आज असार २५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
प्रदर्शनकारीको आक्रोश थाम्न नसकेपछि श्रीलंकाली राष्ट्रपति कार्यालयबाट भागे
दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।
‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो । आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।
हजारौँ प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।
सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वतःस्फूर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।
श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । इन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए । यसैबीच, श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।
कर्फ्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।
श्रीङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ । उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाई छ।
दुवै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।
गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।
श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो ।
आबेको हत्यापछि शोकमा जापान
शुक्रबार हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उनको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो ।
शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का सदस्यहरू कालो पहिरन लगाएर श्रद्धाञ्जली दिन लाइन लागेका थिए । श्रद्धान्जली दिन प्रधानमन्त्री फुमिओ किसिदा पनि आबेको निवासमा जाने अनुमान गरिएको छ । यसैबीच, आबेको अन्तिम संस्कार मंगलबार गर्ने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।
जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए । बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो । आक्रमणको साढे पाँच घन्टापछि उनलाई मृत घोषित गरिएको थियो ।
उक्त हत्याको विश्व नेताहरूले निन्दा गरेका छन् । प्रहरीले आबेको हत्याराको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको छ ।
‘नारामा यस्तो घटना भएको देखेर म स्तब्ध छु’, डाउनटाउनको रेल स्टेसननजिकै भएको घटनास्थलमा फूल चढाएपछि ५० वर्षीय गृहिणी नात्सुमी निवाले भनिन् ।
अबेको हत्यापछि उपनिर्वाचनमा सहनुभूतिको मत बढ्ने आँकलन पनि गरिएका छन् । ‘अब सहानुभूतिको मतले विजयको मतान्तर बढाउन सक्छ’, सल्लाहकार फर्म टेनेओका उपाध्यक्ष जेम्स ब्राडीले भने । आबेको ठूलो प्रभाव रहेको लिबरल डेमोक्र्याटिक पार्टीले धेरै सिट ल्याउने यसअघि नै अनुमान गरिएको थियो ।
आबेको मृत्युले जापानमा सार्वजनिक व्यक्तित्वहरूका लागि सरकारले प्रदान गर्दै आएको सुरक्षाका बारेमा प्रश्न खडा गरेको छ । चुनावी मौसममा राजनीतिज्ञहरूले रेल स्टेसनहरू र सुपरमार्केटबाहिर मतदाताहरूलाई प्रत्यक्ष अपील गर्छन् । त्यस्ता क्षेत्र सुरक्षाका दृष्टिले बढी संवेदनशील मानिन्छन् ।
संसदको माथिल्लो सदनका लागि मतदान हुनुअघि चुनावी प्रचारको अन्तिम दिन शनिबार फेरि प्रचार सुरु भएको छ । चुनावमा प्रधानमन्त्री फुमियो किशिदाको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जित्ने आशा गरिएको छ ।
हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले एउटा ‘विशेष संगठन’ प्रति आक्रोश व्यक्त गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीका अनुसार आबे पनि सोही संगठनमा आबद्ध थिए । यद्यपि, संगठनबारे थप विवरण केही दिइएको छैन ।
आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आवे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।
सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।
राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए ।
उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।
मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए ।
उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।
भारतमा कोरोना भाइरसका १९ हजार संक्रमित थपिए
भारतमा कोरोना भाइरसबाट थप १९ हजार कोरोना संक्रमित थपिएका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।
योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
भारतमा पछिल्लो समयमा सक्रिय संक्रमितहरूको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।
सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।
सिंगापुरमा मलेशियाली नागरिकलाई मृत्युदण्ड
सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागूऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो ।
कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।
‘ कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु । दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कलवन्तको परिवार अझै जेलमा छ । म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन् ।
एलोन मस्क ट्विटर किन्ने सम्झौताबाट पछि हट्ने
अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल ट्विटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल अन्त्य गर्ने भएका छन् । मर्जर सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेका हुन् ।
विश्वका सबैभन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्विटर किन्ने निर्णय गरेका थिए । तर, उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।
ट्विटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफू पछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानुनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ ।
उल्लङ्घनबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामना गर्नु पर्न सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।
प्रतिक्रिया