एमाले पहिलो शक्ति बन्छ भन्ने ओलीको मुख बन्द ! | Khabarhub Khabarhub

टिप्पणी

एमाले पहिलो शक्ति बन्छ भन्ने ओलीको मुख बन्द !

सत्ता गठबन्धनबाट झस्किएको प्रतिपक्षीमा चुनावी चिन्ता !


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : एक समय थियो, कम्युनिष्टमा मध्यमार्गी धारलाई अंगालेको तर दोधारे कम्युनिष्टमा रमाएको नेकपा एमाले आफूलाई पहिलो शक्ति भन्थ्यो । तथ्यगत रुपमा २०७४ सालको चुनावलाई फर्किएर हेर्ने हो भने नेकपा एमाले केन्द्रदेखि प्रदेशस्तरमा अहिलेपनि पहिलो पार्टी हो ।

यो पहिलो पार्टी वा पहिलो शक्तिको रटान ओलीले गएको स्थानीय तहको चुनावमा धेरै लगाए । उनले बोल्ने हरेक बोली र मञ्चमा एमाले नै देशको पहिलो शक्ति बन्नेछ भनेर भनिरहे । उनले स्थानीय तहको जनप्रतिनिधि चुन्ने क्रममा एमालेले सबै स्थानीय तहमा चुनाव जित्ने ठोकुवा गरिरहेका थिए ।

तर परिणाम के देखियो भने ओली जहाँ जहाँ पुगेर भाषण गरे, जहाँ उनको भाषण सुन्न आम मानिसको ठूलै भेला पारियो, त्यहाँ नै एमालेका नेता कार्यकर्ताले स्थानीय तहको चुनाव हारे । सायद, त्यसैको असर हुनु सक्छ, पछिल्लो समय ओलीले गर्ने भाषणमा अबको चुनावमा एमाले नै पहिलो शक्ति बन्छ भन्ने ठोकुवा गर्न सकेका छैनन् ।

पहिले आफैँसँग मिलेको तर अहिले फूटेर कांग्रेससँग मिलेर सत्ता गठबन्धनमा रमाएको माओवादी केन्द्रको निर्णायक साथ नहुँदा सत्ता यात्रा कति जटिल छ भन्ने कुरा एमाले अध्यक्ष ओलीलाई ज्ञात भएको हुनुपर्छ ।

माओवादीको आडमा प्रचण्ड बहुमत पाएर सत्ताको दम्भ राखेका ओलीले कांग्रेसलाई हेर्ने दृष्टिकोण यति साँघुरो थियो, जुन अहिले उनलाई त्यो आफ्नो गल्ती भएको महसुस पनि हुनुपर्छ । उनले विगतजस्तो कांग्रेस, माओवादीलाई कम्तीमा गाली गर्न छाडेका छन् । हिजो आफैँलाई प्रधानमन्त्री बनाएका माओवादी अध्यक्ष प्रचण्डलाई पनि गालीको वर्षा गराउन छाडेका छन् ।

अहिले उनी आफू मात्रै सबथोक नभएको महसुस हुन थालेको हुनुपर्छ । अर्कोलाई मुख छाडेर गाली गर्ने ओलीले अहिले सत्ता गठबन्धनको विरोध गरिरहेका छन् । उनलाई थाहा छ, हिजो माओवादीसँग मिलेर वाम गठबन्धन बनाउँदा त्यसको फाइदा र सफलता जति भयो, अहिले त्यो छैन ।

एक अर्काको साथ सहयोग लिएर सत्ता स्वार्थ लुटिरहेका दलका नेताहरु जब आफू सत्ताबाट पाखा लाग्छन्, त्यसलाई हेर्ने दृष्टिकोण असाध्यै साँघुरो बनाउँछन् । अनि हिजो आफूले गरेका सबै काम राम्रा, अहिले अरुले गरेका सबै काम नराम्रा भनेर टिप्पणी गर्छन् ।
यो नेपाली राजनीतिक दलका नेता कार्यकर्ताको दिनचर्या भएकोमा शंका छैन । तर जति काम जसरी पनि भएको छ, त्यो जनताको हितमा त छैन नै, संवैधानिक संरचनाअनुसार व्यवस्थित र सिस्टमेटिक पनि छैन ।

यसले नेताहरुलाई व्यक्तिगत रुपमा क्षणिक तिक्तता ल्याउँला । तर दीर्घकालीन रुपमा यसको असर ठूलो छ । अनि आफूले सत्ता नपाएको झोक अरुमाथि पोख्ने, अर्कोलाई कमजोर देख्ने, आफू मात्रै सर्वशक्तिमान ठान्ने र सत्ताबाट बाहिर आउनेवित्तिकै फेरि सत्ताकै लागि र्‍याल चुहाउने प्रवृत्तिले नेताहरुलाई घाटाको व्यापार मात्रै गर्छ ।

अहिले ओली कम्तीमा विगतमा आफ्नै झर्कोलाग्दा भाषणबाट सच्चिएर आफ्नै कार्यकर्तामाझ एमालेलाई हार्ने छुट छैन भन्न थालेका छन् । कांग्रेसले सत्ताको नेतृत्व गर्दा माओवादीलाई फाइदा छैन भन्दै प्रचण्डसँग वाम एकताका लागि एमाले नेताहरुले छलफल चलाइरहेका छन् ।

जबसम्म नेपाली राजनीतिमा अर्कोलाई गाली गरेर, दोष थोपरेर, भाषणपिच्छे धारेहात लगाएर मात्रै आफ्नो, पार्टी र देशको विकास हुँदैन भन्ने चिन्तन पलाउँछ । अनि मात्रै नागरिकमा पनि नेताहरुबाट सकारात्मक आशा र अपेक्षा बढ्न थाल्छ ।

होइन भने अहिले हरेक नागरिकमा राजनीतिक पार्टीको मुख्य उद्धेश्य सत्ता भएको र सत्तामा पुगेपछि पैँसा मात्रै कमाउने लोभ बोकेका मानिसहरुमा यो आक्रोश झन् बढ्ने निश्चित छ । जसकारण रवि लामिछाने, बालेन शाह जस्ता स्वतन्त्र व्यक्तिमा जनलहर बढ्न सक्छ ।

यसलाई फेरि ओली समाज भँडुवाको आरोप लगाइरहेका छन् । तर उनको व्यक्तिगत स्वभाव, पार्टीगत उद्धेश्य र नागरिकमा आशा दिलाउने काम नभएमा रवि लामिछाने तथा बालेनहरुमा स्वभाविक रुपमा अहिलेको भन्दा झन् जनमत बढ्ने देखिन्छ । जसको ढिलोचाँडो घाटा ओलीसँगै प्रचण्ड र देउवालाई समेत हुनेछ ।

एमालेलाई संसदीय दलको चुनावमा कसरी जिताउने भन्ने चिन्ता ओलीलाई छ । त्यसमा अहिले प्रतिपक्षी दलका कार्यकर्तालाई चुनावी चिन्ता झन्क ति होला सजिलै अनुमान गर्न सकिन्छ । त्यसमाथि जनताले अब ओलीको भाषणलाई मात्रै पत्याउने स्थिती झनै छैन ।

यो अवस्थामा माधव नेपाल समेत फुटेर गएकाले एमाले अध्यक्ष ओलीले कम्तीमा सम्मानजनक प्रतिपक्षीको सिट पनि पाउँछन् कि पाउँदैनन् भन्ने शंका छ । यस्तो टिठलाग्दो अवस्थामा ओलीले फेरि आउँदो चुनावमा एमाले पहिलो शक्ति बन्छ भनेर कसरी भन्नू ? त्यो भन्दा एमाले पहिलो शक्ति बन्छ भन्ने भविष्यवाणी गर्ने मुख बन्द गर्नू नै ओलीका लागि उपयुक्त भएर मौन बस्नु उचित होला ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  २ : ३१ बजे

काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकासका सचिवबीच कार्यसम्पादन सम्झौता 

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवं शहरी विकास मन्त्री

शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

गाईघाट– केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान

 कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

 कञ्चनपुर– कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती