नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बोलीका कारण चुनावको मुखमा पार्टीलाई नै अप्ठयारोमा पार्न थालेको छ। मुलुकको प्रधानमन्त्री भइसकेका ओलीले सामाजिक, धार्मिक र कूटनीतिक सद्भावको ख्याल नगरी जथाभावी विवादास्पद टिप्पणी गर्दै हिंड्दा ‘बोल्यो कि पोल्यो’ को अवस्था सिर्जना भएको छ।
बुधबार मात्र रुपन्देहीको बुटवलमा एमालेका अध्यक्ष ओलीको पुत्ला दहन गरिएको छ। नेपालका प्रथम सहिद लखन थापाबारे ओलीको अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएको मगर युवा संघले उनको पुत्ला दहन गरेको हो।
ओलीले चैत्र १८ मा पार्टी निकट अनेरास्ववियुको कार्यक्रममा बोल्दै ‘नेपालका प्रथम सहिद बाँकाबीर हुन्’ भनेपछि मगर समुदाय रुष्ट छ। बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्दै मगर युवाले ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए। चुनावको मुखमा यस्तो दृश्य पार्टीका लागि अहितकर छ भन्दै बुटवलको एमाले गण चिन्तित देखिन्छन्।
‘नेपालका प्रथम सहिद बाँकाबीर हुन्’ भन्ने अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान, रुपन्देहीले माग समेत गरेको छ। ओलीको पुत्ला दहनको भोलिपल्ट बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतिष्ठानले ‘पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको अभिव्यक्ति आपत्तिजनक’ ठहर्याएको छ।
‘२०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्याएर प्रथम सहिद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम सहिद बताउनु आश्चर्यजनक र शंकास्पद छ’, प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले भनेका छन्।
लखन थापालाई प्रथम सहिद घोषणा गरेर हुलाक टिकट प्रकाशन भइसकेको छ। पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि यही तथ्य उल्लेख छ। ओलीको बोलीले मगर समुदायको अपमान भएको प्रतिष्ठानको ठहर छ।
अध्यक्ष ओलीले कतिबेला कुन विषयमा बहस छेड्ने भन्ने हेक्का नराखेकै हुन्। नेपालका प्रथम सहिद को हुन् भन्ने विषय बौद्धिक र ऐतिहासिक बहसको विषय हुनसक्छ। यो विज्ञको जिम्मेवारी पनि हो। तर, चुनावको मुखमा असान्दर्भिक र अनावश्यक ऐतिहासिक बहस खडा गरेर कुनै एक समुदायलाई चिढयाउनु ओलीको अपरिपक्वता हो।
इतिहासविद् राजाराम सुवेदीका अनुसार अहिलेसम्म प्रमाणित तथ्यअनुसार नेपालका प्रथम सहिद लखन थापा मगर नै हुन्। सुवेदीले लेखेका छन्, ‘राणा शासनको कालो, क्रुर र अत्याचारी शासनबाट मुक्ति लिएर नेपालीलाई आफ्नो अस्मिता बचाउने प्रयत्न गरी प्राण आहुति दिने सिद्ध लखन थापा (दोस्रो) नेपालका प्रथम सहिद हुन्।’
प्रथम सहिद लखन थापा मगरलाई झुण्ड्याइएको स्थान गोरखा बुंकोट, काहुले भंगारमा जनस्तरबाट सालिक बनाइएको छ। बुटवलको राजमार्ग चौराहा र पोखरामा पनि उनको सालिक छ। दाङ, घोराहीमा ‘प्रथम सहिद लखन थापा मगर पार्क’ निर्धाणाधिन छ। तानसेन, पाल्पामा पनि उनको सालिक निर्माण हुँदैछ।
लखन थापा नै प्रथम सहिद हुन् भन्ने तथ्य स्थापित भइसकेको भए पनि सुरतबहादुर शाहले जब ‘नेपालका प्रथम अमर सहिद बाँकाबीर’ पुस्तिका प्रकाशमा ल्याए, त्यसपछि यो बौद्धिक बहसको विषय बनेको हो। लेखक शाहका अनुसार विक्रम सम्वत् १९०६ मा बलदेव शाह (बाँकाबीर) श्री ३ जंग बहादुर राणाको विरोधमा उभिदा मारिएका थिए।
जंग बहादुरले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरीमा जंग बहादुरप्रति आक्रोश थियो। बलदेव शाह (बाँकाबीर) अछामी राजासँग विवाह गरिएका गीर्वाणयुद्ध विक्रम शाहकी छोरी पट्टीकी नातिनीबाट जन्मिएका साहेबज्यू थिए। बाँकाबीरले राणाको फौजलाई रासन नदिने अभियान चलाएपछि राणाले उनको टाउको काटिदिए।
बाँकाबीरको विद्रोह राजनीति भन्दा पनि पारिवारिक देखिन्छ। पारिवारिक प्रतिशोधबाट प्रेरित बाँकाबीरलाई सहिद मान्न नमिल्ने एकथरीको तर्क छ। लखन थापा मगरले चाहिँ जंग बहादुरको निरंकुशताविरुद्ध जनतालाई संघर्षमा उतारेको प्रमाणित तथ्य छ। यसैकारण उनी नै प्रथम सहिद हुन् भन्नेमा अधिंकांश इतिहासकारको मतैक्यता छ।
धार्मिक र पौराणिक तथ्य बटार्दै
कुनै न कुनै विषयमा उटपटयाङ र ऐतिहासिक तथ्यहरुलाई बिना प्रमाण गिजोल्ने काम एमाले अध्यक्ष ओलीबाट हुँदै आएको छ। ‘प्रथम सहिद’ को विवाद खडा गरेर ओलीले जसरी मगर समुदायलाई भडकाएका थिए, यसैगरी उनले केही समयअघि धार्मिक तथ्यलाई पनि बिना प्रमाण तोडमोड गरेको देखिन्छ।
प्रधानमन्त्री भएकै बेला ओलीले नेपाल र भारतबीच स्थापित धार्मिक परम्परा, विश्वास र सर्वस्वीकार्य ऐतिहासिक तथ्यलाई बटार्ने प्रयास गरेका थिए। रामको जन्मभूमि नेपालको चितवनस्थित ठोरीमा भएको दाबी गर्दै उनले त्यहाँ मूर्तिसमेत स्थापित गराए।
ओलीको यस्तो हर्कतप्रति भारत र नेपालको हिन्दु समुदायले चर्को आपत्ति प्रकट गरेको थियो। भारतका सन्त, महन्त र बाबाहरुले ओलीले दुई देशबीचको धार्मिक सम्बन्धमै खलल पार्ने काम गरेको प्रतिक्रिया दिएका थिए।
२०७८ फागुनमा ओलीले पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा भगवान रामका पिताको नाममाथि नै नौलो तर्क अघि सारे। रामका पिता दशरथको नाम नेमी रहेको उनको जिकिर थियो।
‘माडीको छेउमा रामका बा नेमी थिए। वीरगन्जभन्दा करिब–करिब ६० किलोमिटर पश्चिम, माडी अथवा ठोरीमा। अहिलेको माडी र ठोरीको बीच-बीचमा पर्छ, त्यो। पहिलेको ठोरी नै हो, त्यो ठाउँ। त्यहाँ रामको जन्म भएको थियो र त्यसबेला त्यहाँको राजाको नाम थियो नेमी, जसले ४२ सय वर्षअघि मेसोपोटामियामा आविष्कार भएको गाडा नेपालमा ४० सय वर्ष अगाडि ल्याए र त्यसलाई घोडा लगाएर १० वटा रथ बनाए। १० वटा रथ बनाएकै कारण नेमीको नाम दशरथ रह्यो’, ओलीको भनाइ थियो।
रामका पिताको नाम दशरथ भएको तथ्य रामायणमै स्पष्ट भइसकेको हो। यसलाई बटार्दै अनावश्यक बहस खडा गर्नु आवश्यक थिएन। सोही कार्यक्रममा ओलीले ‘सत्य युग भनेको एकदम पछाडि परेको जमाना हो, त्यसपछि त्रेता युगमा थौरै विकास भएको’सम्म भनेका थिए। यो पनि हिन्दुहरुको धार्मिक र पौराणिक विश्वासमाथिको प्रश्न थियो।
हिन्दुहरु सत्य, त्रेता, द्वापर र कली युगमा विश्वास गर्छन्। सबैभन्दा स्वर्णीम र सुन्दर युग सत्य युग नै मान्छन्। पौराणिक मान्यता अनुसार प्रकृतिका सत्व, तम र रज गुणमध्ये सत्ययुगमा सत्व गुणको प्रधानता थियो। यसैले त्यो युगका मानिसमा त्याग, तपस्या, सत्य आचरण, सत्य बचन, अहिंसा, भगवान भक्ति, निस्वार्थ प्रेम र प्रकृति मैत्री भाव थियो।
पौराणिक विश्वास अनुसार सत्य युगमा मानिस कोही पनि पापी थिएनन्। इमानदार थिए। कोही स्वार्थी थिएनन्, परोपकारी र सहयोगी थिए। सबै भगवानको भक्तीमा लिन थिए। हरेकले चाहेको पुरा हुन्थ्यो। सबैसँग दैविक शक्ति थियो। सत्ययुगमा मानिसको आयु एक लाख वर्ष थियो।
पुराण, किंवदन्तीमा आधारित कतिपय कुराहरु अतिरंजित र असंभव भए पनि ठूलो समुदायको आस्था र विश्वास बनिसकेको विषयलाई जिम्मेवार हैसियतमा रहेको व्यक्तिले गिजोल्नु हुँदैन। अहिले पनि भारतमा पौराणिक र धार्मिक तथ्यको प्रमाणीकरण, अनुसन्धान र खोज चलिरहेकै छ। जबसम्म ति खोज र अनुसन्धानले नयाँ तथ्य उजागर गर्दैनन्, तबसम्म आम विश्वास र मान्यताविपरीत कसैले डेढ अक्कली तर्क गर्नु हुँदैन।
एमाले अध्यक्ष ओलीले समाज विकास र इतिहासको विकासक्रममा आधारमा मार्क्सवादी कोणबाट समाज झनपछि झन विकसित हुँदै गएको व्याख्या गर्न खोजेका होलान्। चाल्र्स डार्विनको सिद्धान्त अनुसार अहिलेको उन्नत र विकसित चेतनाको मानव आदिम युगमा गुफामा बस्थ्यो, त्योभन्दा पहिला मानिस बाँदर थियो।
यद्यपि , डार्विनको विकासवादको सिद्धान्तमाथि पनि प्रश्नहरु नउठेका होइनन्। अहिले पृथ्वीमा भएका पिरामिड, समुद्रमुनीको द्वारिका सहरको अवशेष र भारत र श्रीलंका जोडने समुद्रमुनीको राम सेतुको अवशेषले कुनैबेला अहिलेको मानव सभ्यताभन्दा पनि उन्नत सभ्यता थियो भन्ने पुष्टि गर्दछ।
वेदजस्तो बहुआयामिक ग्रन्थ रच्ने ऋषिहरुको चेतना अहिलेका मानिसको भन्दा उन्नत थियो भन्ने त स्पष्टै छ। आर्युवेदमाथि अहिले पश्चिमाहरु अनुसन्धान गरिरहेका छन्। संस्कृत भाषा ब्रम्हाण्डीय भाषा भएको नासाका वैज्ञानिकले नै प्रमाणित गरिसकेका छन्, जुन भाषामा सन्देश पठाउँदा सुदूर अन्तरिक्षमा रहेको स्पेश स्टेशन या यानले हुबहु ग्रहण गर्न सक्यो।
सत्य युग पक्कै उन्नत थियो। उन्नत युग त्यही हुन्छ, जहाँ उन्नत चेतनाका मानिस रहन्छन्। उन्नत चेतना हुनेहरुले राजनीतिक तिकडम, भ्रष्टाचार, विरोधी पक्षप्रति कटु आलोचना, संविधान उल्लंघन, संसद विघटन पक्कै गर्दैनन्। सत्य, धर्म, प्रेम, अहिंशा, अचौर्य, अपरिग्रह (सम्पत्ति नथुपार्ने) स्वभाव भएका मानिसको युग भएकाले सत्य युग भनिएको हो।
त्रेता युगमा रावणजस्ता छलकपटी प्रवृत्ति देखियो। द्वापर युगमा सत्ताका लागि भाइले भाइलाई मार्ने, जुवा खेल्नेलगायत अनेक अनैतिक प्रवृत्ति देखियो। अहिलको कली युगमा त झन प्रकृति दोहनदेखि जाल, झेल, छलकपट, भ्रष्टीकरण, हत्या, अपहरण, बलात्कार, चोरी, डकैतीलगायत भएभरका अवगुण बोकेका मानिसको जगजगी छ। यस हिसाबले हाम्रो धार्मिक पौराणिक विश्वासले औँल्याएको सत्य युगभन्दा त्यसपछिका युगहरु निम्छरा थिए भनेर मान्न सकिन्छ।
विज्ञान प्रविधिको विकास र मानिसको चतुरता र चलाखीपन बढनु नै उन्नत युगको पहिचान त पक्कै हैन होला। अतः ओलीले कुन आधारमा सत्य युग पछाडि परेको जमाना थियो’ भनेका हुन्, स्पष्ट छैन। सभ्यताको गोल चक्करमा अहिलेभन्दा पहिला मानव सभ्यताले उन्नती र प्रगतिको उचाई छोएको थियो, अन्तरिक्षबाट आएको कुनै विपत्ति या पृथ्वीमै कुनै महाविपत्तिबाट त्यो सभ्यता समाप्त भएको थियो भन्ने सिद्धान्तमा अहिले पनि खोज अनुसन्धान जारी छ।
अतः हचुवाकै भरमा अहिलेको भन्दा पहिलाको सभ्यता कमसल थियो, राम ठोरीमा जन्मिएका थिए, रामका बाबुको नाम नेमी थियो आदि तर्क गरेर ओलीले आफूलाई बौद्धिक नेता साबित गर्न खोजेका होलान्। तर, धार्मिक र पौराणिक विश्वासमै प्रमाण बिनाका छुद्र टिप्पणी गर्ने काम उनको होइन। के उनी यस मामिलाका ज्ञाता हुन् ? के उनी राहुल सांकृत्यायन झैं विषयका गहन अध्येता हुन् ? पक्कै होइनन्।
मधेसवादी भडकाउने भाषण
ओलीले मगर र हिन्दु समुदायको विश्वासमाथि भडकाउ भाषण गरेझैँ मधेसी समुदायलाई पनि चिढ्याउन बाँकी राखेका थिएनन्। संविधान निर्माणका क्रममा ओली मधेसी समुदायविरुद्ध नानाभाँती भाषण गरेर विवादमा आएका थिए।
यो २०७१ पुस २१ को घटना हो। तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि समावेस गर्नुपर्ने माग राखे। सुशील कोइराला प्रधानमन्त्री थिए। बालुवाटर बैठकमा महतोको यो प्रस्तावको कटु आलोचना गर्दै ओलीले भनेका थिए, ‘समथर भूभागजति सबै मधेसमा मिसाउने हो भने भारतका बिहार र उत्तरप्रदेशलाई पनि मधेसमा मिसाउँदा हुन्छ।’
यसपछि मधेसका जनता ओलीविरुद्ध भड्किए। महतोले ‘हामीलाई यूपी विहारमा जाउ भन्ने ?’ भन्दै ओलीविरुद्ध कटाक्ष गरे। संविधान निर्माण मधेसका मागलाई उचित सम्बोधन गर्दै उनीहरुलाई पनि सहमतिमा ल्याउने भूमिका निर्वाह गर्नुपर्नेमा ओलीको भडकाउ भाषणले झन् आगोमा मट्टीतेल छर्कियो।
२०७२ असोज १७ मा मधेसका दलको आन्दोलनका क्रममा हुलाकी राजमार्गमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए। ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेर अवमूल्यन गरे। मधेसका जनताको भावनामा त्यसबेला ठेस पुग्यो, जब मधेस आन्दोलनका क्रममा ५० जनाभन्दा बढीको मृत्यु भइरहँदा ओलीले भने, ‘दुई चार वटा आँप झरेर केही हुँदैन।’
ओलीको मधेसविरोधी भूमिकाकै कारण मधेसका मागसमेत समेटेर संविधान जारी हुन पाएन, जसका कारण संविधानलाई सर्वसम्मतीको दस्तावेज बन्न पाएन। आफ्नो सीमासँग जोडिएको क्षेत्रका बासिन्दाको मर्म र भावना नसमेटी संविधान जारी गरिएकोमा छिमेकी भारतसमेत रुष्ट भयो। त्यसपछि मधेस आन्दोलन, नाकाबन्दी आदि अनेक उपक्रम भए।
मधेस आन्दोलन र नाकाबन्दीको विरोधको जगमा राष्ट्रवादको आवेगी नारा दिएर यिनै ओली नेतृत्वको बाम गठबन्धनले २०७४ को निर्वाचनमा करीब दुई तिहाइ बहुमत ल्यायो। मधेसी समुदायलाई नसमेटेका कारण अहिले पनि मधेस केन्द्रित दलहरु संविधान संशोधनको मुद्दा उठाइरहकै छन्।
पछिल्ला दिन चुनावी भोटको राजनीतिका कारण मधेस सामु साखुल्ले पल्टिए पनि संविधानमा मधेसका मागको यथोचित सम्बोधन नगरी मधेसलाई मात्र होइन, नेपाल–भारत सम्बन्धमा समेत दरार उत्पन्न गर्ने भडकाउ भूमिका ओलीकै हो।
भारतप्रति तिक्त कटाक्ष
प्रधानमन्त्री हुँदा ओलीले यस्ता भाषण गरे, जसले भारतसमेत धेरै हदसम्म चिढियो। त्यसबेला सरकारको नीति तथा कार्यक्रमबारे संसद्लाई जवाफ दिने क्रममा ओलीले भारतको राष्ट्रिय आदर्श वाक्यमाथि नै अभद्र टिप्पणी गरेका थिए।
‘भारतको एउटा प्रतिक चिह्न छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह। चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ। त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ।
सत्यमेव जयते भारतको चिह्न मुनि छ, विश्वास चाहिँ म गर्छु। म सोध्नेवाला छु भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते ? दुईटै लेखेको छ। मास्तिर सिंह छन्, चारमुखे तल्तिर सत्यमेव जयते छ। त्यसकारण म विश्वास गर्छु, नेपाल विश्वास गर्छ, हामी सबै विश्वास गर्छौँ सत्यमेव जयते।’
सोही सम्बोधनमा उनले अन्य देशबाट आएको भन्दा भारतबाट आएको कोरोनाभाइरस ‘अलि कडा परेछ’ भन्ने अभिव्यक्ति दिएपछि भारतीय मिडिया र राजनीतिक तहमै आपत्ति जनाइएको थियो।
‘अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको अलि नरम देखिएको थियो। इटलीबाट आएको पनि अलि नरमै देखिएको थियो, दुबईबाट आएको पनि अलिक नरमै देखिएको थियो। तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ’, उनले भनेका थिए।
ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको समेत भनेका थिए। बहालवाला प्रधानमन्त्रीले त्यसरी छिमेकी मुलुकप्रति गम्भीर आक्षेप लगाएपछि नेपाल–भारत सम्बन्धमा चिसोपन बढ्दै गएको थियो। शेरबहादुर देउवाको हालैको भारत भ्रमणपछि बल्ल दुई देशबीच उतिबेलादेखिका तिक्तता मेटिएर सम्बन्धको नयाँ सुखद् चरण प्रारम्भ भएको छ।
ओलीको पछिल्लो बोलीले मगर समुदाय चिढिएको छ। एमाले नेतृत्वले ओलीको बरालिएको बोलीमा लगाम नलगाए चुनावी प्रचारका क्रममा ओलीको बोली नै पार्टीका लागि प्रत्युत्पादक हुने खतरा छ। बढ्दो उमेर, औषधिको डोज, सत्ता गठबन्धन शक्तिको दबाब र घट्दो राजनीतिक साखका कारण ओलीको बोली उत्तेजक, असंगत, असान्दर्भीक र केही हदसम्म अभद्र हुन थालेको प्रति एमाले नेतृत्व सजग भएन भने ओलीको बोलीकै कारण एमालेले चुनावी क्षति बेहोर्नु नपर्ला भन्न सकिन्न।
प्रतिक्रिया