शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न | Khabarhub Khabarhub

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धक रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

आयोगबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार करिब एक हजार छ सय प्रतिनिधिसभा र करिब दुई हजार उम्मेदवारी प्रदेशसभा सदस्यका लागि परेको छ । उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेकाले केही समयपछि अन्तिम तथ्याङ्क सार्वजनिक गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामबद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलिरहेको छ । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो ।

मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो ।

साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्ष नेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।

कुन–कुन दलबीच के–कस्तो गठबन्धन हुन्छ भन्ने विषयमा सर्वत्र निकै चासोका साथ हेरिएकामा उम्मेदवार मनोनयनसँगै त्यो अन्योल हटेको छ । त्यसो त प्रमुख पार्टीभित्र नै पनि उम्मेदवार चयनका विषयलाई लिएर केही आलोचना र टिप्पणीसमेत भएको पाइएको छ ।

अघिल्ला निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका राजनीतिक दलका उम्मेदवार सहयोग र सहकार्य गर्ने प्रतिबद्धताका साथ अर्काे पार्टी र आफ्नो पार्टीको झण्डा एउटै हातमा लिएर उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको दृश्य रोचक नै थियो ।

निर्वाचनमा उम्मेदवारले दुवै पार्टीका झण्डा बोकेर हिँड्ने परिस्थिति निर्माण हुनुलाई राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैनन् भन्ने सन्देश प्रवाह भएको छ ।

यसपटकको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा मात्र नभई आफ्नो पार्टीभित्र निकै प्रभावशाली मानिएका डा बाबुराम भट्टराई, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, हरिबोल गजुरेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्यलगायतका नेता उम्मेदवारका रूपमा देखिएनन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नेपालको संसदीय निर्वाचनका हिसाबले छैटौँ र गणतन्त्र स्थापनापछिको दोस्रो हो । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४९ राजनीतिक दलले भाग लिएकामा दलका एक हजार चार सय ५२ र स्वतन्त्र चार सय ९२ गरी कुल एक हजार नौ सय ४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र  समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिधिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ०६ बजे

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य

कालो बजारी नियन्त्रण गर्न एमालेको माग

काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो

प्रधानसेनापतिद्वारा शान्ति सैनिकबारेमा जानकारी

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति