काठमाडौँ – महिलाहरूको स्वास्थ्य अधिकारको विषयमा वकालत गर्ने ‘स्वास्थ्य अधिकारकर्मी’को रूपमा धेरैले चिन्छन् डाक्टर अरुणा उप्रेतीलाई । उमेरले ६ दशक पार गरेकी उप्रेती लामो समयदेखि महिला स्वास्थ्यको अधिकारका लागि वकालत गर्दै आएकी छन् ।
२०१७ सालमा काठमाडौँको डिल्लीबजारमा जन्मिएकी उप्रेतीको बाल्यकाल सुखद थियो । पारिवारिक अवस्था राम्रो भएकाले उनलाई पढाउन बाबुले घरमै गुरु राखिदिएका थिए । ७ वर्षको हुँदा कक्षा २ मा विजय मेमोलियलमा भर्ना भइन् । र, ५ कक्षासम्म त्यहाँ पढिन् । कक्षा ६ देखि १० सम्म ज्ञानेश्वरको महेन्द्रभवन उच्च माध्यमिक विद्यालयमा पढिन् ।
उप्रेतीलाई पाठ्यक्रमको भन्दा पनि कथाका किताबहरू पढ्न असाध्यै मन पर्ने, आफ्नो हजुरआमा र बुबालाई कथा सुनाउन लगाउँथिन् । बजार जाँदा होस् वा मामाघर, फर्किएर आउँदा उनको हातमा कथाको नयाँ किताब हुन्थ्यो ।
‘मलाई सानै हुँदा कथाको किताब एकदमै मनपर्ने, मेरो मामाघर भारतको लखनऊ हो । म कथाको किताब भनेपछि हिन्दी भाषाकै किताब पनि किनेर ल्याउँथेँ । जुन पढ्न असाध्यै रमाइलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘कथा, कविताको किताब पढ्ने बानीले मलाई कथा, कविता लेखनमा रुचि बढ्न थाल्यो । त्यसपछि आफैँले कथा, कविता लेखेर परिवार र साथीहरूलाई सुनाउन थालेँ ।’
यसरी पढ्ने क्रममा २०३२ सालमा एसएलसी दिएकी उप्रेतीले एसएलसीको नजिता भने सोचे अनुसार भएन । ‘मैले एसएलसीमा प्रथम श्रेणीमा पास हुन्छु भन्ने आशा गरेको थिएँ, तर सेकेण्ड डिभिजन मात्रै आयो,’ उनले भनिन्, ‘त्यति धेरै कथा कविता लेख्ने, पढ्ने मान्छे सबैभन्दा कम नम्बर नेपाली विषयमै आयो । एसएलसीको नतिजाले नरमाइलो लाग्यो ।’
त्यसपछिका यात्रा एसएलसी उत्तीर्ण सकिएपछि उप्रेतीले महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्टको कोर्ष पढ्न थालिन् । २०३३ देखि २०३६ सालसम्म हेल्थ असिस्टेन्टको कोर्ष सकिएपछि उनी पढ्नका लागि रसिया गइन् । सोभियत संघमा एमडी गर्न जाँदा पढाइसँगै उनले जनस्वास्थ्यको विषयमा धेरै ज्ञान हासिल गर्ने अवसर पनि पाइन् ।
रसियामा पढाइ सकेर २०४३ सालमा नेपाल फर्किएकी उप्रेतीले काठमाडौंको थापाथलीमा रहेको प्रसूति गृहमा मेडिकल अफिसरको रूपमा काम गर्न थालिन् । जुन उनको पहिलो जागिरे जीवनको सुरुवात थियो ।
‘तीन दिनसम्म डिउटी गरेँ, ड्युटीमै हुँदा छोरी पाएँ, छोरी पाएकै दिन जागिर पनि गयो’ उनले भनिन्, ‘सुत्केरी बिदाको लेटर आउनुपर्ने थियो । तर विडम्बना जागिरको अवधि सकिएको लेटर आयो । त्यो दिन लाइफकै बिर्सन नसक्ने दिन बन्यो ।’
ड्युटीमै सुत्केरी भएको त्यो दिन… उप्रेती थापाथलीको प्रसूति गृहमा मेडिकल अफिसरको रूपमा कार्यरत थिइन् । उनी थापाथलीमा कार्यरत हुँदा गर्भवती थिइन् । उनले आफ्नो पहिलो सन्तान अस्पतालमा डिउटीमै रहँदा नै जन्माएको सुनाइन् ।
‘मेरो सुत्केरी हुने समय आइसकेको थियो, तर अस्पतालले बिदा दिएको थिएन । ‘अस्पतालमा ३ दिनसम्म लगातार डिउटीमा खटिनुपर्थ्यो,’ उप्रेतीले डिउटीमै छोरी पाएको दिन सम्झिँदै भनिन्, ‘म बुधबारदेखि डिउटीमा थिएँ, शुक्रबार बिहानसम्म सुत्केरीकै उपचारमा खटिएँ, शुक्रबार बिहान ९ बजे सुत्केरी व्यथा लाग्न थालेपछि त्यहीँ अस्पतालमा भर्ना भएँ र २ घण्टापछि छोरी पाएँ ।’
छोरी आउँदा जागिर गयो कुनै पनि आमाका लागि पहिलो सन्तान पाउँदाको दिन सबैभन्दा सुखद हुन्छ । तर, उप्रेतीले पहिलो सन्तान पाउँदाको खुसी धेरै बेरसम्म अनुभव नै गर्न पाइनन् । छोरी पाएसँगै अस्पतालले उनको हातमा एउटा पत्र थमाइदियो, जागिरबाट निकालिएको भनेर ।
करार सेवामा कार्यरत उप्रेतीलाई अस्पतालले जागिर सकिएको भन्दै ‘उपहार स्वरूप’ जागिर सकिएको पत्र थमाइदियो । त्यो समयमा करारमा सेवामा रहेका चिकित्सकको करार अवधि सकिए पनि फेरि म्याद थप हुन्थ्यो । तर, उप्रेतीलाई अस्पताल प्रशासनले करार अवधिको म्याद थप गरिदिएन ।
‘तीन दिनसम्म डिउटी गरेँ, डिउटीमै हुँदा छोरी पाएँ, छोरी पाएकै दिन जागिर पनि गयो,’ उप्रेतीले भनिन्, ‘सुत्केरी बिदाको लेटर आउनुपर्नेमा जागिरको अवधि सकिएको लेटर थमाइदिए, मलाई त्यो दिन दुःख लाग्यो ।’
उप्रेती प्रसूतिगृहमा डिउटीमा रहँदा वीरगन्जकी एक महिला बसमार्फत अस्पतालमा प्रसूति हुन आएकी थिइन् । डा. उप्रेतीको टिमले ती महिलाको रगत परीक्षण ग¥यो । प्रसव पीडाले छटपटाइरहेकी ती महिलाको शरीरमा रगत नै थिएन ।
निकै जटिल अवस्थामा सुत्केरी हुन आएकी ती महिलाले बच्चा पनि जन्माइन् र स्वस्थ भएर घर फर्किइन् । जुन घटना उनी कहिल्यै बिर्सन सक्दिनन् । ‘प्रसव पीडामा छटपटाइरहेकी उनको शरीरमा रगत नै थिएन, उनी बाँच्ने सम्भावना किनै कम थियो, तर उनी बाँचिन् र बच्चा पनि जन्माइन्,’ डा. उप्रेतीले भनिन्, ‘उनी एकसाता अस्पताल बसेर स्वस्थ भएर फर्किइन् ।’
असुरक्षित गर्भपतनले निम्त्याएको जोखिम प्रसूतिगृहमा काम गर्दाको अर्को घटनालाई पनि उनी कहिल्यै भुल्न सक्दिनन् । २०४४ सालमा पतिको साथमा आएकी एक महिलाको अवस्था झनै जटिल थियो ।
जटिल अवस्थामा आएकी ती महिलाको रगत समूह पहिचान गर्नका लागि रगत निकाल्न हातमा नशा नै भेटिएन । असुरक्षित गर्भपतन गराएकाले धेरै रक्तश्राप भएर अपताल आएकी ती महिलाको अन्ततः मृत्यु भयो ।
‘नेपामा त्यतिबेला गर्भपतन गर्ने कानुनी अधिकार थिएन, त्यसैले मानिसहरूले गाउँघरमै जडीबुटी खाएर गर्भपतन गराउने प्रयास गर्दा उनको धेरै रगत बगेर मृत्यु भयो,’ उप्रेतीले भनिन्, ‘५ जना बच्चाकी आमा भइरहेकी ती महिलाको असुरक्षित गर्भपतनले मृत्यु हुँदा मलाई पनि निकै पीडा भयो ।’
त्यो घटनापछि उप्रेतीले नेपालमा सुरक्षित गर्भपतनको व्यवस्था हुनुपर्ने आवाज उठाउन थालेको उनले बताइन् ।
डाक्टरी जीवनको साथै स्वास्थ्य अधिकारकर्मी प्रसूति गृहको जागिर गुमे पनि उनी धेरै निराश भने भइनन् । अस्पतालको जागिर सकिए पनि महिला स्वास्थ्यका क्षेत्रमा क्रियाशील रहने उनको अठोट थियो । उनी अस्पतालको पूर्णकालीन कर्मचारी भएर भन्दा पनि महिला स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा काम गर्न चाहन्थिन् ।
छोरी तीन महिनाकी भएपछि उनले परिवार नियोजन कार्यक्रममा काम गर्न थालिन् । परिवार नियोजनको कार्यक्रममा सहभागी हुँदा उप्रेतीले नेपालका विकट जिल्ला हुम्ला, मुगु, अछाम जस्ताजिल्लाका महिलाहरूको अवस्था बुझ्ने अवसर पाइन् । उक्त अवसरले उनलाई स्वास्थ्यकर्मी मात्रै नभई स्वास्थ्य अधिकारकर्मीको रूपमा स्थापित गरायो ।
सरकारले परिवार नियोजनका कार्यक्रम सञ्चालन गरेको क्षेत्रमा बेला बेलामा स्वास्थ्य शिविर पनि आयोजना गरिन्थ्यो । शिविरको समयमा गर्भपतन समेत गराउन पाइथ्यो । तर, त्यो अधिकार महिलाको हितमा नभई सरकारी योजना पुरा गर्ने उद्देश्य मात्रै थियो ।
स्वास्थ्य अधिकारकर्मीको पहलपछि अन्ततः २०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पायो । २० वर्ष अघि कानुनी मान्यता पाएको गर्भपतनको अधिकारले धेरै नेपाली आमाहरूको ज्यान जोगिएको उप्रेतीको बुझाइ छ ।
गर्भपतनको अधिकारलाई कानुनी मान्यता दिलाउन खोज्दा जेल सजाय उप्रेतीले गर्भपतनको अधिकारले कानुनी मान्यता पाउनुपर्ने आवाज उठाउन थालिन् । स्वास्थ्य अधिकारको विषयमा वकालत गर्दा सरकारविरुद्ध बोल्न हुँदैन भन्नेहरू धेरै भेटिन्थे ।
तर, डाक्टर अरुणाले स्वास्थ्य अधिकारका लागि आवाज उठाउन छाडिनन् । २०४६ सालमा बहुदलीय व्यवस्थाका लागि भएको प्रजातान्त्रिक आन्दोलनमा समेत उनी सरिक भइन् । आन्दोलनको क्रममा उनी ३ पटकसम्म जेल समेत परिन् ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि नेपालमा सञ्चारमाध्यम खुल्ने क्रम बढ्यो । उप्रेतीले सञ्चारमाध्यममार्फत जनताका स्वास्थ्य अधिकारको विषयमा आवाज उठाउन थालिन् । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने आवाजहरू उठाउँदै गइन् । तर, उनको अभियानविरुद्ध कतिपय चिकित्सकहरू नै सहमत भएनन् ।
‘सुरक्षित गर्भपतन नहुँदा महिलाहरूको ज्यान जोखिममा थियो, त्यसैले जोखिम अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउनुपर्छ भन्दा कतिपय चिकित्सक नै सहमत थिएनन्,’ उप्रेती भन्छिन्, ‘गर्भपतनले कानुनी मान्यता नपाउँदा कतिपय डाक्टरहरूले लुकेर सुरक्षित गर्भपतन गराउने र कमाउने मौका पाएका थिए । त्यसैले उनीहरू सहमत थिएनन् ।’
चिकित्सकहरू आफ्नो स्वार्थमा मात्रै केन्द्रित छन् चिकित्सकहरू नै आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको उप्रेती बताउँछिन् । ‘चिकित्सकहरू क्लिनिकमा सुरक्षित, तर गैर कानुनी रूपमा गर्भपतन गराएर पैसा कमाउँथे, २०४६ सालमा अविवाहित महिलाको गर्भपतन गराउँदा १० हजार लिन्थे, कानुनी मान्यता पाइए पैसा कमाउन पाइँदैन थियो,’ उनी भन्छिन्, ‘लुकेर गर्भपतन गराउने चिकित्सकलाई कानुनी मान्यता चाहिन्छ भनेर बोल्नुस् न भन्दा मान्दैन थिए ।’
चिकित्सककै त्यो नियत देखेर उप्रेती निराश बनिन् । लुकिछिपी हुने सुरक्षित गर्भपतनले सम्पन्न परिवारका महिलाको मात्रै ज्यान जोखिन्थ्यो । तर, गर्भवती भएर जोखिममा परेकी गरिब महिलाले चाहेर पनि गर्भपतन गराउन सक्दैन थिए । गरिब महिलाको ज्यान सधैँ जोखिममा नै थियो।
विपन्न महिलाहरू जडीबुटीकै भरमा गर्भपतन गराउन खोज्दा उनीहरूको मृत्यु नै हुने अवस्थालाई उप्रेतीले ‘स्वीकार’ गर्न सकिनन् । सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइनुपर्छ भन्दै निरन्तर आवाज उठाइरहिन् ।
जसको प्रतिफल स्वरूप २०५९ सालमा नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता पायो । गर्भपतनको अधिकारले धेरै नेपाली आमाहरूको ज्यान जोगिएको छ । तर अहिले त्यसले ज्यान जोगाएको छैन अत्यधिक प्रयोगले उल्टै ज्यान लिएको उनको बुझाई छ ।