रका पृथकतावादीहरुले सो क्षेत्रमा हिंसात्मक आक्रमण गर्दै आएका छन् ।
भारतद्वारा अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान
भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो ।
भारतले प्रदान गरेका चिकित्सा सामग्री राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आह्वानअनुसार भारतले सहयोग गरेको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतले अफगानिस्तानलाई प्रदान गरेका चिकित्सा सामग्रीमा जीवन बचाउने औषधि, क्षयरोगविरुद्धको औषधि, ५ लाख डोज कोभिड १९ विरुद्धको खोप समावेश छन् ।
भारतले अफगानिस्तानलाई नियमितजसो चिकित्सा सामग्री प्रदान गर्दै आएको छ । यसबाहेक भारतले अफगानिस्तानमा गहुँलगायतका खाद्यान्न पनि प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया