(आइतबार प्रकाशित डन अखबारको सम्पादकीय)
गएराति एक समय यस्तो लाग्दै थियो कि पाकिस्तानी राज्यसंयन्त्रका सबै स्तम्भहरू एक आपसमा भयानक टकराव तर्फ अघि बढ्दैछन् । राज्यका शीर्षस्थ संयन्त्रमा बिपत्तीले छोपिहाल्ने जस्तो अवस्था थियो ।आफ्नो बहिर्गमन निश्चितप्रायः रहेपनि इमरान खान न्यायपालिका र सेनाका प्रमुख अनि पूरै संसद्लाई ‘अन्तिम बलसम्म खेल्न’ बाध्य बनाउँदै सामान्य संसदीय प्रक्रियालाई तमासा बनाउन तयार थिए ।
अन्ततः घडीले शनिबारको दिनलाई बिदा गर्दै गर्दा बल्ल विपक्षीले आफ्नो कदम चाल्ने मौका पाए भने उनी पद गुमाउन बाध्य भए । र, रातको अँध्यारोमा पाकिस्तानी संविधान दिवसको शुरुका केही घण्टाहरुमा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) को सरकार ठूलो गर्जन नभई सानो सुस्केराका साथ ढल्यो ।
सन् २०१८ मा सबैभन्दा ठूलो पार्टी बनेर उदाएको पीटीआईले दुर्गन्धित पाकिस्तानी राजनीतिमा ताजा हावा बन्ने बाचा गरेको थियो ।
राजनीतिक इन्जिनियरिङ र त्रुटिपूर्ण मत प्रसारण प्रणालीले पीटीआईको जितको वैधतालाई घटाएपनि पाकिस्तानी जनता यस पार्टीलाई मौका दिन तयार थिए । तर, आफ्ना उच्च आदर्शलाई पूरा गर्न पार्टी छोटो समयमा नै असफल देखियो ।
सामान्य बहुमत हासिल गर्न असफल भएपछि संघीय सरकारमा दाबी गर्न यो पार्टीले गैर लोकतान्त्रिक शक्तिहरुसँग समेत सम्झौता गर्न पुग्यो ।
जिम्मेवारीमा रहँदा प्राप्त हुने उपलब्धीले यस्ता सम्झौताको भर्पाई गर्ने पार्टीका नेताहरूको अपेक्षा थियो भने उनीहरूको अनुभवहीनताका कारण यो अपेक्षा सफल हुन सकेन । एक वर्ष नबित्दै प्रधानमन्त्री आफ्नो मन्त्रिपरिषद् हेरफेरमा लागे ।
के दुर्भाग्यपूर्ण छ भने आफ्ना असफलताको आत्मसमीक्षा र आत्मआलोचना गर्नुको सट्टा पीटीआईले विपक्षीतर्फ खनिन उचित ठान्यो । यस्तो रणनीतिले पार्टीबाट परिवर्तनको अपेक्षा गरेका धेरैको मन खिन्न भयो ।
त्यसैगरी मुलुकका महत्वपूर्ण निर्णायक क्षेत्रमा ‘मार्गदर्शन’ लिन यो पार्टी पाकिस्तानी संस्थापनसँग धेरै निर्भर हुन पुग्यो । यो त्यसबेला घातक सिद्ध भयो जतिबेला संस्थापनले सरकारलाई समर्थन नगर्ने निर्णय गर्यो ।
अनुभवहीनता सरकारका लागि बर्बादीको कारण बनेपनि पीटीआईले केही महत्वपूर्ण उपलब्धि हासिल भने गर्न सफल रह्यो । कोभिड महामारीको सफल व्यवस्थापन, बहुआयामिक ‘एहसास कार्यक्रम’ र नयाँ जनस्वास्थ्य बीमा कार्यक्रमले धेरै पाकिस्तानी नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भयो ।
यसैका कारण धेरैले पूर्व प्रधानमन्त्रीलाई सम्झिनेछन् । त्यसैले इमरान खानको समय सकिएपनि उनलाई बेवास्ता गर्नु उपयुक्त हुँदैन । विपक्षमा रहँदा उनी जहिल्यै खरो थिए– लडाकुजस्तो जो आफ्नो उद्देश्यप्रति पूर्ण एकाग्र छ ।
उनको कडा उत्साह र दिव्य अभियानको चेतानाले उनलाई पाकिस्तानी राजनीतिमा मजबुत शक्तिको रुपमा उभ्याएको छ । उनको अर्को अवतार अहिलेजस्तो क्रुर दुर्जनजस्तो नहोस् भनेर अपेक्षा गर्न सकिन्छ ।
वास्तविक नेताको काम देशलाई विभाजन गर्ने वक्तव्य दिनु र हानीकारक राजनीतिले देशलाई विषक्त बनाउनु नभइ देशलाई एकताबद्ध बनाउनु हो । उनले बुझ्न जरुरी छ ।
प्रतिक्रिया