अन्तर्राष्ट्रिय

युरोप र अमेरिकी प्रतिबन्धले बढ्यो रुसको समस्या

By मनोज घिमिरे

October 09, 2022

काठमाडौँ – आफूले कब्जामा लिएको युक्रेनको भूभागमा जनमत सङ्ग्रह भन्दै जबरजस्ती आफ्नो कानुन लादेपछि रुस माथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । त्यो प्रतिबन्धमा अमेरिका समर्थित युरोपेली राष्ट्रले पनि साथ दिने घोषणा गरी सकेका छन् ।

अमेरिकाले यस युद्धलाई चाँडो रोक्न तथा दबाब दिनका लागि थप प्रतिबन्ध लगाए पनि मस्को प्रशासन भने टसमस गर्ने पक्षमा नै देखिएको छैन ।

अमेरिकाको नयाँ प्रतिबन्धका कार्यक्रमको निसाना २ सय ७८ जना संसद् सदस्य तथा रक्षा उद्योगसँग सम्बन्धी अन्य १४ जना पनि रहेका छन् ।

यस प्रतिबन्धको लक्षित समूह अरू पनि छन् । रुस बाहिर रहेर ती चार प्रान्त कब्जा जमाएर बस्न रुसी सेनालाई सहयोग गर्ने अन्य संस्था वा व्यक्ति यस प्रतिबन्धको सिकारमा छन् ।

युरोपेली युनियन सहितले तयार गरेको नयाँ ढाँचाको प्रतिबन्ध अनुसार रुसी समानको आयातमा प्रतिबन्धको निर्णय भएको हो । रुसमा उच्च प्रविधिको सामान निर्यात गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

पश्चिमा देशहरूले रुस माथि मुद्रा अभावको सृजना गर्न लागी परेका छन् । अमेरिकी बैङ्कमा विदेशी मुद्रा प्रयोग गरेर आर्थिक कारोबार गर्न रुस माथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा बजारमा प्रभाव जमाएको स्विफ्ट प्रणालीबाट रुसका बैंकहरूलाई बाहिर राखिएको छ । यसले रुसलाई पेट्रोलियम पदार्थ तथा ग्यास बापतको दिनु पर्ने रकम दिन ढिलाइ हुने छ ।

बेलायतको आफ्नो वित्तीय संरचनाहरूबाट रुसका बैङ्कलाई हटाएको छ । बेलायतका बैङ्कबाट रुसले कुनै डिपोजिट गर्न तथा डिपोजिट गरिएको रकम झिक्न समेत प्रतिबन्ध लगाइएको छ ।

अबको डिसेम्बर देखि समुद्री मार्ग हुँदै रुसी तेल आयात गर्न युरोपेली युनियनले सम्पूर्ण देशहरूलाई प्रतिबन्धित गर्ने भएको छ । २०२३ फेब्रुअरी देखि युरोपेली युनियनले रुसबाट प्रशोधित तेल जन्य उत्पादन निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

अमेरिकाले रुसबाट सम्पूर्ण ग्यास तथा तेल निर्यातमा प्रतिबन्धको निर्णय गरेको छ । बेलायतले २०२२को अन्त्य सम्ममा आफ्नो देशलाई रुसी तेलबाट मुक्त गराउने जनाएको छ । रुसबाट नोर्डस्ट्रिम २ ग्यास आयात गर्ने जर्मनीको अहिलेको योजना अझ रोकिने भएको छ । यसै गरी युरोपेली युनियनले रुसी कोइला खरिद नगर्ने निर्णय गरेको छ ।

सन् २०२२ को अन्त्य देखि युरोपेली युनियन र जी सेभेन राष्ट्रले रुसी तेललाई तिर्दै आएको रकमको सीमा निर्धारण गर्ने भएको छ । त्यो रकम भन्दा बढी तिरेर तेल ल्याउनमा उनीहरूले आयातकर्ता कम्पनीहरूलाई जहाजको खर्च नदिने नीति बनाएको छ । युरोपेली युनियनले रुसी ग्यास माथि भने कुनै प्रतिबन्ध लगाएको छैन । युरोपका ४० प्रतिशत ग्यासको आपूर्ति रुसबाट नै हुने गरेका छन् ।

अमेरिका, बेलायत र युरोपेली युनियनले पछिल्लो समय हजार भन्दा बढी रुसी धनाढ्य तथा तेल व्यापारीलाई आफ्नो निसाना बनाएका छन् । त्रिमिलनसँग नजिकको सम्बन्ध रहेका रोमन एब्राहमोभिच लगायतका धेरै व्यापारी यस्तो निसानामा परेका छन् ।

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन तथा विदेश मन्त्रीसँग सम्बन्धित कुनै सामान युरोप, अमेरिका, बेलायत र क्यानडाबाट लैजान र ल्याउनका लागि रोक लगाइएको छ । रुससँग सरोकार राख्ने धेरै पानी जहाजलाई प्रतिबन्ध लगाइएको छ । न्युयोर्कमा रुसका एलमनियम उद्योगका ओलेग डेरीपस्का रुसी प्रतिबन्धको नियम उल्लङ्घन गरेकाले कारबाहीका भागीदार भएका छन् ।

बेलायतमै बसोबासको अधिकार पाउने गोल्डेन भिसा रुसी व्यापारीलाई दिन भने प्रतिबन्ध लगाइएको छ । अमेरिका, बेलायत र युरोपेली युनियनबाट नागरिक तथा सैन्य प्रायोजनले प्रयोग हुने धेरै कुरामा प्रतिबन्ध लगाइएको छ । सबै भन्दा धेरै सवारी साधनका पाट पुर्जा रुसमा आयात गर्न प्रतिबन्ध लगाइएको छ ।

अमेरिका, बेलायत, युरोपेली युनियन तथा क्यानडामा रुसी विमान प्रतिबन्ध गरिएका छन् । ती देशको बाटो हुँदै रुसी विमान आवतजावतमा पनि प्रतिबन्ध लगाइएका छन् । रुसको सुन निर्यात गर्न पनि ती देशहरूमा प्रतिबन्ध लगाइएको हो ।

रुसका विलासितामा सामान निर्यात गर्न प्रतिबन्ध लगाइएको छ । यसै गरी, भोड्का लगायत केही सामग्री ल्याउँदा करको दायरामा ३५ प्रतिसतले वृद्धि गरिएको छ । थुप्रै अन्तर्राष्ट्रिय कम्पनीहरूले रुसको सामान खरिद गर्न बन्द गर्नुका साथै व्यापारिक कारोबार नै ठप्प पारेका छन् ।

युद्धमा हुने धेरै रुसी खर्च पेट्रोलियम पदार्थ र ग्यासबाट नै उठ्ने गरेको छ । गत वर्ष तेल बापतको कुल आम्दानीमा ४१ प्रतिशत वृद्धि भएको अनुसन्धानकर्ता संस्था आर्गस मिडियाका प्रमुख अर्थशास्त्री डेभिड फायले बताएका छन् ।

उनका अनुसार रुसको कुल निर्यातबाट प्राप्त हुने रकम नै ४० प्रतिशत तेल निर्यात बाट आउने रकम हो । यसले नै युद्धलाई धेरै सहयोग फायकै अनुसार यस प्रतिबन्धले रुसलाई अन्य विविध क्षेत्रमा कमजोर बनाउने छ । खास गरेर सैन्य प्रविधिमा अब रुस धेरै कमजोर बन्न सक्ने छ । बाह्य देशबाट आउने सैन्य सहयोग सम्बन्धी सामग्री नआए पछि उसका धेरै आधार नै भत्किएका छन् ।

रुसले पनि २ सय सामग्री निर्यातमा प्रतिबन्ध लगाएको छ । रुसले निर्यात बन्द गरेका बस्तुमा टेलीकम्नीकेसन, सवारी साधन,कृषि, विद्युतीय सामग्री तथा टिम्बर उत्पादन छन् । देश बाहिरका सेयर होल्डरलाई उनीहरूको रकम दिन पनि प्रतिबन्ध लगाइएको छ । रुस बाहिरका व्यापारीलाई रुसमा लगानी गर्न रोक लगाइएको छ । यत्ति मात्र होइन, रुसी कम्पनीमा सेयर भएमा अरबौँ व्यापारीलाई शेयर विक्री गर्न पनि रोक लगाइएको छ ।

फेब्रुअरी महिनामा रुसले युक्रेनमा युद्ध सुरु गरे यताका ६ महिनामा थुप्रै आर्थिक अप्ठेरो भोगेको छ । यो पछिल्लो प्रतिबन्ध भन्दा अगाडी नै रुसको अर्थतन्त्र १२ प्रतिसतले यस वर्ष ओरालो लाग्ने अनुमान गरिएको थियो । केही महिना अगाडीकै एक रिपोर्टका अनुसार सोभियत सङ्घको विघटन पछि रुसमा यो दोस्रो पटकको कमजोर आर्थिक अवस्था हो । यस अगाडी सन् १९९८ मा मन्दीका कारण रुसले आर्थिक सङ्कटको सामना गरेको छ ।

कोभिड १९ महामारीका कारण संसारका अन्य देशलाई झैँ रुसलाई पनि प्रभाव पारेको थियो । रुस पनि त्यस महामारीले भएको आर्थिक क्षतिलाई पुरा गर्ने बाटोमा अघि बढी रहेकै समयमा नेतृत्वले गलत बाटो लिएको थियो ।

अहिलेको मुद्रास्फीति २० वर्षकै उच्च हो । अमेरिकी डलरको तुलनामा रुसको मुद्राको दर प्रत्येक दिन जसो घटी रहेको छ । रुसका पछिल्लो केही तथ्याङ्कले त्यहाँका सामान्य व्यक्तिको जीवन यापनको मूल्यमा अहिले १०.७ प्रतिसतले वृद्धि भएको छ ।

रुस युक्रेन युद्धका कारण युक्रेनले पक्कै क्षत सहेको छ । तर, रुसले सहेको क्षति पनि बढ्दो छ । मानवीय क्षति रुसको पनि भइरहेको छ भने त्यहाँको शैक्षिक अवस्था पनि दिन दिनै खराब बनी रहेको छ । राज्यसत्ता प्रति वितृष्णा जागेर देश छाड्नेहरूको लामो शृङ्खला नै बनिसकेको छ ।

खेलकुद, संस्कृति र कलाका विषयमा रुसलाई संसारले बे वास्ता गर्दै आए पछि त्यस क्षेत्रका रुसी नागरिक राज्यको विरुद्धमा उभिने अवस्थाको सृजना भई सकेको छ । यसै समयमा अमेरिका र युरोपेली युनियनको यो प्रतिबन्धले रुसलाई थप समस्यामा धकेल्न सक्ने छ ।

(स्रोत : बीबीसी, वी फोरम, रिलिफवेब)