काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे भने शेर मल्लले अविजित ३४ रन बनायो । राजु रिजालले अविजित २४ रन बनाए भने टेक रावलले १८ रन बनाए ।
कर्णालीका रवीन्द्र शाहीले ३ तथा दिवन पुनले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए । हिमान्सु शाही १२ रनमा आउट भए ।
सुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट तथा गजेन्द्र बोहराले दुई विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जित हो । समूह एकको सुदूरपश्चिमले चार खेलमा दुई अंक जोडेको छ । यता कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली तीन खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।
प्रतिक्रिया